वीरगन्ज नाकाबाट गलैँचाको निकासी घट्यो

वीरगन्ज नाकाबाट ऊनी गलैँचा कार्पेटको निकासी घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यो नाकाबाट गलैँचाको निकासी १९ प्रतिशतले घटेको हो ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा वीरगन्ज नाकाबाट ४३ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको ३४ हजार ४ सय ७१ वर्ग मिटर ऊनी गलैँचा कार्पेट निकासी भएको थियो । आव २०७६÷०७७ मा भने ३५ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको २४ हजार ६ सय १० वर्ग मिटर गलैँचा कार्पेट निकासी भएको छ ।

परिमाणको हिसाबले तुलनात्मक रूपमा अघिल्लो आवको तुलनामा गत आवमा झण्डै १० हजार वर्ग मिटर गलैँचा कम निकासी भएको छ । अमेरिका, जर्मनी, बेल्जियम लगायतका मुलुकमा नेपाली गलैँचा निकासी हुने गरेको छ । नेपाली गलैँचा युरोपमा कुनै समय अत्यधिक रुचाइएको थियो । तर, पछिल्ला केही वर्षयता भने यसको तेस्रो मुलुक तर्फको निकासी क्रमशः ओरालो लाग्दो छ । यसको कारण अन्तर्राष्ट्रिय व्यापारिक प्रतिस्पर्धा पनि हुन सक्छ । 

नेपालमा अधिकांश गलैँचा उद्योग राजधानीमै छन् । गलैँचा कार्पेटको निकासी स्थलगत नाकाभन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बढी हुने गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साह बताउँछन् । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा केही प्राविधिक समस्या भए यो नाकाबाट निकासी बढ्ने गर्छ,’ उनले भने, ‘तर यसपटक भने चैतदेखि सुरु भएको कोभिड महामारीको विश्वव्यापी असर र त्यससँगै सुरु भएको लकडाउन तथा निषेधाज्ञा प्रमुख कारण हुन सक्छ ।’





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार ११:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया