किन अर्थ मन्त्रालय छाड्न चाँहदैनन् ओली
फाइल तस्बिर

डा.युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि पुनः खतिवडालाई छाया अर्थमन्त्री बनाउने बहस सुरु भएको छ । खतिवडाको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त मन्त्रालयले आफैंले सम्हाल्दै आएका छन् ।

आफैंले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा उद्योगी, व्यवसायीसँग छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री खतिवडालाई नयाँ भूमिका दिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो आर्थिक सल्लाहकार बनाउने तयारी गरेका छन् । खतिवडाले अर्थमन्त्रालय सञ्चालन गर्नेगरी जिम्मेवारी पाउने सम्भावना बलियो भएको बताइएको छ ।

प्रधानमन्त्रीको उक्त भनाइसँगै नेकपाभित्र खतिवडालाई छाया अर्थमन्त्री बनाउन लागेको बहस सुरु भएको हो । ‘खतिवडा जीले अर्थतन्त्रका लागि निकै महत्त्वपूर्ण योगदान दिनुभएको छ’, उक्त छलफलमा प्रधानमन्त्रीले भनेका थिए, ‘यस्तो जटिल परिस्थितिमा पनि अर्थतन्त्रलाई नकारात्मक हुन दिनुभएन । अर्थमन्त्रीका रूपमा रहन नसके पनि उहाँ अब पनि देशको अर्थनीति र अर्थतन्त्रलाई सबल बनाउने भूमिकामै रहनुहुनेछ ।’

प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्नेगरी छाया अर्थमन्त्री बनाउने तयारी गरेको स्रोतको भनाइ छ । ‘अहिले प्रधानमन्त्रीसँग भएको अर्थ मन्त्रालय उहाँसँगै रहन्छ । छाया मन्त्रीका रूपमा अब खतिवडाले मन्त्रालय सञ्चालन गर्नुहुन्छ । अर्काे कोही व्यक्ति अर्थमन्त्री भए पनि नीतिगत निर्णय प्रधानमन्त्रीमार्फत खतिवडाले नै गर्ने देखिन्छ । तर, अब अर्थमन्त्री नयाँ हुने सम्भावना न्यून रहेको छ’, स्रोतले भन्यो । 

गत बिहीबार बसेको नेकपाको सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गर्न बाँकी राष्ट्रियसभा सदस्य बनाउने जानकारी गराएका थिए ।



यसअघि सोही कोटाबाट खतिवडालाई मनोनित गरी अर्थमन्त्री बनाइएको थियो । तर, ६ महिनाअघि खतिवडाको राष्ट्रियसभाको म्याद सकिए पनि ६ महिना सांसदबिना नै मन्त्री बन्न पाउने व्यवस्था अन्तर्गत खतिवडा पुनः अर्थमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीले पुनः खतिवडालाई राष्ट्रियसभामा मनोनित गर्न चाहेका थिए । तर, गत फागुनमा नेकपा सचिवालयले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने कोटामा पठाउने निर्णय कार्यान्वयन गर्नुपर्ने आवाज चर्को भएपछि ओली पछिहटेका थिए । खतिवडाले पनि आफू बाधक नबन्ने भन्दै म्याद सकिन एक दिन बाँकी रहँदै राजीनामा दिएका थिए ।



खतिवडाको राजीनामापछि नेकपाभित्र अबको अर्थमन्त्रीमा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल वा सुरेन्द्र पाण्डे बन्न सक्ने आँकलन गरिएको छ । उपाध्यक्ष गौतमले आफू उपप्रधानसहित अर्थमन्त्री हुने बताइसकेका छन् । तर, प्रधानमन्त्री ओली भने उक्त मन्त्रालय छाड्ने पक्षमा छैनन् ।

यस हिसाबले ओलीले उक्त मन्त्रालय आफैंले राखेर कसैलाई पनि नियुक्त नगरेर निवर्तमान अर्थमन्त्री खतिवडालाई नै छाया अर्थमन्त्री बनाउने तयारी रहेको अनुमान गरिएको छ । उपाध्यक्ष गौतमलाई अर्थमन्त्री नबनाउने संकेत प्रधानमन्त्री ओलीले यसअघि नै दिइसकेका छन । 

१० असारबाट सुरु भएको नेकपाको आन्तरिक विवाद समाधान गर्नका लागि महासचिव महासचिव विष्णु पौडेलको नेतृत्वको गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनअनुसार २६ भदौमा बस्ने स्थायी कमिटीको बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने वा कम्तीमा ३ वटा मन्त्रालयमा नयाँ व्यक्तिलाई मन्त्री बनाउनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीसँग छ । 

प्रधानमन्त्री ओलीले भने गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पुनर्गठन नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिइसकेका छन् ।

  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १४:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया