हरि खड्कासँग ‘बुट संवाद’: नयाँ बुट होइन, सिलाएर लगाएको बुट मान्छन् ‘भाग्यमानी’

फुटबल फ्यानहरुका लागि हरि खड्का नयाँ र नौलो नाम होइन । बरु नेपाली फुटबलरको नाम लिनु पर्यो भने सबैभन्दा पहिले आउन सक्छ, हरि खड्काको नाम । 

सन् १९९५ देखि सन् २००६ सम्म ११ वर्ष नेपाली टिमका यी महत्वपूर्ण खेलाडीले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गरेका छन्– १३ । अनि त्यसका लागि उनले खेलेका छन्, ४१ खेल । 

रानीपोखरी कर्नर टिम (आरसिटी) र नेपाल पुलिस क्लबबाट ए डिभिजन लिग खेलेका खड्काले दुवै क्लबबाट उपाधि जितेका छन्, बंगलादेश, भारत र मेक्सिकोका विभिन्न लिगमा पनि उनले अत्यन्त राम्रो प्रदर्शन गरेका छन् ।

यी प्रदर्शनमा हरि खड्काको बुटको पनि विशेष महत्व छ । फुटबल र हरि खड्का, हरि खड्का र उनका बुट । यही सम्झना वरपर रहेर खड्काले फरकधारसँग कुराकानी गरेका छन् । 

यो २०४६ सालको कुरा हो । विभिन्न जिल्लामा फुटबल थप लोकिप्रय हुँदै गइरहेको थियो । अनि त्यही वर्ष झापाको मुनाल क्लबबाट टिममा परेका थिए, खड्का । मुनाल च्यालेन्ज गोल्डकपका लागि छानिएका खड्काले पहिलो पटक फुटबल खेल्नका लागि लगाएको बुट पनि त्यही वर्ष हो ।

‘मुनाल क्लबका लागि मैले भद्रपुरविरुद्धको खेलमा पहिलो पटक बुट लगाएको थिएँ,’ खड्काले सम्झिए, ‘मसँग बुट किन्ने पैसा थिएन, गणेशराज भण्डारीको बुट मागेर लगाएको थिएँ ।’ गणेशराज तिनै थिए जसले खड्कालाई फुटबलमा लाग्न र करिअर बनाउन बारम्बार झस्काइरहेका हुन्थे ।



यो खेलमा पहिलो पटक फुटबल बुट लगाएका खड्काले आफूले खासै बुटहरु किनेका छैनन् । त्यसैले हुनुपर्छ, उनलाई अहिले ठ्याक्कै सम्झना पनि छैन, उनले पहिलोपटक बुट कहाँ किनेका थिए, कहिले किनेका थिए । तर, उनको मनमा गहिरो गरि खोपिएको छ, उनको त्यो पहिलो बुट थियो, चाइनिज ।

‘जर्मनीको एउटा संस्थाले प्रोजेक्टका रुपमा सान मिगल युथ क्लब चलाउँथ्यो,’ खड्काले सम्झिए, ‘उनीहरुले राम्रो बुट दिइरहेका हुन्थे । मैले जर्मन स्कलरसिप पाएपछि उता जाने समयमा पहिलोपटक चाइनिज बुट किनेको थिएँ । त्यति बेला २ सय रुपैयाँ परेको जस्तो लाग्छ ।’



खड्काले त्यति धेरै बुट किन्नै परेन । ‘जुन क्लब वा टिमबाट खेल्थे, उनीहरुले नै बुट उपलब्ध गराउने चलन थियो,’ उनले भने, ‘त्यसैले आफैंले खासै बुट किन्दै किनिनँ ।’ तर, खड्कालाई अहिले पनि सम्झना छ, उनले सबैभन्दा महंगो बुटका लागि खर्च गरेका थिए, सात हजार ।

‘एडिड्यासको बुट थियो त्यो,’ उनले भने, ‘मैले आजसम्म किनेको सबैभन्दा महंगो बुट नै त्यो थियो ।’

हुन त नयाँ नयाँ बुट लगाउने चान्स नपाएका होइनन्, खड्काले । तर, उनले सिलाएर लगाएको एउटा थोत्रो बुटलाई मान्छन्, आफ्नो भाग्यमानी बुट । 

‘मसँग एउटा बुट थियो । च्यातियो । जावालाखेलमा एकजना बुट बनाउने मान्छे थिए,’ खड्काले सम्झिए, ‘त्यो बुट मैले उनलाई मर्मत गर्न लगाएको थिएँ, त्यही बुटले मलाई धेरै महत्वपूर्ण गोलहरु गर्न सहयोग गर्यो ।’

सिलाएर लगाएको यही बुटलाई त्यसैले खड्का मान्छन्, सबैभन्दा लक्की बुट ।

अहिले खड्कालाई आफूले कतिवटा बुट लगाएर जीवनभर खेले भन्ने याद छैन । तर, उनको घरमा अहिले छन्, ४ जोर बुट ।

‘फाटेका जुत्ता फाल्दै गएँ,’ खड्काले भने, ‘बुटलाई जर्सीजस्तो सजाएर पनि राख्न मिलेन, मसँग जम्म ४ जोर बुट छन् अहिले ।’

खेलाडीले ध्यान दिने खेलमा हो, बुटमा होइन भन्ने सोच्छन्, खड्का । त्यसैले त अहिलेसम्म कुन ब्रान्डको बुट हो भन्ने कुरामा खासै ध्यान दिएका छैनन्, खड्काले । ‘एउटा खेलाडीको प्रदर्शनलाई केही हदसम्म बुटले पनि प्रभाव पार्ला तर त्यसमा नै खेलाडीको प्रदर्शन निर्भर हुँदैन,’ खड्काले भने, ‘त्यसैले यो र त्यो ब्रान्ड भन्ने चाहिँ हुँदैन भन्ने लाग्छ ।’

  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार ६:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया