अमेरिकामा भौंतारिएका युवाको नेपालमा रहेकी आमालाई पत्र

आमा ! 
यो सम्बोधन नै तपाईंको सम्झनाका र सम्मानका लागि पर्याप्त छ भन्ने मैले ठानेको छु । अरु औपचारिक शब्द प्रति मेरो खसै मोह रहेन । अस्ति कुरा गर्न खोज्दा खोज्दै छोराले फोन काट्यो भनेर दु:खी हुनुभयो होला । साँच्चै आमा ! तपाईंलाई के ढाट्नु अब, तपाईंले फोन गर्दा रातको करिब पौने एक बजेको थियो । म ड्युटीबाट कोठातिर जाँदै थिएँ । खाना खायौं भनेर साध्ने बित्तिकै झन्डै गाडीको ब्रेक थिचेको थिएँ । किन, किन मन त्यसै भरिएर आएको थियो । बोल्न सकिरहेको थिइनँ । अझै सुतेका छैनौ ? गाडीको आवाज पनि सुन्छु, कामबाट फर्कंदै छौ हो ? अरु बेला भएको भए तपाईंलाई ढाँटी दिन्थें र भन्थें आराम गर्दै छु । यसै गरी तपाईंलाई मात्रै होइन आमा ! मैले जीवनका बाध्यतामा पिल्सिएर कतिपल्ट आफैंलाई पनि ढाँटेको छु । तर, त्यो दिन गाडीको आवाज तपाईंको कानसम्म पुगिसकेको थियो । उत्तर दिन सकिनँ ।

आमा ! तपाईंको काख र जन्मभूमिको साथ छोडेदेखि मैले न त समयमा खान नै पाएको छु न त धितमरुन्जेल निदाउन नै । कहिले काहीँ सुत्न पाएको समयमा पनि सपनीमा तपाईंले नजिकै बसेर टाउको मुसारी रहेका देख्छु, कि त ठ्याक्कै ओखलजस्तो देखिने तान्द्राङको त्यो ठूलो फाँटमा टहलिन पुग्छु । आमा ! त्यो उब्जाउ फाँट घडेरीमा कित्ता काट त भएको छैनन् नि हगि ? उब्जनीमा आत्मनिर्भर हुनभन्दा घडेरीमै सपना सँगाल्ने व्यवसायीले गोरखाको तान्द्राङ फाँटलाई कहिलेसम्म चोखो रहन् देलान् र ? 

आमा !  म के भनौं, यहाँ मसँग न भोक छ, न प्यास छ न थकान छ न निद छ न त तपाईंका स्नेहिला हातहरु । केही, केही छैनन् आमा !  यहाँ छ त केवल अनगिन्ती सपनाहरुका गगनचुम्बी महलमात्रै ठडिएका छन् । आमा ! सपनीका के कुरा भएर विपनीमै पनि केवल घर परिवार,  जन्मभूमि, साथीसङ्गी,  तल्लाधरे साइँली,  पल्लघरे ठूली, वनपाखा,  खेतबारी,  न्याउलीको विरसिलो आवाज अनि कोइलीको कुँहुँ कुँहुँ झल्झली आँखा र मन मस्तिष्कमा नाचिरहन्छन् । यिनैको सम्झनाले यो परदेशमा न्यानो अनुभूति हुन्छ । तन परदेशमा भएर के भो र मन त स्वदेशमै छ नि आमा ! यी सबै, सबैका सम्झनाले पिरोल्दा एकान्तमा कतिपटक भक्कानिएर रोएको छु । यति कमाऊँ, उति कमाऊँ, यो गरौं, त्यो गरौं, यसलाई यसो गरौं, उसलाई त्यसो गरौं भन्दाभन्दै वर्षौं बिते,  बीसमा हिँडेको तपाईंको छोरो तीसको यात्रामा छ । आमा ! तपाईंको नजरमा कहिले पो हुर्केको थिएँ र ? तर, विदेशको तातोपानीले जीवनमा स्वर्णीम वसन्तहरु पत्तै नपाइ खुइल्याइदियो ।

आमा ! कहिलेकाहीँ पीडा कम गर्न घुम्न जाँदा सामुद्रिक तटमा खिचेर सामाजिक सन्जालमा पोस्ट गरेका फोटो देख्नेहरुले तपाईंलाई सुनाउँदा हुन्, ‘तिम्रो छोराको जीवन कति मस्ती छ, चट्ट टाइसुट लगायो लेक्सास (Lexus) गाडी हुइक्यायो,  समुन्द्र-समुन्द्र डुल्यो,  डलर छाप्यो,’ भनेर ।  तर, उनीहरुलाई के थाहा आमा यहाँको सास्ति, भोग्नेलाई मात्रै थाहा हुन्छ । तर, पनि आमा ! म मेरा सम्पूर्ण खुसीलाई तिलाञ्जलि दिँदै घर परिवारको खुसीका निम्ति दिन रात नभनी यो विरानो मुलुकमा रगत र पसिनासँग डलर साटदै छु आमा ! तपाईंको स्नेहको बल अझै छ र त कत्ति पनि विचलित नभई,  नडगमगाई, यी पौरखी दस नङ्ग्री खियाएकै छु । तपाईंले दिएको संस्कारलाई शिरोधार्य गर्दै आफ्नो इज्जत प्रतिष्ठा अनि स्वाभिमानलाई झुक्न दिएको छैन ।   

आमा ! तपाईंलाई सम्झना छैन र ! हिजो म बालखै हुँदा तपाईं र बाले दिनभरि गरेर ल्याएको निबेकले मात्र हाम्रो साँझबिहान चुल्हो बल्थ्यो ।  आमा ! डाँडाघरे साहुले मेरो कलेज फि तिर्न ऋण माग्न जाँदा नपत्याएको, त्यही कारण मैले पढाइबाट विश्राम लिनुपरेको,  तल्लाघरे डम्बरेले भाउजू सुत्केरी हुँदा खसी नपत्याएको,  रिट्ठे साहुले तपाईंको आँखामा फुलो परेर उपचार गर्न जाँदा पैसा नपत्याएको,  माथिल्लो घरे रामेले दसैंमा कपडा नपत्याएर त्यही स्कुल ड्रेसले दसैं टारेको,  कान्छी काकीसँग तपाईंले दाइलाई एक कल फोन लगाइदेऊन, म पैसा तिर्छु भन्दा नलागाइदिएको,  स्कुल जाँदा चुँडिएको पायल चप्पल तपाईंको चोलीको तुनाले गाँसेर लगाउनु पर्दाको क्षण कति पीडादायी थिए ? कस्तो बिडम्बना थियो हगि आमा ! हाम्रो  घरमा । भुल्नु भयो र ? हुन त ती दिन फेरि सम्झन नपरोस भनेरै त म यहाँ छु । आमा ! तिनै अभाव र सङ्घर्षका बीच हुर्किएको म पीडालाई सजिलै पचाउन सक्छु ।

आमा ! म परदेश पसेपछि केही कमाउन थालेपछि,  तपाईं र बाले अरुको निबेक गर्न जानुपरेको छैन ।  टाढिएका आफन्त नजिकिँदै छ्न् । हामीलाई ऋण नपत्याउनेहरु हाम्रो दैलोमा ऋण माग्न आएका छ्न् । कहिल्यै नबोल्नेहरु पनि यो पठाइदेऊ, त्यो पठाइदेऊ भन्दै बोल्न थालेका छन् । मानौं, यहाँ रुखमा डलर टिप्न पाइन्छ । दाजुभाउजू, दिदिभिनाजु, बहिनिज्वाइ, भाइभतिजाहरु साथीसङ्गी सकेसम्म सबैका हातहातमा आइफोन, आइप्याड अनि ल्यापटप थमाएकै छु । पैसा पठाइदिएकै छु । मिलेजति कमाएजति केहीबाट गरिब, दु:खी असाहायका निम्ति समाजसेवा पनि गरेको नै छु,  ढुङ्गोमाटोले बनेको घरबाट आज हामी पनि आरसिसी (RCC) घरमा बस्ने भएका छौं । बा बिरामी हुँदा घरमै एम्बुलेन्स ल्याउन सक्ने भएका छौं । आमा ! एकपटक सोच्नुस् त, फेरि पनि के म परदेश नपसेको भए यो सम्भव थियो र हाम्रो लागि ?  म एकको दु:खले  कति जनाको मुहारमा खुसी छाएको छ हेर्नुस् त । हो त्यही सुख अनि खुसीले म परदेशीको दु:ख भुलाएको छ ! 



तपाईंका र बाका अनुहारमा चाउरीसँगै परेका रेखाहरु कति पढ्न सकें सकिन थाहा छैन तर भोगाइले कहिले काहीँ गुरु बनाइदिँदो रहेछ । सायद श्रमको सम्मान गर्न नजान्ने समाजमा हुर्किएकैले हाम्रो त्यो गति थियो । छोराले शिक्षा दियो भनी नठान्नु होला । सुखमा मात्तिने र सम्पत्तिको फुर्ति लगाउने कहीँ कतै नगर्नु होला । दु:खी पीडितलाई  सकेको सहयोग गर्नुहोला, श्रमिकहरुले भारी मनलिएर जाने वातावरण नबनाउनु होला ।

आमा ! एकातर्फ अहिले विश्व कोरोना भाइरसबाट आक्रान्त बनिरहेको छ भने अर्कोतर्फ नेपालको घर आँगनमा चाडबाडको बहार आउँदै छ । वर्षौं भएछ परिवारसँग बसी चाडबाड नमनाएको पनि यस्तो बेलामा घर परिवार सबैको सम्झनाले सताएको छ । यो परदेशमा आफ्नो भन्ने कोही नहुँदा पेट पाल्नकै लागि पनि काममा जानुपर्ने विवशता छ म त सावधानी अपनाएर काममा गइरहेको छु त्यहाँ तपाई र बा अनि परिवार सबैले विशेष ख्याल गर्नु भएकै होला ।



सायद म जस्तै परदेशिएका हजारौँ दाजुभाइ दिदिबहिनीका पीडा यस्तै यस्तै छन् । हाम्रालागि पीडाभित्र आफ्नो खुसी खोज्नुपर्ने यथार्थता लुकेको छ । मनै न हो आफ्नै देशमा आमाबाबुको न्यानो काखमा रम्न को पो चाहँदैन र ? दु:ख, सुखमा साथ दिने मित्रहरुसङ्ग काँधमा काँध  मिलाएर हिंड्न, आफ्नै ओख्लेबारी, सिमखोला अनि सम्मखेतलाई हराभरा बनाएर उतै केही गर्ने मन त थियो नि, तर देशको राजनीतिक अस्थिरताले गर्दा स्वदेशमा केही गर्ने वातावरण नबन्दा बाध्यताको भारी बोकी चर्न आएको छु । नमरी बाँचे कालले साँचे छिट्टै आउने छु आमा ! तपाईंको सामिमा रम्न । आफ्नै गुडमा फर्कने रहर बोकेर बाँचेको छु । मेरी आमा ! प्रणाम

के.पी. ढकाल 
क्यालिफोर्निया 

  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १९:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया