कक्षा ११ को भर्ना प्रक्रिया भदौ १५ पछिमात्र

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशित गरे पनि कक्षा ११ मा भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने बताइएको छ ।


सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए । सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएकाले भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने उनको भनाइ छ ।


विगतका वर्षमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको सरोकारवालाले दाबी गरेका छन् । साविकभन्दा केही ढिला नतिजा प्रकाशन भए पनि शैक्षिक गतिविधि नियमित भए विद्यार्थीको शैक्षिक सत्र नै खेर नजाने तर्क उनीहरुको छ ।


भाइरसको जोखिमका कारण अब दुई तीन महिना ढिला नै कक्षा सुरु भए पनि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई कुनै समस्या नहुने गौतमको भनाइ छ । 
यस पटक ११ मा भर्ना हुने विद्यार्थीले नयाँ कक्षामा यसै शैक्षिक सत्रबाट लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ । सरकारले यसअघि नै नयाँ शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिसकेको छ ।


सरकारले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको भर्ना, अभिलेखीकरण लगायतका निर्णय भदौ १५ गतेपछि गर्ने भएको छ । कोरोना भाइरसका कारण भदौँ १५ गतेसम्म भर्ना लगायतका सबै प्रक्रिया रोकिएकाले त्यसपछि मात्रै सरकारले निर्णय गर्ने निर्देशक गौतमको भनाइ छ । 

 



बढ्दो सङ्क्रमणका कारण विद्यार्थीको भर्ना कहिले सुरु हुन्छ भन्ने यकिन गर्न नसकिए पनि केही महिना चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी दुई तीन सातासम्म विद्यार्थीको प्रमाणपत्र विद्यालयमा पठाउने गरी तयारी थालेको छ । यसपछि बल्ल विद्यार्थीलाई भर्नाका लागि औपचारिक बाटो खुल्नेछ ।

आगामी जेठ असारमा विद्यालयले स्वयंले विद्यार्थीको परीक्षा लिने भएकाले विद्यार्थीका लागि अध्ययन गर्ने समय पुग्ने बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।
 



  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १३:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया