काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तत्कालका लागि केही खुकुलो बनाएर जाने गृह मन्त्रालयको तयारी छ ।
सुरक्षा मापदण्ड अपनाए लकडाउन केही खुकुलो बनाउने प्रशासनको तयारी रहेको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । तत्कालै लकडाउन खोल्न सकिने वातावरण नभएको हुँदा पहिलो चरणमा अलि खुकुलो बनाएर जाने तयारी रहेको उनको भनाइ थियो ।
उनका अनुसार सबैतिर बजार खुकुलो बनाउने सुझाव पनि आएको हुनाले तत्कालको लागि प्रशासनले निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको छ । उपत्यकामा फेरि कम्तीमा सात दिन निषेधाज्ञा थपिए पनि पहिलाभन्दा केही खुकुलो हुने उनले जनाए ।
भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ ।
निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू निषेधाज्ञाको समय बढाउने÷नबढाउने बारेमा छलफलमा जुटेका हुन् ।
आज हुने तीन जिल्लाका प्रजिअको छलफलको राय आजै गृह मन्त्रालयमा पठाइनेछ । गृहको सहमतिपछि भोलि फेरि निषेधाज्ञाबारे थप काम अगाडि बढाइनेछ ।
उपत्यकामा कोरोना संक्रमण धेरै बढ्न थालेपछि गृहको समन्वयमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकोे थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।