‘अर्थात् परिवर्तन’ ई-बुकमार्फत् सार्वजनिक

पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेपछि,  सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ लाई नेपालयले आफ्नो पहिलो ‘ई-बुक’का रुपमा सार्वजनिक गरेको छ । निबन्ध संगालोका रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ ।

यस पुस्तकले नेपाली समाजलाई गरिबीको सिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ चर्चा गरेको छ; साथसाथै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका नवीन उपायहरू सुझाएको छ । यो पुस्तक शाक्यको चौथो पुस्तक हो; नेपाली भाषामा भने उनको यो दोस्रो पुस्तक हो ।

नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित परम्परागत मुद्रण-माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउँदै आएको छ । फलस्वरुप नेपालयका सबै पुस्तकहरू अमेजन, बार्न्स एन्ड नोबल नेटवर्कमार्फत् विश्वव्यापी रुपमा उपलब्ध छन् । किताबका अंग्रेजी सँस्करण विद्युतीय माध्यम किन्डलमा पनि उपलब्ध छन् । 

नेपालयको अनलाइन पुस्तक बिक्रेता मध्येका एक थुप्रैडटकम (www.thuprai.com) ले ई-बुक किनेर पढ्नका लागि सजिलो र प्रभावकारी प्लेटफर्म बनाएपछि यो योजना सफल भएको हो ।

हामी उत्साहजनक साथै अनिश्चित समयमा बाँचिरहेका छौं,’ पुस्तकको पृष्ठभूमिसँग जोड्दै लेखक शाक्य भन्छन्- ‘समयसँगै चलायमान रहनका निम्ति सही उपाय भनेकै सकारात्मक परिवर्तनलाई अँगाल्दै अघि बढ्नु हो ।

नेपाल लोकतान्त्रिक संघीय प्रणालीमा रूपान्तरण हुने बित्तिकै हामीले विकासको मूल्यांकन र समृद्धिका लागि कम्मर कसेर लाग्नु पर्ने समय आएको हो; गएको चुनावमा त्यही एजेन्डाले अनुमोदन पनि पाएको हो । तर त्यसलाई प्राप्त गर्नका निम्ति यहाँ अनेकौं चुनौति र अवरोध विद्यमान छन्; जसलाई हामीले सम्बोधन गर्न आवश्यक छ ।



समृद्धि र सपना प्राप्त गर्न सकिन्छ भन्ने विश्वासका साथ पुस्तकले यिनै कुरालाई वर्गीकृत गर्दै उपचार खोज्ने प्रयास गरेको छ ।’

यो पुस्तक थुप्रैको एपमा एकल अध्याय पढे जसरी नै सजिलो रुपमा पढ्न सकिन्छ । जसले एकल अध्यायहरू किनेर पढिसकेका छन् ती पाठकलाई मूल्यमा छुटको व्यवस्था गरिएको छ ।



‘अर्थात् परिवर्तन’ को ई-बुक रु. २५० मा उपलब्ध छ । पूर्ण पुस्तकका साथै पाठकहरूलाई रु. १५ मा एकल अध्याय किन्ने वैकल्पिक सुविधा पनि रहेको छ । यसका अध्यायहरु माथिकै मूल्यमा लेखककै आवाजमा सुन्न सकिने व्यवस्था पनि गरिएको छ । पुस्तकको छापा संस्करण भने बन्दाबन्दीपछि उपयुक्त समयमा बजारमा उपलब्ध हुनेछ ।

  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार १३:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया