अछामको धानखेतमा मन्त्री, सांसदको 'दाइँ': के हो वास्तविकता ?

केही दिन यता सामाजिक सन्जालमा मात्र होइन, केही सन्चारमाध्यममा पनि गृहमन्त्री रामबहादुर थापा बादल बोल्दै गरेको एउटा फोटो भाइरल भइरहेको छ । उनीसँगै छेउमा देखिन्छन्, आपूर्ति व्यवस्था मन्त्री लेखराज भट्ट, नेकपा नेता तथा सांसद् भीम रावललगायतका नेताहरु । 

अनि उनीहरु बसिरहेको ‘मन्च’ छ धान खेतमा । 

मन्चको ब्याकड्रपमा देखिन्छ, सग्लो र राम्रो धानबारी । हरियो धान सकुशल पछाडिका गराहरुमा देखिएपछि यी नेताहरुलाई भाषण गर्न बनाएको ‘पोडियम’को स्थानमा धानलाई मासिएको जस्तो झट्ट हेर्दा देखिन्छ । हुन पनि जहाँ नेताहरुका लागि मन्च बनाइएको छ, त्यहाँ स्पष्ट देखिन्छ– धान ‘सोत्तर’ बनाइएको छ, एउटा स्पिकरलाई नेताहरु बसेको कुर्सी छेउ राखिएको छ ।

बाढीले धानबाली सखाप बनाएको यही ठाउँमा पुगेर नेता तथा मन्त्रीहरुले फेरि धानमाथि ‘दाइँ’ हालेपछि यसको व्यापक आलोचना भइरहेको छ ।

अछाम जिल्ला रामरोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारको यो दृश्य २ भदौमा आएको बाढीका कारण त्यहाँ भएको क्षतिको चोटलाई फेरि बल्झाउने खालको छ । २ भदौमा त्यहाँ बाढीले पूरै बजार बगरमा परिणत गर्यो । बाढीमा १७ जनाले ज्यान गुमाए । गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदका अनुसार त्यो बाढीले सयौँ चौपाया, पुल, बाटो, खेतीयोग्य जमिनलाई जर्जर बगरमा परिवर्तन गरिदियो ।



त्यही हिजोको उर्वर रामरोशनको सैनिबजारमा ५ भदौमा पुगे, गृहमन्त्री बादल, उद्योगमन्त्री भट्ट र पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद भीम रावल ।

अनि त्यही ठाउँको भिडियो र तस्वीरहरु सार्वजनिक भए जसले अहिले सामाजिक सन्जालमा निकै चर्चा कमाइरहेका छन् । यो विषयमा थप विवाद हुँदै गएपछि र नेताहरुको आलोचना हुँदै गएपछि गाउँपालिका अध्यक्ष झंकर साउदले सोमबार एक विज्ञप्ति निकालेका छन् । 



विज्ञप्तिमा उनले जनाएअनुसार गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य भीम रावल, राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर, राष्ट्रिय सभा सदस्य तारामान स्वार लगायतको टोली निरीक्षणमा सहभागी थियो । 

घटनास्थलको निरीक्षणपछि पीडितको गुनासो सुन्न र सान्त्वना दिनका लागि सामान्य कार्यक्रम आयोजना गरियो । 

भाइरल बनाइएको फोटो र त्यहाँ भएको कार्यक्रमका बारेमा गाउँपालिका अध्यक्ष साउदले थप स्पष्टिकरण दिएका छन् । उनका अनुसार यो कार्यक्रममा गर्नका लागि त्यहाँ धानबाली नष्ट गरेको नभई बालुवासहितको बाढीले भाँचेर नष्ट पारेको धानखेतमाथि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम गरिएको खेत स्थानीय पठानसिंह साउदको भएको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिएका छन् ।

साउदको भनाइ अनुसार स्थानीय बासिन्दा जनप्रतिनिधिहरुको सल्लाहमै त्यसस्थानमा कार्यक्रम गरिएको हो । तर, सहरमा रहेका मिडियाले यसलाई भ्रमपूर्ण टिप्पणी गरेको उनको ठहर छ ।

धान खेतमा कार्यक्रम गरिएको फोटो भाइरल भएपछि सो कार्यक्रमका अन्य फोटोहरु पनि सामाजिक सञ्जालमा हालेर धेरैले चर्चा गरेजस्तो नभएको प्रतिक्रिया दिँदै आएका छन् । गृहमन्त्रीका प्रेस सल्लाहकार सूर्य सुवेदी पथिकले पनि आफ्नो फेसबुकमा यस स्थानको फोटो र कार्यक्रममा गृहमन्त्री थापाले बोल्दै गरेको भिडियो पनि पोस्ट गरेका छन् । 

अन्य तस्बिरहरु हेर्दा कार्यक्रम गर्नकै लागि धान खेत मासिएको होइन भन्ने निष्कर्षमा चाहिँ पुग्न सकिन्छ ।

यसअघि प्रतिपक्ष र आम सर्वसाधरणले मात्र होइन, सरकारमै सामेल दलका नेताहरुले पनि यो कार्यक्रमको चर्को आलोचना गरेका थिए ।

धान मासेर कार्यक्रम गरेको तथ्य गलत देखिएपछि थुप्रै नेकपा नेता, कार्यकर्ता तथा सरकार समर्थकले गृहमन्त्री तथा सरकारलाई बदनाम गर्ने नियतले यस्तो तस्बिर भाइरल बनाइएको प्रतिक्रिया दिएका छन् । 

पहिले कडा आलोचनामा उत्रिएकाहरु पनि अन्त कार्यक्रम गरेको भए हुने, यस्ता विषयमा उच्च पदस्थहरुले ध्यान पुर्‍याउनु पर्ने बताइरहेका छन् । 

रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले तहस नहस भएको रामारोशनको राहत, पुनर्स्थापना र दीर्घकालिन पुनर्निर्माणको लागि तत्काल पहल गर्न केन्द्र र प्रदेश सरकारसमक्ष माग गरेका छन् । रामारोशनको पुनर्निर्माणका लागि सकरात्मक ढंगले कलम चलाउन सञ्चार जगतलाई अनुरोध गरेका छन् । 

  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार २३:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया