बंगलादेशको एक मस्जिदमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी डढेर दर्जनौं घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुले शनिबार दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरीसम्बन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राति नौ बजेतिर आगलागी भएको हो ।
अधिकारीहरुले ग्यास चुहिएका कारण भुइँ तलामा रहेका आठवटै एयर कन्डिसनरमा आगलागी भएको बताएका छन् । घटना भएका बेला मस्जिदमा झण्डै एक सय जना भक्तजन प्रार्थनाका लागि आएका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।