हामीकहाँ कामको कमी छैन, भारतले धेरै रेमिटान्स भित्र्याउनेमध्ये नेपाल छैटौँ मुलुक हो : प्रधानमन्त्री ओली

अर्थमन्त्रीको कार्यभार पनि सह्मालेका प्रधानमन्त्री  केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्तासँग सुझाब र परामर्शका लागि आयोजना गरेको छलफल कार्यक्रम सम्पन्न भएको छ  ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा सहभागी भएर भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताको तर्फबाट सुझाब प्रस्तुत गरेका छन् । त्यसक्रममा उद्योगीहरूले कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध गर्दै निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गराउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । 

छलफलमा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझाबबारे सरकारले चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनबारे स्पष्ट पारेका छन् । 

सम्बोधनका क्रममा प्रधानमन्त्रीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले धेरै ठूलो क्षति  भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराए । उनले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे । 

प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रस्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे । 

काम गरेर खान नेपालमा समस्या नरहेको र भौतिक श्रम गर्न विदेश जाने कुरामा अब आकर्षण नरहेको उल्लेख गर्दै उनले यो अवस्था बुझेर देशभित्र क्रियाशील रहन युवाहरूलाई आग्रह गरे । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये नेपाल छैटौँ मुलुक रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उनको तर्क थियो ।





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार २१:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया