वामदेव गौतमको सांसद यात्राः ओलीको जित कि हार ?

लामो समयको चाहनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अब संघीय संसदको सदस्य बन्ने भएका छन् । बिहीबार बसेको नेकपा सचिवालय बैठकले उनलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेसँगै उनी अब सांसद हुने भएका हुन् । 

यसअघिको निर्वाचनमा बर्दियामा पराजित भएका गौतमले यसअघि पनि बारम्बार सांसद हुने प्रयास गरेका थिए । तर, उनी असफल हुँदै आएका थिए । 

यसअघि गौतम खासमा प्रधानमन्त्री बन्ने उद्देश्यका साथ प्रतिनिधि सभामा नै निर्वाचित भएर जान चाहन्थे । उनले यसका लागि प्रयास पनि नगरेका होइनन् । तर, डोल्पादेखि काठमाडौंका निर्वाचन क्षेत्रमा उनी उठ्ने चाँजोपाँजो मिल्न सकेन । 

अन्ततः उनी सांसद बन्नका लागि राष्ट्रिय सभा जाने भए । 

गत फागुनमा पहिलो पटक नेकपामा गौतमलाई सांसद बनाउने औपचारिक रुपमा छलफल भएको थियो । त्यति बेला पनि नेकपाले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेको थियो । तर, गौतमले तत्कालीन समयमा आफू राष्ट्रिय सभामा नजाने बताए । 

त्यति बेला गौतमले राखेको प्रस्ताव थियो– राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न संविधान संशोधन गर्न भए मात्र आफू राष्ट्रिय सभामा जाने । 



गौतमले राखेको यो सर्तले तत्कालीन समयमा राजनीतिक वृत्तमा ठूलो तरंग ल्यायो । उनको यो सर्तमा नेकपाकै कतिपय नेताहरु दुई कित्तामा विभाजित भए । 

तर, जहिले गौतमले यो प्रस्ताव राखेका थिए, त्यति बेला नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनेक मुद्दाहरुमा फाटो देखिइसकेको थियो । गौतमले नेकपामा देखिएको यो विभाजनलाई सही समयमा आफू अनुकूल हुनेगरि उठाए । उनले यो विषयमा नेकपामा ओली केही सकारात्मक पनि नभएका होइनन् । तर, उनले यसलाई पनि पन्छाउने बाटो खोजे । 



गत वैशाखमा जब नेकपामा फेरि विवाद निम्तियो, त्यति बेला वामदेव गौतमले अन्तिम समयमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिए । ओलीविरुद्ध त्यति बेला आवाज उठाइरहेका प्रचण्ड, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल त्यसपछि चुप लाग्न बाध्य भए । उनीहरुको यो बाध्यताको कारण थियो– सचिवालयमा गौतमले ओलीको साथ दिँदा आफूहरु अल्पमतमा पर्नु । 

यतिबेला फेरि वामदेव गौतम सांसद बन्ने प्रयासमा लागे । उनले यतिबेला प्रतिनिधि सभा नै ताके । त्यसैले नेकपाले निर्णय गर्यो– उपयुक्त समयमा गौतमलाई प्रतिनिधिसभामा लैजाने र आवश्यक परेको खण्डमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर गौतमलाई प्रधानमन्त्री बनाउने ।

कोरोनाभाइरस महामारीले नेपालमा पनि प्रभाव पार्न थालिसकेको थियो । नेकपा विवाद त्यति बेला केही समयका लागि युद्धविराम भए पनि फेरि जेठको अन्त्यबाट बल्झिन थाल्यो । कतिसम्म भने असार र साउनमा यो निकै उत्कर्षमा पुग्यो ।

अहिले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बनाएको कार्यदलका कारण अब नेकपा विवाद केही मत्थर भएको छ । र, यही समयमा आफूलाई सांसद बनाउन सफल पनि भएका छन्, नेकपा उपाध्यक्ष वामदेव गौतम । 

गौतमले यही समयमा सांसद हुन चाहनुका पछाडि दुई कारण रहेका छन् । पहिलो कारण हो, अहिले राष्ट्रिय सभामा एक पद रिक्त रहेको छ । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा मनोनित त्यो पदमा वामदेव गौतम जान चाहेका छन् । उनी राष्ट्रिय सभामा जानु भनेको खतिवडालाई राष्ट्रिय सभामा मनोनित गर्न नसक्नु हो । यसको अर्थ हो, अब खतिवडाको मन्त्री पदको पदावधि पनि सकिएको छ । यसअघि फागुनमा दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका खतिवडासँग संघीय संसदको सदस्यता नभएकाले उनले अर्थमन्त्री पनि छोड्नु पर्ने भएको हो । त्यसैले नेकपामा अब अर्थमन्त्रीमा पनि उपाध्यक्ष वामदेव गौतम नै नियुक्त हुन सक्ने चर्चा चल्न थालेको छ ।

वामदेवले त बारम्बार प्रयास गरेपछि आफूलाई सांसद बनाउन सफल भएका छन् । तर, वामदेवको यो यात्राका कारण प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जित ठानेका छन् कि हार ? 

यसका लागि वामदेवको यो यात्राका दुई पक्ष हेर्नु पर्ने हुन्छ । 

झन्डै ३ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अहिले दुई गुट निकै सक्रिय छन् । एउटा गुटलाई नेतृत्व गरेका प्रधानमन्त्री ओलीले भने अर्को गुट हो उनीविरुद्ध लागिरहेको गुट । ओलीइतर गुटलाई अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरिरहेका छन् ।

यी दुई नेतालाई नेकपा नेता झलनाथ खनालले पनि साथ दिएका छन् । नेकपा सचिवालयमा रहेका नौ सदस्यमध्ये वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल कतातिर ढल्किन्छिन्, त्यतैतिर बहुमत पुग्ने गरेको छ । 

र, पछिल्लो पटक बारम्बार विवाद उत्कर्षमा पुग्दा नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको साथ दिन थालेका छन् । गत वैशाखमा होस् या यसपटक पहिले ओलीको राजीनामा नै माग गरेका वामदेव गौतमले अन्तिम समयमा आएर ओलीकै साथ दिइरहेका छन् । 

अब उनलाई राष्ट्रिय सभामा जान सहज प्रस्ताव गरेर ओलीले चलाखीपूर्ण ढंगमा गौतमलाई आफ्नो पक्षमा पूर्ण रुपमा पारिसकेका छन् । यसको अर्थ हो, अब उनी नेकपामा थप बलियो भएका छन् ।

तर, अर्कोतिर अन्तिम समयसम्म पनि प्रधानमन्त्री ओली अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिन चाहन्थे । यसमा उनले हार महसुस गरेको हुनुपर्छ ।

  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार २२:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया