चितवन मेडिकल कलेजले मंगलबारदेखि पिसिआर परीक्षण गर्ने

चितवन मेडिकल कलेजले निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षण गरी कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

 

आगामी मंगलबारसम्म आवश्यक कार्य सकी प्रयोगशाला सञ्चालनमा ल्याइने कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।

 

नमूना परीक्षणका लागि प्रतिव्यक्ति ६ हजार ५० रुपैयाँ लिइने न्यौपानेले जानकारी दिए । कलेजले भित्र्याइएको पिसिआर उच्चस्तरको रहेको बताउँदै  न्यौपानेले ६ घण्टामा ४ सय जनाको नमूना परीक्षण गर्न सकिने जानकारी दिए । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सात जना प्राविधिक रहेका छन् ।

 



दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने बताइएको छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै रहेको उनले बताए । 

 



प्रयोगशाला निर्माणका लागि पाँच करोड ४० लाख रुपैयाँ खर्च भइसकेको कलेजले जनाएको छ । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । 

निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पतालको भनाइ छ ।

  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार १५:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया