के काङ्ग्रेसले अब देउवा–पौडेललाई बाइबाइ गर्दैछ ?

देशको प्रमुख प्रतिपक्ष तथा सबैभन्दा पुरानो पार्टी नेपाल कांग्रेस अब विस्तारै महाधिवेशनमा होमिँदै छ । यसअघि फागुनमा महाधिवेशन गर्ने तय भएको छ । तर, कोरोनाभाइरसको अवस्था हेरेर यो केही समय पछाडि धकेलिन पनि सक्छ । पछाडि धकेलिएन भने फागुनमा नै हुने महाधिवेशनले कांग्रेसमा नयाँ तरंग ल्याउन सक्ने अनुमान अब हुन थालेको छ । 

यो अनुमान किन आउन थालेको हो भने यसपटक नेतृत्व लिनका लागि कांग्रेसको दोस्रो पुस्ता कसरतमा छ ।

यसको सुरुवात गरेका छन्, दोस्रो पुस्ताका केही नेताले । अनि यो सूचीमा नाम अटाएको छ, विमलेन्द्र निधी, शशांक कोइराला, डा. रामशरण महत र प्रकाशमान सिंहहरुको । 

केही दिनअघि फरकधारसँग कुराकानी गर्दै प्रकाशमान सिंहले भनेका थिए– पार्टीलाई जुन नेतृत्वको आवश्यकता छ, त्यो नेतृत्व शेरबहादुर देउवाले दिन नसकेकाले हामी अगाडि आएका हौँ । 

फरक संवादमा नै कांग्रेसका युवा नेता प्रदीप पौडेलले भने– अहिले दोस्रो पुस्ताले अब नेतृत्व आफूले नखोस्ने हो भने र यही नेतृत्वलाई नै कांग्रेसको नेतृत्व मान्ने हो भने कांग्रेस कहाँ पुग्छ भन्ने अनुमान अहिले गर्न सकिँदैन र यसले झन् विकराल रुप ल्याउनेछ ।

यी परिस्थिति र पछिल्लो समय कांग्रेसमा दोस्रो पुस्ताको जुन आक्रमकता देखिएको छ, त्यसलाई ख्याल गर्ने हो भने एउटा प्रश्न जन्मन्छ– के कांग्रेसले साँच्चिकै यसपटक नेतृत्वमा शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुलाई बाइबाइ गर्दैछ ?



यसअघि १३ औं महाधिवेशनमा जब सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका थिए, यसले कांग्रेसमा ठूलो हंगामा सिर्जना गरेको थियो । यसको कारण हो, कांग्रेस नेतृत्वमा त्यति बेला कोइराला थर जोडिएका कोही पनि व्यक्तिले सभापतिमा उम्मेदवारी दिएका थिएनन् । 

१३ औं महाधिवेशन सुरु हुनुभन्दा पहिले कांग्रेस नेता शशांक र शेखर कोइरालामध्ये एकले सभापतिमा उम्मेदवारी दिन सक्छन् भन्ने अनुमान गरिएको थियो । तर, कोइराला परिवारबाट कसैले पनि सभापतिमा त्यतिबेला उम्मेदवारी दिएनन् । फलस्वरुपः कांग्रेसमा कोइराला नेतृत्व आउन पाएन । 



अब यसपटक कोइराला परिवारबाट नै कांग्रेसमा दुई जनाले सभापतिमा उम्मेदवारी दिने दाबी गरेका छन् । शशांका कोइराला र शेखर कोइराला दुवै जना यसपटक आफू सभापतिमा उठ्ने हो भन्दै केही नेताहरुसँग छलफलमा पनि जुटेका छन् । तर, कांग्रेसका केही शीर्ष नेताहरुलाई थाहा छ– अन्त्यमा यी दुई दाजुभाइबाट एकजनाले मात्र सभापतिमा उम्मेदवारी दिनेछन् । 

अर्थात्, यसपटक सभापतिमा शशांक कोइराला तथा शेखर कोइरालामध्ये एक जनाले उम्मेदवारी दिनेछन् ।

सँगसँगै यसपटक विमलेन्द्र निधि पनि कांग्रेस नेतृत्वमा आउन तयारी अवस्थामा पुगेका छन् । उनले शीर्ष नेताहरुलाई मात्र होइन, आफूभन्दा पछिल्लो पुस्ताका नेताहरु गगन थापा, प्रदीप पौडेललाई समेत फोन गरेर आफूलाई सहयोग गर्न अनुरोध गरिसकेका छन् । केही दिनअघि त उनी देउवा निवास नै पुगेर यसपटक आफूलाई सभापति उम्मेदवार बन्नेमा सहयोग गर्न देउवालाई अनुरोध गरेका थिए । 

त्यो भेटमा देउवाले निधिलाई कुनै पनि जवाफ दिएनन् । किनकि उनी आफैं फेरि एकपटक कांग्रेस सभापति हुन चाहन्छन् । १३ औं महाधिवेशनमा निधिले देउवालाई जुन सहयोग गरेका थिए, त्यसले अबको कांग्रेस नेतृत्वमा आफू आउँदा पनि देउवाबाट सहयोग हुुने अपेक्षा निधिले गरेका छन् । साँच्चिकै दबाबमा परेर देउवाले सभापतिमा उम्मेदवारी नदिने भए भने उनको समर्थन पक्कै रहनेछ– निधिलाई । 

अर्कोतिर, रामचन्द्र पौडेल पनि यसपटक कोइराला परिवारका दुई दाजुभाइमध्ये एकलाई सहयोग गर्ने बाध्यात्मक परिस्थितिमा पुगेका छन् । कोइराला परिवारका शशांक र शेखरले आफूहरु सभापतिमा उठ्ने भनिरहँदा पौडेललाई उनीहरुलाई सहयोग गर्नु पर्ने अवस्था आइपरेको छ ।

यही समीकरण अगाडि बढ्ने हो र कांग्रेसमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेललगायतको नयाँ पुस्ताले नेतृत्वलाई दबाब दिने हो भने यसपटक कांग्रेसले दोस्रो पुस्ताबाट सभापति पाउने सम्भावना बढ्छ । 

अनि यस्तो भएको खण्डमा यसपटक कांग्रेसको अभिभावकीय नेतृत्वमा सिमित हुनेछन्, देउवा–पौडेल । 

  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ०:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया