क्रान्ति नलेखेका राष्ट्रकवि घिमिरे परिष्कारवादी
घिमिरेकाे पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओडाउँदै रक्षामन्त्री पाेखरेल ।

माधव घिमिरे १९७६-२०७७ नेपाली साहित्यका सम्भवतः सर्वाधिक चर्चापरिचर्चाका पात्र थिए, छन् र अब झन् हुने छन् । नेपाली काव्यसाहित्यका एक मानक भइकन पनि राणाकाल, पञ्चायत, प्रजातन्त्र, सङ्कटकाल र लोकतन्त्रमा समेत समान ढङ्ले आफूलाई समायोजन गर्न सक्नु र केन्द्रमा रहिरहनु सक्नु उनको व्यक्तित्वको प्रशंसनीय र अलोच्य दुवै पाटो हुन सक्ला । र, आगामी दिनमा यी विषयले नेपालको साहित्य बजारमा गम्भीर क्रिया र प्रतिक्रिया पनि ल्याउला नै ।

नेपाली कविताको त्यस्तो शिष्ट परम्परामा घिमिरे उदाए- जहाँ एकातिर संस्कृतनिष्ठ परिष्कृत काव्यपरम्पराका लेखनाथ थिए भने अर्कातिर पूर्व र पश्चिमलाई समायोजना गर्ने चेतना भएका बालकृष्ण सम । महाकवि देवकोटामा स्वच्छन्दतावादको मोह अत्यधिक तीव्र थियो । यस्तो बेलामा खाँचो थियो नेपाली काव्यलाई परिष्कार र स्वच्छन्दताको संयुक्त मालामा उनेर नेपाली माटो र भावनासित एकाकार बनाउनु । र, यही जिम्मेवारीलाई घिमिरेले गहन ढङ्गले काँध हाले ।

घिमिरेले सर्वप्रथम वि.सं. १९९२ सालको गोरखापत्रमा ‘ज्ञानपुष्प’ शीर्षकको कविता प्रकाशित गरी साहित्य यात्रा सुरु गरेका थिए । उनले गौरी, राजेश्वरी, पापिनी आमा, राष्ट्रनिर्माता, इन्द्रकुमारी, नयाँ नेपाल, धर्तीमाता आदि खण्डकाव्यहरू, किन्नरकिन्नरी, चैतवैशाख आदि गीत तथा कवितासङ्ग्रहरू, मालती मङ्गले, देउकी, शकुन्तला, अश्वत्थामा, हिमालवारि हिमालपारि आदि गीतिनाटकहरूसहित साढे आठ दशक नेपाली काव्यसाधनामा बिताए ।

घिमिरे नेपाली साहित्यकै सर्वाधिक चर्चित र सम्मानित व्यक्तिव हुन् । उनी आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी धाराका एक सशक्त र सक्रिय प्रतिभा हुन् । उनी कवि देवकोटा तथा सिद्धिचरणकै काव्यधाराका कवि भए तापनि उनका रचनामा देवकोटामा जस्तो काल्पनिक वेग वा उडानभन्दा संयम र अनुशासन पाइन्छ । त्यसैले उनी परिष्कारवादी शिल्पशैलीमा स्वच्छन्दतावादी भावको अभिव्यक्ति दिने कवि हुन् । थोरैमा धेरै भन्न सक्ने मितव्ययी कथन उनका रचानाको विशेषता हो । नेपाली माटोको सुवास र नेपाली मनको आवाज ध्वनित गर्नसक्नु उनका रचनाको उल्लेख्य पक्ष हो ।

मानव जीवनका सुखदुःखको सुन्दर र कलात्मक प्रस्तुति,मानवतावादी विचारको प्रस्तुतीकरण,मूलतः करूण रसका रसका खण्डकाव्यको सिर्जनाका रुचि, सत् र असत् प्रवृत्तिका पात्रहरूका बिच द्वन्द्व देखाउने प्रवृत्ति,राष्ट्रप्रेम, जातिप्रेम तथा वीरवीरङ्गानाप्रतिको सम्मान तथा श्रद्धाको भाव अभिव्यक्त गर्ने विशेषता, बौद्धिकतालाई भन्दा हार्दिकतालाई जोड दिने कवि,ऐतिहासिक, सामाजिक, लोकगाथा, पारिवारिक सन्दर्भ आदि विविध विषयवस्तुमा आधारित भई काव्यको रचना गर्ने घिमिरे विभिन्न शास्त्रीय छन्द र लोक लयहरूक सफल र सशक्त प्रयोक्ता हुन् ।

स्वच्छन्दतावादी भावलाई परिष्कारवादी शैलीमा प्रस्तुत गर्ने सामर्थ्य भएका घिमिरे सुन्दर, परिष्कृत, व्याकरणसम्मत र कलात्मक भाषाशैलीको प्रयोग गर्दछन् । प्रकृतिचित्रण तथा प्रकृतिको मानवीकरणमा विशेष रुचि भएका उनी सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले नेपाली साहित्यका एक प्रतिनिधि सर्जक हुन् नै । उनले के लेखे र कसरी लेखे भन्ने आधारमा सायद यो मूल्याङ्कन उनका लागि सटीक नै ठहर्ला ।



राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा २०६० असोज ७ गते घिमिरेलाई राष्ट्रकविको उपाधि गुथाइयो जुन व्यापक आलोचनाको विषय बन्यो, अझै पनि छ । यसका पक्ष र विपक्षमा दुवैतिरबाट व्यापक विमर्श गर्न नसकिने होइन । यसलाई कसरी लिइनु ठिक होला भने त्यो उनले बिन्तीपत्र हालेर मागेको पगरी त होइन । शासक जेजस्ते भए पनि एउटा कविलाई सम्मान गरिनु त उचित नै होला । साथै उनको व्यक्तित्व र कवित्व त्यसका लागि उपयुक्त पनि थियो । त्यसो त यहाँ अनेक जनकविहरू ओझेलमा छन् तर त्यो विवेचनाको पृथक् पाटो हो भन्ने मलाई लाग्छ ।

घिमिरेले क्रान्ति लेखेनन्, उनी पुरातन चिन्तन बोक्ने कवि हुन्, उनले युगको आवाजलाई ध्वनित गर्न सकेनन्, उनी शासकको स्तुतिगान गर्ने कवि हुन् भन्ने आक्षेपहरू पनि उनलाई नलागेका होइनन् । एउटा स्रष्टाबाट यस्ता अपेक्षा गरिनु अन्यथा पनि होइन होला । तर एउटा कविबाट सबैथोकको आशा राख्नु पनि रतिरञ्जना होइन र ! विविधता पनि साहित्यको एउटा शोभा हो, सौन्दर्य हो भन्ने सन्दर्भलाई पनि यहाँ बिर्सनु हुँदैन । उनले जे लेखे त्यसैलाई आधार मानेर नै उनको मूल्याङ्कन गरिनुपर्छ ।



अन्त्यमा जीवनको उत्तरार्धमा उनीबाट लेखिँदै गरेको ‘ऋतम्भरा’ महाकाव्य चाँडै पढ्न पाइयोस् भन्ने कामना छ । सम्भवतः एउटा कविका रूपमा राज्यबाट सर्वाधिक सेवा, सुविधा र सम्मान प्राप्त गर्ने अवसर पाएका कवि पनि हुन् माधव घिमिरे । उनका विषयमा समयक्रममा विवेचनाहरू होलान् नै र हुनु पनि पर्छ । यतिबेला भने देश उनको शोकमा छ । वयले शतायु बाँचेका र कृत्यले अमर कवि घिमिरेमा भावपूर्ण श्रद्धासुमन ।

  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १३:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया