विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउँदै वाग्मती प्रदेश
प्रतीकात्मक तस्बिर

वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माण प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।

यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन निजी साझेदारी माध्यमबाट विद्युतीय यातायात प्रणाली सञ्चालन गरी आगामी २०८५ सालभित्र प्रदेशका ठूला शहरबाट पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गर्ने गरी काम शुरु गरिएको उनले बताए ।  

चार्जिङ सेन्टर राख्न इच्छुक स्थानीय तहलाई १५ दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्दै सूचना जारी गरिएको उनले जानकारी दिए । मुल सडकसँग जोडिएको कम्तीमा तीन रोपनी जग्गा उपलब्ध भए अध्ययन गरेर उपयुक्तता र आवश्यकताका आधारमा सेन्टर निर्माण गरिने उनको भनाइ छ । 

मन्त्री फुयाँलले सरकारले प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रममा नै  ८५ सालसम्म नवीकरणीय ऊर्जालाई प्राथमिकता दिँदै पेट्रोलियम सवारी विस्थापन गर्ने लक्ष्य प्रस्तुत गरिएकाले सरकारले उक्त लक्ष्य पूरा गर्ने गरी काम अगाडि बढाएको बताए । उनले सरकारले चाँडै विद्युतीय बस खरीद गरेर सञ्चालन गर्ने जानकारी दिए । 

पहिलो चरणमा सरकारले धुलिखेलबाट बनेपा, काठमाडौं, धादिङ, चितवन, हेटौँडा, सिन्धुली हुँदै धुलिखेलका रुटमा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको बताइएको छ । प्रदेशलाई हरित र वातवरणमैत्री प्रदेशका रुपमा निर्माण गरिने योजनाअनुसार काम गरिने उनको भनाइ रहेको छ
 





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १५:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया