'मैले जबज मानेको भन्नु, म जबज विरोधी भन्नु' दुवै गलतः प्रचण्ड

एकता भइसकेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अहिलेसम्म नटुङ्गिएको एक विवाद हो, सैद्धान्तिक विचार । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइसकेपछि समय समयमा विवाद निस्किएको हुन्छ, यो पार्टीले कुन सैद्धान्तिक विचारलाई अंगिकार गर्ने । 

तत्कालीन नेकपा एमालेले मान्दै आएको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) पूर्वमाओवादी नेताहरुले नमानिरहेको प्रसंग पनि बाहिर आइरहेका हुन्छन् । 

यही विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभिन्नता भइरहने विषय पनि बारम्बार चर्चामा आइरहेको हुन्छ । 

एकताको समयमा एमाले मान्दै आएको जबज मान्ने वा माओवादी केन्द्रले मान्दै आएको २१ औं शताब्दिको जनवाद मान्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लगाइएको छ । तर, यसलाई अब हुने भनिएको महाधिवेशनले टुङ्गो लगाउने भनेर थाँती राखिएको छ ।

आइतबार साँझ जनता टेलिभिजनको कार्यक्रम द भ्यूको अन्तर्वार्तामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहिँ यस विषयमा खुलेर कुरा गरेका छन् । पछिल्लो समय प्रचण्डले पनि जबज मान्ने हो भने प्रचण्ड मात्रै नेकपा अध्यक्ष हुनसक्ने सम्भावना बढेको हो भन्ने आशयको प्रश्नमा प्रचण्डले खुलेर कुरा गरेका हुन् ।

आफूले पनि यस विषयमा सुनेको स्वीकार गर्दै प्रचण्डले तत्कालिन एमाले वा माओवादीले मान्दै आएको सैद्धान्तिक कार्यक्रममा जानु भनेको पछाडि फर्किनु भएको बताएका छन् । अनि यसलाई पार्टीको ‘स्प्रिरिट’सँग मेल नखाने पनि उनले बताएका छन् । 



‘जबज, २१ औं शताब्दीको जनवाद वा माओवाद या प्रचण्डपथमा जानु भनेको पछाडि फर्किनु हो भन्ने म ठान्छु,’ प्रचण्डले भने, ‘मैले अब केपीजीलाई तपाईंले प्रचण्डपथ मान्दिनुस भनेमा वा मैले २१ औं शताब्दीको जनवादलाई मान्दिनुस भनेँ भने त्यो पार्टी एकताको स्प्रिरिटअनुसार हुँदैन । मलाई पनि केपीजीले वा अरु साथीहरुले जबज मानिदिनै पर्यो भन्नुभयो भने त्यो पनि पार्टी एकताको स्प्रिरिटअनुसार हुँदैन ।’

उनले अब यी सबै मान्यतालाई विकास गर्दै परिमार्जित गरेर नयाँ समाजवादतिरको यात्रामा जानु पर्ने बताएका छन् ।



यतिमात्र होइन, उनले प्रचण्डले जबज मानिसकेको गलत प्रचार भएको पनि बताएका छन् । ‘जबज मानिसक्या भनेर कतिपयले प्रचार गरेको पनि मैले सुनेको छु, तर त्यस्तो होइन,’ उनले भने ।

यति भन्दाभन्दै पनि उनले आफू जबजको विरोधी नभएको बताएका छन् । ‘म जबजको विरोधी होइन,’ उनले भने, ‘म जबजको विरोधी भएको हुन्थे भने पार्टी एकता हुँदैनथ्यो । म मदन भण्डारी, जीवराज आश्रित, मूख्यतः मदन भण्डारीको भूमिकालाई उच्च सम्मान गर्छु ।’

उनले जोडे, ‘मेरै प्रस्तावमा मदन–आश्रित दिवसको दिनमा पार्टी एकता गरौँ भनेको हुँ । त्यसकारण जबजप्रति घृणा गर्ने होइन सम्मान छ मेरो । त्यसले खेलेको ऐतिहासिक भूमिकालाई प्रतिवेदनले पनि एकता प्रक्रियामा पनि हामीले सम्मानै गरेका छौँ ।’ 

नेकपाले माओवादी जनयुद्धले खेलेको भूमिका, २१ औं शताब्दीको जनवादले खेलेको भूमिकालाई सम्मान गरेको भन्दै प्रचण्डले ती दुवै अनुभवलाई नयाँ संस्लेषण गरेर पार्टीलाई एउटा महान पार्टी, अग्रगामी क्रान्तिकारी पार्टी बनाउने उद्देश्य भएको समेत बताए । उनले भने, ‘मैले जबज मानिसक्यो भन्नु पनि गलत हो । म जबज विरोधी हो भनेर भन्नु पनि गलत हो ।’

एक वर्ष अघि एउटा औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जबजलाई बाइबल कुरान बनाउन नहुने भन्दै जबज र नौलो जनवादलाई संश्लेषण गर्नुपर्ने बताएका थिए ।

  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार २३:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया