१४ वर्षमै भागेर सहर छिरेकी विमलाको अथक संघर्ष
फरकधार / १ भदौ, २०७७
आफ्नो चिया पसल व्यस्त विमला पराजुली । फोटो : फरकधार

 काठमाडौं- विमला पराजुली अहिले ३७ वर्षकी भइन् । भोजपुरको एक गाउँमा जन्मिएकी विमलाले कहिल्यै ठूला सपना देखिनन् । निरन्तर आफ्ना कर्ममा जुटिरहिन्। 
आमाबाबुका ४ सन्तानमा विमला एक्ली छोरी हुन् । पढाइप्रति खासै रुचि नभएको बताउने विमलाले भोजपुरकै विद्योदय माविमा ७ कक्षासम्म पढिन् । 



साथीको उक्साहटमा लागेर १४ वर्षकै उमेरमा भागेर काठमाडौं आइन् । काठमाडौं प्रवेश गर्दैगर्दा विमलाले शहरको झिलीमिली र सुखैसुखको कल्पना गरेकी थिइन्। जब उनी काठमाडौं आइन्, यहाँको अवस्थाबारे बोध हुँदै गयो, शहरमा झिलीमिली छ, रमझम छ तर उनले कल्पना गरेको सुखको मार्ग कता हो ? पहिल्याउन सकिनन्। 

काठमाडौँ महाकांलमा विमलाके ठूलोबाका छोराको घर थियो । उनी त्यही बस्न थालिन् । नजिकै रहेको गार्मेन्टमा धागो बाट्ने काम सुरु गरिन् । गार्मेन्टको कामबाट विमलाको सामान्य खर्च चलिरहेको थियो । 

जीवन साथीसँग भेट



दुई वर्षसम्म गार्मेन्टमा काम गरिसकेपछि दाजुकै घरमा आउजाउ गर्ने ध्रुव दाहालसँग विमलाको चिनजान भयो। भर्खर १६ वर्ष लागेकी विमलाले आफूभन्दा एक वर्ष जेठा सिन्धुपाल्चोकका ध्रुवसँग विहे गरिन् । ध्रुव पुल्चोकस्थित एक इन्जिनियरको घरमा काम गर्थे । विहेपछि विमला पनि ध्रुवसँगै सोही घरमा काम गर्न थालिन् । 

एक हजार तलव थियो विमलाको । दुवै दम्पतीलाई बस्ने व्यवस्था घर मालिकले मिलाइ दिएका थिए । ध्रुवलाई विवाहपछि साहूकोमा बस्न मन थिएन । तर विमलाले शहरमा टिक्ने हो भने केही वर्ष यही घरमा काम गर्नुपर्छ भन्ने सुझाव दिइन् । 

विमला र ध्रुवले ५ वर्षसम्म त्यही घरमा काम गरे ।  यसबीचमा साहूले ध्रुवलाई एक सरकारी कार्यालयमा जागिर काम लगाइ दिएका थिए । तलब १८ सय थियो । १९ वर्षको उमेरमा विमलाले साहूकै घरमा छोरा जन्माइन् ।  थिइन् । सुत्केरी भएको बेलामा पनि विमलाले राम्रो स्याहार र आराम गर्न पाइनन् । मालिकको घरको सबै काम विमलाकै थाप्लोमा थियो । 
 

साहूको कठोर बचन

विमलाले र ध्रुवले निरन्तर काम गर्दा केही पैसा बचत भयो । २०६० सालमा विमलाका मालिकले बालकुमारीमा घडेरी किन्ने कुरा गरे । विमलाको मनमा पनि आफूसँग भएको पैसामा साहूले केही थपिदिए ३ आना घडेरी जोड्थेँ भन्ने पर्‍यो। साहूलाई अनुरोध पनि गरिन्, ‘मसँग केही पैसा छ, त्यसमा थपिदिएर र हामीलाई पनि एउटा घडेरी किनिदिनुस् न, पैसा चुक्ता नहुन्जेल काम गरौँला ।’

विमलाका अनुसार त्यतिबेला बालकुमारीमा घडेरी आनाको ५० हजार थियो । उनीहरुसँग लगभग ८० हजार थियो । विमलालाई  मालिकले निराश नबनाउलान् भन्ने धेरै आशा लागेको थियो । तर ठिक विपरीत कठोर बचन लगाए ‘नोकरलाई काठमाडौँमा घडेरी ।’ साहूको बचन विमलाको मुटुमा गढ्यो । आफ्नै केही व्यापार गर्नुपर्ने रहेछ भन्ने उनको मनमा पर्‍यो । विमलाले साहूको घर छोड्ने निर्णय गरिन्। 

ध्रुवको जागिर यथावत थियो । उनले शंखमुलमा डेरा खोजे।  विमलाको परिवार शंखमुल सिफ्ट भयो । ध्रुवको आम्दानीले दैनिक खर्च मात्र टर्थ्यो । विमलाले शंखमुलकै सडकमा थोरै लगानीमा मोजा, पञ्जाको व्यापार गर्न थालिन् । छोरालाई आफैसँग छेउमा सुताउथिन् । व्यापार खासै हुँदैन थियो । विमलालाई यो काम चित्त बुझेन । उनकै छेउमा इलामकी एक महिला लुगाको व्यापार गर्थिन् । उनले विमलालाई सल्लाह दिइन्, ‘तिमी कतै राम्रो ठाउँ खोजेर चिया बेच्न सुरु गर । व्यापार पनि राम्रो हुन्छ लगानी पनि थोरै ।’ विमलालाई ती दिदीको कुरा चित्त बुझ्यो । उनले चिया बेच्ने निर्णय गरिन्।

ठाउँको समस्या पर्‍यो । उनी बानेश्वरको सबै ठाउँ चहारिन । उनलाई नवदुर्गा डिपार्टमेन्टल स्टोर– बानेश्वर, अगाडि बसेर बेच्न पाए हुन्थ्यो झैँ लाग्यो । त्यहाँ मान्छेको आवतजावत राम्रो देखिन् । तर डिपार्टमेन्टल अगाडि चिया बेच्न दिने हो की होइन ? विमला अन्योलमा परिन् । उनले त्यही स्टोरको सेक्युरिटी गार्डसँग आफ्नो कुरा राखिन् । 

सेक्युरिटीले सल्लाह दिए, ‘स्टोरको हाकिम खासै आउँदैनन् । कहिलेकाही अनुगमन गर्न मात्र आउँछन्, चिया बेच्दा हुन्छ।, कसैले केही भने भने पछि विचार गर्नू ।’यो कुरा सुनेर विमलालाई आँट आयो । 

चिया व्यापार सुरु

उनले श्रीमानसँग ५०० रुपैयाँ मागेर लगानी गरिन् लगानी गर्ने सल्लाह गरिन् । ५०० मा एउटा स्टोभ, १० ओटा कप, चिनी, चियापत्त, १० प्याकेट दूध किनेर विमलाले चिया बेच्न बसिन् । उनले चिया बेच्न सुरु गर्दा दूध प्याकेटको ७ रुपैया पथ्र्यो ।  विमलाले एक कप चियाको ५ रुपैयाँ लिन्थिन् । कालो चिया ३ रुपैयाँ । सुरुकै दिन विमलाले सय कप भन्दाबढी चिया बेचिन् । सबै खर्च कटाएर विमलाले सय रुपैयाँ  नाफा निकालिन् ।

उनको खुसीको सीमै रहेन । उनले हिसाब गरिन्, ‘मेरा श्रीमान्को तलब एक महिनामा १८ सय आउँछ । मैले एक दिनमा सय रुपैया नाफा गरेँ । मेहेनत गर्दै गएपछि यो नाफा पक्कै बढ्ला भन्ने विश्वास जाग्यो । उनको हौसला र जाँगर बढ्यो ।

त्यसपछि विमला हरेक बिहान ६ बजे बानेश्वर धाउँन थालिन् । उनका सामग्रीहरु डिपार्टमेन्टल स्टोरको भर्‍याङमुनि थन्क्याउँथिन् । सेक्युरिटी गार्डले उनको सामग्रीको जिम्मा लिन्थे । विमलालाई एउटै कुराको डर थियो कुनै दिन डिपार्टमेन्टल स्टोरको साहू आएर त्यो ठाउँबाट हटाइदेलान् कि भन्ने । चिया बेच्न सुरु गरेको एक हप्ता मात्र भएको थियो स्टोरका साहू आए । विमलाले भनिन्, ‘बिहान ६ बजे चिया बनाउँदै थिएँ, स्टोरका सेक्युरिटीले आँखा सन्काए ।,  मैले बुझिँन, उनले मलाई सानो स्वरमा हाकिम साब आउँनुभयो भने ।

 मलाई लाग्यो चिया व्यापार पनि एक हप्ताको लागि मात्र रहेछ । बाटोतिर पुलुक्क हेरे आफु भए नजिकै आईपुग्न थालेका थिए हाकिम । म वास्तै नगरेझै चिया पकाउँन व्यस्त भएको झै गरँे । बिहानै मौसम चिसो थियो । तर मलाई भने चिट्चिट् पसिना आइरहेको थियो । त्यही केही नभएझैं गरेँ। ती हाकिम आएर एक टकले हेरिरहे । मलाई पक्का ठाउँबाट उठाउँछन् भन्ने परिरहेको थियो । तर उनी मुसुक्क हाँसेर स्टोरभित्र पो पसे ।, विमाला सुनाउँछिन् ‘म अचम्ममा परेँ । चिया बनाउँदै थिए । हाकिम फेरी स्टोरबाट बाहिर निस्किए । मेरो छेउमा आएर एक चिया बनाइदिनु न भने । मैले हस् भन्दै मुन्टो हल्लाएँ । हाकिमले गफ गर्न सुरु गरे । घर परिवारबारे सबै सोधेँ । मैले श्रीमान् कार्यालय जाँदा डेढ वर्षको छोरालाई यही चिया पकाउने ठाउँमा छोडिदिने गरेको पनि बताएँ ।’

अब विमला ढुक्क भइन् । किनभने स्टोरका हाकिमले उनलाई त्यहाँ बसेर व्यापार गर्न अनुमति मात्र दिएनन् थप हौसला पनि दिएर गए । दिनप्रतिदिन नाफा पनि बढ्दै गयो । जब २०६२/०६३ को जनआन्दोलन सुरु भयो त्यसपछि भने उनलाई व्यापार गर्न अफ्ठ्यारो पर्न थालेको थियो । धेरै पटक प्रहरीले सामान उठाएर लैजान्थे । 

छोरालाई बचाउन संघर्ष

विमलाले ४ वर्षे छोरालाई बानेश्वरकै एक स्कुलमा राखेकी थिइन् ।  छोरा अचानक बिरामी पर्‍यो । विमलाले छोरालाई धेरै अस्पताल डुलाइन् । रोग नै पत्ता लागेन । उनलाई दिनरात छोराको चिन्ता पिरोल्न थाल्यो । ‘छोरो ओछ्यान परेको थियो, अनि म केही गर्न सकिरहेकी थिइन् ।’ विमलाले भनिन्, ‘जबकी उसैको सुनौलो भविष्यका लागि भन्दै म उसलाई सडकको एक छेउमा राखेर चिया बेच्थेँ।’

उनले चिया व्यापार बन्द गरेर छोराको उपचारमा मात्र समय दिन थालिन् । कान्ति बाल अस्पतालमा छोराको रोग पत्ता लाग्यो । उसको बोनम्यारो सुकेको रहेछ । उपचार गर्न मोटो रकम लाग्ने देखियो । 

उनले चिया बेच्न सुरु गरेको २ वर्षमा नै भक्तपुरमा घडेरी किनेकी थिइन् । ४ लाखमा किनेको घडेरी छोराको उपचारका लागि ६ लाखमा बेचिदिएको उनले सुनाइन् । कान्तिबाट छोरालाई काठमाडौँ शिक्षण अस्पताल रिफर गरिएको थियो । विमला २८ दिन अस्पतालमै बसिन् । श्रीमान्लाई जागिर छोड्न दिइनन् । खर्च उपचार खर्च १० लाख भन्दाबढी लाग्ने भयो । तर विमलालले हिम्मत हारिनन् । ऋण गरेर, सहयोग जुटाएर छोराको उपचार गराइन् । छोरो विस्तारै निका हुँदै गए। 

६ महिनापछि विमला पुनः चिया बेच्न सडकमा फर्किइन् ।  विमलाले २०६० को दशक सडकमा चिया पकाएरै बिताइन् ।  ५ रुपैयाँमा बेच्न थालेको चियाको मूल्य १० भइसकेको थियो । 

सडकबाट टहरोमा 

२०७१ मा उनी बानेश्वरमा जस्ताले बारेको एउटा कोठामा सरिन् । अहिले त्यो पसल विमला दिदीको चिया पसल भनेर प्रचलित छ । विमलाले सोही ठाउँमा चिया पकाउन थालेको ६ वर्ष भइसकेको छ । उनी चिया मात्र बेच्छिन् । अरु कुनै खाजा उनको पसलमा पाइदैन । बिहान ५ बजेदेखि विमलाको चिया पकाउने काम सुरु हुन्छ । एक दिनमा १२० प्याकेट दूधको चिया बेच्छिन् । अहिले विमलाको पसलमा एक कप दूध चियाको रु २० र कालो चियाको रु १५ पर्छ । यो मूल्य उनले २०७२ को भूकम्पपछि कायम गरेकी हुन् । 

औसतमा हरेक दिन ५०० कप चिया बेच्छिन् विमला । यसबाट लागत कटाएर महिनाको ९० हजारसम्म नाफा हुने बताउछिन्।  छोरा सूर्यलाई राम्रो स्कुलमा पढाएकी छिन् । बालकोटमा ४, ४ आनाका दुईओटा घडेरी किनेकी छिन् । अब एउटा घडेरी बेचेर घर बनाउँने योजना छ उनको ।

चियाले जोडिदिएका धेरै सम्बन्धहरु भएको बताउँछिन् विमला । विमलाले आफ्नो जीवनको १७ वर्ष चिया पकाएर बिताइसकेकी छिन् । शरीरले साथ दिएसम्म चिया बेच्ने रहर विमला बताउछिन् ।  

  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १८:४३:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया