कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट : पाठ्यक्रम विकास केन्द्र


आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि चाहिने सबै तयारी सुरु गर्न सरोकारवालालाई निर्देशन दिइसकेको छ । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘कक्षा ११ मा नयाँ पाठ्यक्रम ः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल सम्बाद ‘शिक्षाबार’मा सरोकारवालाले नयाँ पाठ्यक्रम लागु गर्न सुुझाएका हुन् ।


मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णय अनुसार यही शैक्षिक शत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यक्रम लागु गर्ने तालिका रहेको छ । सोही तालिका अनुसार पाठ्यक्रम विकास केन्द्र सानोठिमीले कक्षा ११ को नयाँ पाठ्यक्रम लागु गर्ने तयारी लगभग पूरा भएको बताएको छ ।  छलफलमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले मूल तथा ऐच्छिक गरी ८५ ओटा विषयमा पाठ्यक्रम बनेर स्वीकृत भइसकेको र अब २२ ओटा बाँकी रहेको जानकारी दिए । 

 

दाहालले देशको राजनीतिक तथा सामाजिक परिवर्तन अनुसार नयाँ परिवेशमा विद्यार्थीले पढ्न पाउनुपर्ने पक्षलाई ध्यान दिई राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेको निर्णयअनुसार बनाइएको तालिका अनुरुप नै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्न लागिएको बताए । 

 

निजी विद्यालय सञ्चालकहरू भने नयाँ पाठ्यक्रम लागु गर्ने पक्षमा विभाजित देखिए । निजी उच्च माध्यमिक विद्यालयको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले नयाँ पाठ्यक्रम लागु हुनै नदिने दाबी गरे । ‘यसपालि नयाँ पाठ्यक्रम लागु हुनु हुँदैन, हुन पनि दिँदैनौं,’ उनले भने, ‘अहिले पाठ्यक्रम विकास केन्द्रले कुनै तयारीविना नै नयाँ पाठ्यक्रम लागु गर्न लागिरहेको छ । यत्रो कोरोना महामारीमा यति कमजोर तयारीमा नयाँ पाठ्यक्रम कसरी लागु हुन्छ ?’ सिलवालले कक्षा ११ र १२ मा पढाउने शिक्षक दिन नसक्ने अवस्थामा पाठ्यक्रम लागु गरेर मात्र नहुने बताए ।



 

यसैगरी, निजी विद्यालयहरूको संगठन एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि नयाँ पाठ्यक्रम यो वर्ष लागु गर्न नहुने बताए । नयाँ पाठ्यक्रममा ग्रेड, मूल्याङ्कन÷परीक्षालगायतका विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।



 

प्याब्सनका अध्यक्ष टिकाराम पुरीको भने फरक मत थियो । आफू नयाँ पाठ्यक्रमकै पक्षमा रहेको र पूर्ण तयारीका साथ यो लागु हुनुपर्ने उनले बताए । 
शिक्षाविद् विमलकुमार फुँयालले पाठ्यक्रम कार्यान्वयन गर्न पूरा गर्नुपर्ने सबैखाले तयारीमा ख्याल पु¥याउनुपर्ने धारणा राखे । पाठ्यक्रम परिवर्तन गर्नुपर्नाका कारण खुलाउँदै लागु गर्ने निकायले सम्बद्ध पक्षलाई स्पष्ट पार्न सक्नुपर्ने फुँयालको भनाइ थियो । 

 

छलफलमा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरूले भने नयाँ पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रले खुट्टा नकमाई लागु गर्नुपर्नेमा जोड दिएका थिए । 
निजी विद्यालय सञ्चालकले विरोध गरे पनि पाठ्यक्रम विकास केन्द्र भने यही वर्षबाटै नयाँ पाठ्यक्रम लागु गर्ने तयारीमा रहेकाले कोही पनि भ्रममा नपर्न महानिर्देशक दाहालले स्पष्ट पारे । तयारी सँगसँगै पाठ्यक्रम पनि लागु गर्दै जाने उनले बताए । 
 

  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार १५:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया