निषेधाज्ञाका वेला मर्निङ वा इभिनिङ वाक जानेलाई कानुनी कारबाही

काठमाडौं– उपत्यकामा निषेधाज्ञाका वेला ‘मर्निङ वाक’ गर्न पनि नपाइने भएको छ । प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै कडाइ गर्ने भएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मर्निङ वा इभिनिङ वाक जानेलाई पनि सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने बताएका छन् । 

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै, यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बन्दाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपालि हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले बन्दाबन्दीभन्दा आज राति १२ः०० बजेदेखि लागू हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक  दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा शय्याको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि  तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।



उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ ।  

राति १२ः०० बजेदेखि अत्यावश्यकबाहेकका गतिविधि गर्न पाइने छैन । उक्त आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ ।



  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार २१:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया