क्यारेबियन प्रिमियर लिगमा बुधबार सन्दीपले चौथोपटक खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो खेल बुधबार बिहान खेल्दै छन् । ट्रिनिडाड एन्ड टोबेगोमा जारी सिपिएलअन्तर्गत सन्दीप सम्मिलित टोली जमैका तलावाजले चौथो खेलमा गुएना अमेजन वारियर्ससित प्रतिस्पर्धा गर्नेछ ।

जमैका र वारियर्सबीचको खेल बुधबार बिहान सवा तीन बजे शुरु हुनेछ । क्विन्स पार्क ओभलमा हुने उक्त खेलमा जमैका दोस्रो जितको पर्खाइमा हुनेछ । पहिलो खेल जितेको सन्दीपको टोली जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो । 

जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले तथा तेस्रो खेलमा गुएना वारियर्ससित १४ रनले पराजित भएको थियो । जमैका ३ खेलमा एक जित र दुई हारका साथ २ अङ्क जोडेर प्रतियोगिताको अङ्कतालिकामा चौथो स्थानमा छ भने गुएना चार खेलमा दुईमा जित तथा दुईमा हार बेहोर्दै चार अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । 

सन्दीपले हालसम्म खेलेका तीन खेलमा चार विकेट लिएका छन् । उनले आइतबार गुएनासितको तेस्रो खेलमा चार ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए । यो उनको हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन थियो । सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा उनले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए ।

सन्दीप तेस्रोपटक सिपिएल खेल्दै छन् । उनले यस अघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट तथा दोस्रोपटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । 

यस वर्षको सिपिएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । 





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार १९:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया