प्रदेश २ मा एक महिनाको अवधिमा तीन हजार सङ्क्रमित थपिए

सप्तरी–  प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन र सर्लाहीमा दुईजना कोरोना सङ्क्रमित थप भएका हुन् ।
    
एक महिनाको अवधिमा प्रदेश नं २ मा करिब तीन हजार सङ्क्रमित बढेका छन् । प्रदेश नं २ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार असार मसान्तसम्म तीन हजार ९११ जना सङ्क्रमित रहेकामा साउन मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या छ हजार ८२१ पुगेको छ । पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । 
    
मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर साउन मसान्तभित्र रौतहटमा १३८५, पर्सामा १२२६, धनुषामा १०२२, महोत्तरीमा १००२, सर्लाहीमा ९३४, सप्तरीमा ६६१, बारामा ३२३ र सिरहामा २६३ पुगेको छ । असार मसान्तमा रौतहटमा १२३१, पर्सामा १५९, धनुषामा ५४९, महोत्तरीमा ७३८, सर्लाहीमा ६५६, सप्तरीमा २५५, बारामा ११२ र सिरहामा २०६ सङ्क्रमित रहेको थियो ।

सङ्क्रमितसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । असार मसान्तभित्र रौतहट, बारा र पर्सामा एक÷एक जना गरी तीन जनाको मृत्यु भएकोमा साउनसम्ममा मृतकको सङ्ख्या ४५ पुगेको छ । तीमध्ये ११ महिला र ३४ पुरुष छन् । मृतकमध्ये पर्साका मात्र २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मात्र जनकपुरधाम उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

प्रदेश नं. २ मा संस्थागत आइसोलेसनमा तीन हजार ८६९, होम आइसोलेशनमा ९८ र क्वारेन्टिनमा एक हजार ६३१ जना रहेका छन् । सङ्क्रमितमध्ये तीन हजार ६१२ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए । उनका अनुसार उपचारपछि निको भएर घर फर्किकामध्ये सप्तरीका ४४६, सिरहाका २०५, धनुषाका ६८२, महोत्तरीका ३७०, सर्लाहीका ६५२, रौतहटका ७५४, बाराका १८२, पर्साका ३१५ जना छन् । 

असार मसान्तभित्र सप्तरीमा २२१, सिरहामा ११५, धनुषामा ३९४, महोत्तरीमा २७०, सर्लाहीमा ५९०, रौतहटमा ६५३, बारामा ११४ र पर्सामा १७१ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं २ मा हाल आइसियुमा ४१ जना उपचाररत छन् । प्रदेश नं २ को आइसोलेसन भरिभराउ भएपछि सङ्क्रमित घरमै बस्न बाध्य छन् । यो प्रदेशमा ९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आइसोलेसनको अभावले सप्तरीमा समेत ३१ जनालाई होम आइसोलेसनमा राखिएको र यसले समुदायमा सङ्क्रमण फैलिने खतरा बढेको बताए । उनले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले शम्भुनाथ नगरपालिकास्थित भगवतपुर, कठौनामा रहेको माविलाई करिब २०० श्ययाको आइसोलेसन केन्द्र बनाउने तयारी भइरहेको जानकारी दिए । 

राजविराजस्थित आइसोलेसन केन्द्रमा जनशक्ति अभाव भएपछि सङ्क्रमितलाई व्यवस्थापन गर्न तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै तहमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।
    
दीर्घरोगी कोरोना सङ्क्रमणको पहिलो सिकार बन्ने गरेको पाइएको छ भने भ्यान्टिलेटर नपाउँदा सङ्क्रमितको उपचारमा पनि समस्या देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले चारवटा भेण्टिलेटर भए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा सञ्चालन हुन नसकेको बताए । 



रोजगारीमा रहने क्रियाशील जनशक्ति युवा नै बढी सङ्क्रमित रहेको जानकारी दिँदै उनले पछिल्लो समय ज्येष्ठ नागरिक र दीर्घरोगीमा समेत कोरोना सङ्क्रमण बढेको बताए ।

प्रदेश नं २ मा हाल दैनिक साढे एक हजार जनाको स्वाब सङ्कलन भइरहेको छ भने कोरोना परीक्षण ८०० जनाको मात्र भइरहेको छ । जनकपुर, राजविराज र वीरगञ्ज गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ । 



सबैभन्दा सानो क्षेत्रफल भए पनि दोस्रो ठूलो जनसङ्ख्या भएको प्रदेश नं २ मा हालसम्म ७६ हजार ५२५ जनाको स्वाब सङ्कलन भएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए । जसमध्ये आठ हजार ४१४ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १६:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया