प्रहरीभित्र नियमविपरीत काम गर्नेको संख्या बढ्दै : ३ वर्षमा ६,२७१ जनालाई कारबाही

पछिल्लो समय प्रहरीमा काम नगर्ने तथा प्रहरी आचरणविपरीत काम गर्ने प्रहरीलाई धमाधम कारबाही हुन थालेको छ । फिल्डमा काम नगर्नेदेखि लिएर प्रहरी आचरणविपरीत काम गर्ने जवान तथा अधिकृत प्रहरीलाई प्रहरी मुख्यालयले गल्तीको कसुरअनुसार कारबाही गर्ने गरेको तथ्यांक पाइएको छ । पहिला त्यसका केही उदाहरण हेरौँ ।  

उदाहरण–१

रौतहटमा अपराध बढेपछि प्रहरी प्रधान कार्यालयले यही बिहीबार रौतहटमा जिल्लामा प्रहरी प्रमुख फेरेको छ । भदौ १८ गते प्रहरी प्रधान कार्यालयले रौतहटका तत्कालीन प्रहरी उपरीक्षक रविराज खड्कालाई जिम्मेवारीबाट हटाएर सिद्धिविक्रम शाहलाई पठाएको छ ।   

जिल्लामा काम गर्न एसपी खड्का असफल भएको ठहर गर्दै प्रहरी प्रधान कार्यालयले उनलाई तान्यो । सामान्यतया एउटा जिल्लामा एसपीले एक वर्षसम्म कार्यभार सम्हाल्ने गर्छन् । 

तर, उनलाई सात महिना नपुग्दै प्रहरी हेडक्वाटर झिकाइयो । र, काजमा नयाँ एसपीको रुपमा शाहलाई जिम्मेवारी दिइयो । अझ, समग्र जिल्लाको शान्ति सुरक्षा र कमाण्ड कन्ट्रोललाई मध्यनजर गरी नयाँ प्रहरी प्रमुख खटाइएको प्रहरी प्रधान कार्यालयको तर्क छ । 

उदाहरण–२



यसैगरी, भदौ ४ गते पनि करिब ४९ एसपीको सरुवा गरियो । जसमध्ये स्याङजाका तत्कालीन एसपी विमलराज कँडेलको त सरुवा भएर जिल्लामा गएको ३–४ महिना नपुग्दै काजमा अर्को एसपीको सरुवा भयो । काम गर्न सकेनन् भनेर उनको ठाउँमा अपराध अनुसन्धानमा अब्बल मानिने होबिन्द्र बोगटीलाई पठाइयो । 

रौतहटमा सिद्धिविक्रम शाह र स्याङ्जामा होबिन्द्र बोगटीलाई तकालीन एसपीको समय अवधि नपुग्दै काजमा पठाइएको थियो । यसरी पठाउनु नौलो भने होइन ।  यी दुवैै त उदाहरण मात्रै हुन् । यसरी काम गर्न नसकेर विभिन्न किसिमका कारबाहीमा पर्ने प्रहरीको सूची लामै छ । यसमा प्रहरी अधिकारीदेखि प्रहरी जवानसम्म छन् । 



नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा ६२७१ जना प्रहरी अधिकारी तथा जवान कारबाहीमा परेका छन् । आर्थिक वर्ष ०७४–०७५,०७५–०७६ र ०७६–०७७ मा प्रहरी मुख्यालयबाट भएको विभागीय कारबाहीको यो तथ्यांक हो । ०७४–०७५ मा २२६५,०७५–०७६ मा २०३२ र ०७६–०७७ मा १९७४ जनालाई कारबाही भएको छ । 

एसएसपीदेखि प्रहरी जवानसम्म कारबाहीमा

जुन तथ्यांकमा उच्च तहका प्रहरी अधिकृतमा परेका छन् । तथ्यांक हेर्ने हो भने तीन वर्षमा ६ जना त एसएसपी नै विभागीय कारबाहीमा परेको तथ्यांक छ । त्यसपछि ८ जना एसपी विभागीय कारबाहीमा परेका छन् । र, सबैभन्दा बढी प्रहरी जवान कारबाहीमा परेको तथ्यांक छ । 

प्रहरी तथ्यांकअनुसार तीन वर्षमा ४१३५ जना प्रहरी जवान विभागीय कारबाही भोगेका छन् । त्यसपछि कारबाहीको दोस्रो स्थानमा प्रहरी हवल्दारको संख्या रहेको छ । यो तीन वर्षमा ११९९ जना विभागीय कारबाहीमा परेको हेडक्वार्टरको तथ्यांक छ । 

यसैगरी असईमा ४६५, सईमा २७२ जना विभागीय कारबाहीमा परेका छन् । इन्सपेक्टर र डिएसपी पनि कारबाहीको सूचीमा छन् । अर्थात् ८१ जना इन्सपेक्टर र १७ डिएसपी कारबाहीमा परेका छन् । 

नसिहतदेखि बर्खास्तीसम्मको कारबाही

ऐन, नियम तथा मर्यादाविपरीत काम गर्नेलाई प्रहरी कारबाही हुन्छ । समय ड्युटी नजाने, आचरण र मर्यादाविपरीत अनैतिक काम गर्ने, अनुसन्धानमा लापरबाही गर्नेलगायत विभिन्न शीर्षकमा प्रहरीले विभागीय कारबाही गर्छ । 

नसिहत, पद घटुवा, समय अवधिको कम गणना, पद उन्नतिमा रोक्का, अभिलेखमा प्रतिकूल राय, ग्रेड घटुवा, ग्रेड रोक्का निलम्बन र बर्खास्ती गरी १४ वटा शीर्षकमा प्रहरी कारबाही हुन्छ । प्रहरीको विभागीय कारबाही शीर्षकको सूचीमा कमजोर सजाय नसिहत र सबैभन्दा ठूलो सजाय बर्खास्तीलाई मानिन्छ । 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले कानुनविपरीत काम गर्ने प्रहरीलाई कारबाही गरिएको स्विकारे । ‘मुलुकमा नियमविपरीत काम गर्ने कसैलाई छुट छैन,’ उनले भने, ‘त्यसैले गलत गर्ने प्रहरी होस् या आमनागरिक, कसैलाई पनि प्रहरीले छोड्दैन ।’ विभिन्न शीर्षकमा प्रहरी कारबाहीमा पर्नुले समाजमा सकारात्मक म्यासेज जाने उनको तर्क छ । ‘यसले गर्दा कसैले गल्ती गर्ने हिम्मत गर्दैन,’ उनले भने । 

‘प्रहरीमा अझै तालिमको कमी’ 

यता, नियम आचरणविपरीत काम गरेर प्रहरी नै कारबाहीमा पर्नु दुःखद विषय भएको सुरक्षाविद्हरुको तर्क छ । पूर्वडिआइजी हेमन्त मल्ल देशभित्र नियमको पालना गराउने पहिलो निकाय नै प्रहरी नै भएको बताउँछन् । ‘अरुलाई नियमको पालना गराउने प्रहरी नै जब स्वयं गल्ती गरेर कारबाहीमा पर्नु लज्जास्पद कुरा हो,’ उनले भने, यसले प्रहरीभित्र अझै चाहिने तालिम नपुगेको पुष्टि गर्छ  ।’

उनका अनुसार प्रहरी जवान तथा अधिकृत भर्ना हुने बेलामै प्रहरीले फिल्डमा के–के गर्ने के–के नगर्ने भनेर तालिम दिइएको हुन्छ । त्यसको बाबजुद पनि प्रहरी नै कारबाहीमा पर्नुले विभागकै कमजोरी दर्साउँछ,’ उनले भने । 

यसको अर्थ प्रहरीलाई अझ तालिमको आवश्यकता रहेको उनको बुझाइ छ । अब जनता धेरै ‘एड्भान्स’ भइसकेकाले प्रहरी पनि धेरै विषयमा ‘दक्ष’ हुन जरुरी रहेको उनको सुझाब छ । नेपाल प्रहरीमा ७२ हजारको हाराहारीमा प्रहरी जनशक्ति छ । 

  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १८:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया