कसरी बनाउने उत्कृष्ट बायोडाटा

पहिलो दृष्टिमै रोजगारदाताको ध्यान खिच्न सक्ने बायोडाटा नै असल बायोडाटा हो । त्यस्तो बायोडाटाले मात्रै पूरै पढिने अवसर पाउँछ र अन्तरवार्तासम्म पुर्याउन सक्छ । अस्पष्ट, महत्त्वपूर्ण जानकारी माथिबाट तलतिरको क्रममा क्रम मिलाएर नलेखिएको बायोडाटाले वास्तविक योग्यता पनि प्रतिविम्बित गर्न सक्दैन । साथै, लेआउट, फण्ट, फण्ट साइज जस्ता आदिले पनि आकर्षक बायोडाटा लेखनमा महत्त्वपूर्ण योगदान गर्छन् । 

 

अनावश्यक कुरा नराख्ने
बायोडाटामा लेखिएका निजी उद्देश्यहरूले रोजगारदातामा कहिल्यै राम्रो प्रभाव छोड्न सक्दैनन्, बरु बायोडाटालाई थप खराब बनाइदिन्छन् । रोजगारदाताले तबमात्र तपाईंलाई काममा भर्ना गर्नेछन्, जब तपाईंको योग्यता र कामको अनुभव उनीहरूका लागि उपयोगी छन् भन्ने लाग्न सक्छ । त्यसैले, बायोडाटा योग्यतामा केन्द्रित हुनुपर्छ । तपाईंले के–कस्ता कामको अनुभव र उपलब्धि हासिल गर्नुभएको छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हुन् । नबिर्सिनुहोला, बायोडाटा आगामी कामबाट तपाईंले के–के चाहना र आशा गर्नुभएको छ भन्ने कुरा व्यक्त गर्ने ठाउँ होइन, यो त योग्यताको सूची हो । 


प्रोफाइल सबैभन्दा माथि
बायोडाटाको सबैभन्दा माथि आफ्नो परिचय राखिसकेपछि शैक्षिक एवम् व्यावसायिक योग्यतालाई छोटकरीमा स्पष्ट र सरल भाषामा लेख्नु उपयुक्त हुन्छ । प्रोफाइल योग्यता, अनुभव र शीप तथा क्षमताको छरितो सूची हो । यसलाई केही वाक्यांश वा थोरै बुँदामा सीमित गर्नु राम्रो हुन्छ । उपयुक्त लेखन भएको प्रोफाइलले तपाईंको सबै योग्यता समेटेको हुनुपर्छ । यही प्रोफाइलले दिएको दृष्टिबाट छनोटकर्ताले तपाईंको पूरै बायोडाटा हेर्छ भन्ने मनन गरेर लेख्नुपर्छ । 

 

उपलब्धिलाई केन्द्रमा राख्ने
बायोडाटामा आफूले गरेको कामका जिम्मेवारीको होइन, हासिल गरेका उपलब्धिको सूची समावेश गर्नुपर्छ । छनोटकर्ताका लागि तपाईंले हासिल गरेको उपलब्धिको जानकारी महत्त्वपूर्ण हुन्छ । किनकि, त्यसले नै तपाईंको वास्तविक योग्यता र क्षमता झल्काउन सक्छ । 



छोटो तर पूर्ण
अनावश्यक वा झिनामसिना कुरासमेत लेखिएको लामो बायोडाटा पट्यारलाग्दो हुन्छ । सरल शब्द, छरिता वाक्य र जानकारीको पूर्ण एवम् क्रमबद्ध प्रस्तुति नै असल बायोडाटा हो । दुई पृष्ठभन्दा लामो हुनुहुन्न भन्ने बायोडाटाको सामान्य नियम नै छ । जानकारीलाई बुँदागत रूपमा प्रस्तुत गर्नु राम्रो हुन्छ । तर, बुँदाहरूको सूची धेरै लामो भने हुनु हुँदैन । त्यसैले, अनुच्छेदहरूमा भन्दा बुँदागत सूचीमा छनोटकर्ताको ध्यान केन्द्रित हुने कुरा मनन गरेर लेख्नु राम्रो हुन्छ । 

 



आवेदन दिन लागेको कामसँग तालमेल 
तपाईंले हासिल गरेका सबै अनुभव वा तपाईंमा भएका सबै खालका योग्यता आवेदन गर्न लागेको कामसँग सम्बन्धित हुन्छन् भन्ने छैन । त्यसैले, आवेदन गर्न लागेको कामसँग सम्बन्धित जानकारीलाई प्राथमिकतामा राख्नुपर्छ भने असम्बन्धित, तर महत्त्वपूर्ण अन्य जानकारी दोस्रो प्राथमिकतामा राखेर प्रस्तुत गर्नुपर्छ । याद राख्नुस्, बायोडाटा तपाईंको योग्ताको मार्केटिङ डकुमेण्ट हो । 

गुगलको सहायता
आफूलाई बायोडाटा बनाउनेमा अझै अन्योल छ भने गूगलको बायोडाटा फम्र्याट सर्च गर्न सकिन्छ । त्यहाँ आफूले वा रोजगारदाताले खोजेको फम्र्याट पाउन सकिन्छ । कम्पनी वा संस्थालाई कस्तो किसिमको फम्र्याट आवश्यक हुन्छ भन्ने सुझाव त्यहाँ भेटाउन सकिन्छ । फम्र्याट पाएपछि त्यसलाई आफूअनुकूल प्रयोग गर्नुपर्छ । कपी तथा पेष्ट गर्दा नतिजा नराम्रो पनि हुन सक्छ  । एजेन्सीको सहयोगमा 
 

  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १४:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया