राष्ट्रिय सभामा गौतम कि खतिवडा ? ओली दबाबमा ! रातारात गौतम पुगे बालुवाटार
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टीमा फेरि एकपटक विवाद बल्झिने निश्चित भएको छ । नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफू जाने इच्छा व्यक्त गरेपछि पार्टीमा विवाद निम्तिने निश्चित भएको हो । 

राष्ट्रिय सभामा अहिले रिक्त रहेको एक स्थानमा आफू मनोनित हुनु पर्ने माग नेता गौतमले राखेका छन् । तर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले यो पदमा डा. युवराज खतिवडालाई मनोनित गर्ने चाहना राखेका छन् । 

डा. खतिवडालाई एकपटक राष्ट्रिय  सभामा मनोनित गरेर प्रधानमन्त्री ओली उनलाई अर्थ मन्त्रालयको जिम्मेवारीमा यथावत् राख्न चाहन्छन् । तर, गौतमले यसअघि फागुनमा पार्टीले गरेको निर्णय कार्यान्वयन हुनु पर्ने भन्दै आफूलाई राष्ट्रिय सभामा पठाउन आग्रह गरिसकेका छन् । 

बुधबार साँझ यही विषयमा छलफल गर्न नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट भएको थियो । भेटमा ओलीले अहिले डा. खतिवडालाई नै निरन्तरता दिनु पर्ने प्रस्ताव प्रचण्डसामु राखेको प्रचण्डनिकट एक नेताले बताए । 

‘तर, प्रचण्डले यो कुरा मान्नु भएन । फेरि उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जाने इच्छा राखिसकेपछि यो प्रस्ताव मान्ने कुरा पनि त भएन,’ ती नेताले बुधबार अबेर साँझ फरकधारसँगको टेलिफोन कुराकानीमा भने, ‘त्यसमाथि गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय यसअघि नै भइसकेको थियो । त्यो निर्णय अब कार्यान्वयन गर्नुको विकल्प छैन ।’

अर्कोतिर, यही विषयमा छलफल गर्न नेकपा उपाध्यक्ष गौतम बुधबार अबेर साँझ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएपछि गौतम बालुवाटार पुगेको बालुवाटार स्रोतले फरकधारलाई बताएको छ । ओलीले गौतमलाई अहिले तत्कालका लागि यो मागबाट पछाडि हट्न अनुरोध गर्ने बुझिएको छ ।





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार २१:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया