जागिरको सिलसिलामा मेरो २ नम्बर प्रदेशमा पोस्टिङ भयो । जनकपुर गएको दुई साताजस्तो भएको थियो, अचानक मलाई ज्वरो आउन थाल्यो । सुरुमा त मैले यो सामान्य ज्वरो होला भन्ने सोचेँ । १०२ डिग्री ज्वरो आउँदा पनि वास्ता गरिएन । कोरोनाभाइरस संक्रमण भएको हो भन्ने त मैले अनुमान पनि गरिनँ ।
तर, वास्तै नगरे पनि औषधी चाहिँ खान थालेको थिएँ । सिटामोल खाँदा पनि ठिक नभएपछि एन्टिबायोटिक पनि खान थालेँ । यति हुँदा पनि ज्वरो घटेको थिएन । तर, मैले मलाई कोरोना नै भएको हो भन्ने चाहिँ अनुमान गरेकै थिइनँ ।
पाँच दिनसम्म औषधी खाँदा पनि ज्वरो नियन्त्रणमा आएन । ज्वरो नियन्त्रणमा नआएपछि मलाई शंका लाग्न थाल्यो । तर, मैले समाचारहरुमा पढेको थिएँ, प्रदेशमा कोरोनाका बिरामीको त्यति राम्रो केयर गरिएको छैन ।
अनि म काठमाडौं आउने निर्णयमा पुगेँ ।
काठमाडौंमा आएपछि सोझै म टेकु अस्पतालमा पुगेर स्वाब दिएँ । त्यहाँबाट म कपनमा रहेको मेरो घरमा गइनँ, अफिसको क्वार्टरमा बस्ने भएँ । त्यति बेला मसँगै जनकपुरबाट एक जना सर पनि आउनु भएको थियो, मेरो साथी ।
मैले स्वाब दिएपछि पोजेटिभ आएमा उहाँको पनि पोजेटिभ नै आउँछ भन्ने अनुमान थियो । हामी जनकपुरमा पनि सँगै बसेका थियौँ, काठमाडौंमा पनि सँगै बस्ने भयौँ ।
तर, कोरोनाको रिपोर्ट चाहिँ उहाँको नेगेटिभ आयो, मेरो पोजेटिभ आयो ।
काठमाडौंमा मैले स्वाब दिइसकेपछि पनि उहाँ र म सँगै थियौँ, हामीले एउटै थालमा खाएका थियौँ । मेरो पोजेटिभ रिपोर्ट आइसकेपछि उहाँले मलाई एउटै कोठामा बस्दा पनि मास्क लगाउन दिनु भएको थिएन । तर, पछि पनि उहाँको रिपोर्ट नेगेटिभ नै आयो ।
मेरो पोजेटिभ आएपछि मैले एम्बुलेन्सलाई फोन गरेँ । एम्बुलेन्स आएर मलाई टेकु अस्पतालमा लगियो, त्यहाँको आइसियुमा म भर्ना भएँ ।
यो मेरो पहिलोपटकको अस्पताल बसाइँ थियो । राति झन्डै ९ बजेको थियो पुग्दा । त्यसैले पनि मनमा अलिक बढी त्रास थियो । अस्पातलमा जाँदा म बसेको कोठामा सबै संक्रमित थिए । आइसियुमा मात्र ६–७ वडा बेड थिए । त्यहाँ पनि सबै संक्रमित थिए ।
त्यहाँ पुगेपछि म होपलेस भएँ ।
पछि त्यहाँ बेड भरिँदै गयो ।
एकजना संक्रमित अलिक क्रिटिकल हुनुहुन्थ्यो । उहाँलाई भेन्टिलेटर सपोर्ट चाहिने भयो । अक्सिजन दिन पर्ने भयो । यो सब मेरो अगाडि भइरहेको थियो । उहाँको आवाज नै अर्कै लाग्न थालिसकेको थियो मलाई । सास फेर्न सकिनँ भन्ने गुनासो उहाँ गरिरहनुहुन्थ्यो ।
उहाँलाई त्यस्तो हुँदा मलाई पनि डर लाग्न थाल्यो । अनि मैले त्यहाँ नर्सलाई भनेँ– यस्तो ठाउँमा त म सुत्न सक्दिनँ ।
उहाँले मलाई अर्को कोठामा सारिदिनुभयो ।
त्यो अर्को कोठामा एकजना आमा हुनुहुनथ्यो, कोरोनाभाइरस संक्रमित । उहाँ हिँडडूल गर्नुहुन्थ्यो, बाथरुम आफैं जान सक्नुहुन्थ्यो, औषधी पनि आफैं खानुहुन्थ्यो, तातोपानी पनि तताएर आफैं खानु हुन्थ्यो ।
सुरुका दुई चार दिन उहाँलाई देखेपछि फेरि मेरो आशा बढ्यो । तर, त्यसको केही दिनमा नै फेरि उहाँलाई गाह्रो हुन थाल्यो । उहाँलाई झन् झन् समस्या हुन थालेपछि म पनि निराश हुँदै गएँ ।
उहाँको त श्रीमान पनि संक्रमित हुनुहुँदो रहेछ । छोरा र बुहारीलाई पनि संक्रमण भएको रहेछ । छोरा–बुहारी चाहिँ घरमै बस्नुभएछ ।
उहाँहरुको पसल रहेछ, असनमा । केही दिनअघि त्यहाँ एक जना लुका किन्न युवा आएका रहेछन् । उनले सामान किनेपछि पैसा दिएछन् । र, आमालाई भनेछन्– तपाईंले फ्याट्टै पैसा त लिनु भयो, तर मलाई कोरोना भएको पनि हुनसक्छ, आजमात्र पिसिआर टेस्टका लागि स्वाब दिएको छु, रिजल्ट आएको छैन ।
आमाले अस्पतालमा भन्नुहुन्थ्यो– त्यस्तो हट्टाकट्टा युवालाई कोरोना सर्यो होला भनेर मैले कल्पना पनि गरेको थिइनँ, अरुसँग त मेरो सम्पर्क पनि भएको थिएन ।
आमालाई अब दम पनि बढ्न थाल्यो । प्रेसर झन् बढ्न थाल्यो । मैले उहाँलाई पानी तताएर दिन थालेँ । कोठामा भएका अरु बिरामीले पनि पानी तताएर उहाँलाई दिन थाले ।
उहाँलाई अझ गाह्रो हुँदै गयो । त्यहाँबाट उहाँलाई अस्पतालले पाटन अस्पताल रिफर गर्यो । उहाँ रहनु भएको बेडमा उहाँकै श्रीमानलाई ल्याइयो । श्रीमतीलाई भेट्नै नपाइ पाटन अस्पताल लगिएको भन्ने थाहा पाउँदा उहाँले आँखाभर आँसु बनाउनु भएको थियो ।
टेकुबाट पाटन लगेको केही दिनमा उहाँको निधन भएछ, पाटन अस्पतालमा नै । उहाँलाई त्यहाँ भेन्टिलेटरमा राखिएको थियो ।
उहाँलाई पाटन अस्पताल लगेपछि पनि केही दिन म साथीहरुसँग भिडिओमा कुराकानी गरिरहेको थिएँ । आत्तिनु हुँदैन तर टेस्ट पनि गराउनु पर्छ है भनिरहेको थिएँ ।
तर, जब त्यो आमाको निधनको समाचार आयो, मेरो ज्यान गल्यो । सर्लक्कै ज्यान गल्न थाल्यो । मेरो छेवैमा रहनुभएका उहाँका श्रीमानलाई त यो कुरा थाहा पनि दिइएको थिएन ।
उहाँ प्रेसरको बिरामी हुनुहुन्थ्यो, इन्सुलिन दिइरहेको थियो । यो समाचार सुन्दा उहाँलाई झन् गाह्रो होला भन्ने थियो ।
म अस्पतालमा रहँदा अरु कोही बिरामीहरु पनि हुनुहुन्थ्यो जसले श्वास फेर्न गाह्रो भयो भनिरहनु भएको थियो । मैले जनकपुरमा पनि त्यस्तो अनुभव गरेको थिएँ । एक दिन मलाई पनि त्यहाँ श्वास फेर्न गाह्रो भयो भनिरहनु भएको थियो ।
अर्को एकजना बाजे पनि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको रिपोर्ट पोजेटिभ आएपछि एडमिट भयो । यी बाजे स्वयम्भूमा एउटा काठ कारखानामा काम गर्ने रहेछन् । त्यहाँ अस्पतालमा भर्ना भएपछि उहाँको मुटुको रोग पनि रहेछ भन्ने थाहा भयो ।
उहाँ भर्ना भएपछि मलाई फेरि डर लाग्न थाल्यो । केही भइहाल्ला कि भन्ने पनि डर लाग्यो ।
यस्ता अरु पनि अनुभव मैले यी १५ दिनमा थाहा पाएँ ।
अस्पतालमा बस्दा मैले निकै राम्रो अनुभव चाहिँ त्यहाँको अस्पताल र त्यहाँ भएका स्टाफहरु पाएँ । त्यहाँ हुनुभएका चिकित्सक तथा नर्सहरु निकै फरासिलो र राम्रो हुनुहुन्थ्यो । खानाको पनि अस्पतालले निकै राम्रो प्रबन्ध मिलाएको रहेछ । खाना पनि समयसमयमा मिलाएर दिने गरिएको रहेछ ।
यो मलाई निकै राम्रो लाग्यो । त्यहाँ बसेर खाँदा त्यहाँको खाना अत्यन्त राम्रो छ । नेपाल सरकारले गरेको यो कामको चाहिँ म प्रशंसा गर्छु ।
तर, पहिले जब मलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि त मेरो मनमा निकै लामो अन्तद्र्वन्द्वमा गुज्रिए । एक किसिमले त मलाई केही हुन्छ कि भन्ने पनि भयो । अर्को मनमा फेरि नेपालमा यसको मृत्यु दर खासै धेरै होइन भन्ने पनि हुँदो रहेछ ।
खासमा मलाई त समाजमा डर होला कि भन्ने बढी मनमा खेलेको थियो । म ट्याकल गर्छु त भन्ने थियो तर अहिले पनि नेपाली समाजले कोरोना संक्रमितलाई हेर्ने नजर राम्रो भएको छ ।
एकजना टोखाको इन्जिनियर भेटेको थिएँ, मैले अस्पतालमा । उहाँले घरमा भन्नु भएकै रहेनछ । उहाँले भन्नुभएको थियो– घरमा भन्नै सकेको छैन, समाजमा अझ नराम्रो होला भन्ने थियो, हिजोको दुश्मनी यो बाहनामा छिमेकीले देखाउलान् भन्ने डर भयो ।
हो, अहिले पनि हाम्रो समाजमा कोरोना संक्रमण भएको थाहा पाएपछि राम्रोसँग समाजले ट्रिट गर्ने गरेको छैन । यही कारणले पनि समाजमा बाहिर यो कुरा भनिएको छैन । हो, आफूलाई कोरोना भएको विषयमा थाहा दिँदा साथीभाइले सपोर्ट गर्ने पनि कुरा छ । तर, अरुले थाहा पाउँदा आफूलाई हेपिन्छ भन्ने कुराले युवाहरु डराउने रहेछन् । मैले टेकुमा भेटेका धेरैले यस्ता कुरा बाहिर भन्नै खोज्नु हुँदो रहेनछ ।
अहिले कोरोनाको औषधी बनिसकेको छैन । त्यसैले अहिले निकै सतर्कता अपनाउनु पर्ने हुन्छ । हुन त कोही कोरोनाभाइरस संक्रमित हुँदैमा उसले कोरोना अरुलाई सार्छ नै भन्ने पनि रहेनछ । मेरो केसमा पनि त्यस्तै भयो । मसँगै हुनुभएका साथीलाई भएन, मलाई कोरोना ठिक भयो ।
त्यसैले सबैभन्दा ठिक भनेको प्रिभेन्सन नै रहेछ । हामीले जतिसक्दो सतर्कता अपनाउनु पर्ने रहेछ ।
(उज्जवलले फरकधारसँग टेलिफोनमा गरेको कुराकानीमा आधारित)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।