हिजो फुटेका साझा र विवेकशील फेरि किन जुट्दै छन् ?
फरकधार / २४ भदौ, २०७७

१२ वैशाख २०७२ । विनाशकारी भूकम्प गएको यो दिन नेपालीहरुले सायदै बिर्सेलान् । यही दिनपछि नेपालमा नयाँ राजनीतिक सोचको पनि विकास भयो, विवेकशील नेपाली दलका कारण । किनकि भूकम्पका कारण सिर्जिएको अवस्थामा विवेकशीलले मन खोलेर सहयोग गर्न जुट्यो, राहत वितरणमा अग्रसरता देखायो । 

त्यति बेला अहिले साझा पार्टीका संयोजक रवीन्द्र मिश्र बिबिसी नेपालीमा कार्यरत थिए । उनले आफ्नो समाचारमा होस् या अन्य कार्यक्रममा खुलेर प्रशंसा गरेका थिए विवेकशील नेपालीको । यही समयपछि नै उनले वकालत गर्न थालेका थिए, नेपालमा विवेकशील जस्तो इमान र निष्ठा भएको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ भन्दै ।

तिनै मिश्रले त्यसको डेढ वर्षपछि २०७३ साल फागुन १७ गते बिबिसी नेपाली सेवा छोडे र नयाँ राजनीतिक दल निर्माणका लागि लागे । उनले एउटा राजनीतिक दल पनि गठन गरे । उनले गठन गरेको यो दल थियो– साझा पार्टी ।

अहिले फेरि यी दुई दल चर्चाको शिखरमा छन् । विवेकशील नेपाली र साझा पार्टी फेरि एक हुँदैेछन् भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।

त्यसो त यी दुई दल यसअघि एकपटक मिलिसकेका थिए, विवेकशील साझा पार्टी बनाएका थिए । तर, यो एकता लामो समय टिक्न सकेन । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा छुट्टाछुट्टै दलका रुपमा निर्वाचनमा होमिएका यी दुई दल त्यही वर्ष भएको संघीय तथा प्रादेशिक निर्वाचनमा चाहिँ एक भएर मैदानमा उत्रिएका थिए । ११ साउन २०७४ मा एक हुँदा रवीन्द्र मिश्रले भनेका थिए, ‘हामी समृद्धिका लागि जन्मिएका हौँ, समृद्धिको लडाइँ त्यति सजिलो लडाइँ होइन रहेछ ।’

एकातिर यी दुवै दलका नेतृत्वले आफूहरु एक हुनु खुसीको कुरा भनिरहेका थिए भने अर्कोतिर यी दुवै पार्टीका कार्यकर्ताले यो एकतालाई अस्वभाविक भन्न पनि थालेका थिए । फलतः एकता भएको १८ महिनामा नै यी दुई समूह फेरि छुट्टिए । २७ पुष २०७५ मा यी दुई पार्टी फुट्दा तत्कालीन समयमा विवेकशीललाई नेतृत्व गरिरहेका उज्जवल थापाले भनेका थिए– मिश्रले पार्टी संगठनअनुसार काम गरेनन्, मिडियामा देखिन मात्र उनी लोभिए ।

यी दुई दल एक हुँदा निर्वाचनमा सम्मानजनक हार व्यहोरेका थिए । तर, जब दुई पार्टी फुटेर कास्की २ मा भएको उपनिर्वाचनमा होमिए, दुवैको हार लज्जास्पद रह्यो ।

त्यति बेला नै फेरि केहीले आवाज उठाए– विवेकशील र साझा फेरि मिलेर जानुपर्छ । 

त्यति बेलाको विवेकशील र त्यति बेलाको साझामा अहिले ठूलो परिवर्तन भइसकेको छ । साझाका रथी भनिएकाहरुमध्ये मुमाराम खनाल, सूर्यराज आचार्यहरुले पार्टी परित्याग गरिसकेका छन् । 

 

साझा विवेकशील फुटाएकाे आराेप लागेका सूर्याराज आचार्य के भन्छन् त ? पढ्नुहाेस्– 

साझा–विवेकशील छुट्टिनु–मिल्नुमा मेरो गोरु बेचेको साइनो छैन

 

अनि अब फेरि यी दुई पार्टी एक हुनका लागि गृहकार्य सुरु गरिसकेका छन् । यसका लागि दुवै दलले संवाद समिति पनि बनाएका छन् । आखिर केही समयअघि मात्र आफूहरु एक हुन नसक्ने भन्दै फुटेका यी दुई दल फेरि किन एक हुन तम्सिएका छन् त ?

‘जतिबेला पार्टीमा फुट आयो, त्यति बेला साझामा हुनु भएका केही नेताहरु पनि कारक हुनुहुन्थ्यो,’ विवेकशीलका एक नेता बताउँछन् ‘अब उहाँहरुको बर्हिगमन भएको छ, पार्टी एक हुने कि भन्ने कुरामा हामी अगाडि बढेका छौँ । उहाँहरुको बर्हिगमनपछि पार्टी एक भयो कि भन्ने हाम्रो मान्यता पनि हो ।’
विवेकशीलका यी नेताले यो आरोप सोझै साझा पार्टीका प्रवक्तासमेत रहेका डा. सूर्यराज आचार्यलाई लगाएको भान भयो । हामीले डा. आचार्यलाई सम्पर्क गर्यौँ । 

‘यो अराजनीतिक तथा निराधार आरोप हो,’ आचार्यले भने, ‘जसले सत्तरी वर्षअघि देखि राजनीति गर्दै आएका पार्टीको विकल्पमा आफूलाई उभ्याउन खोजेको छ, ऊ यस्ता आरोप–प्रत्यारोपमा उत्रिनुको कुनै अर्थ छैन ।’

उनले आफू पार्टीमा हुँदा राजनीति गर्नेजस्तो दल बनाउन बारम्बार चाहेको र साझा विवेकशील एउटा क्लब भयो भन्ने आवाज उठाएको पनि बताए । ‘तर, यसलाई कसैले पनि रुचाएनन्,’ उनले भने ।

‘मैले साँच्चिकै वैकल्पिक शक्ति बन्ने हो भने काठमाडौंबाट बाहिर निस्किएर गाउँगाउँ, बस्ती–बस्ती, घर–घर जाऔं भन्दा धेरैलाई चित्त बुझेन,’ उनले भने, ‘मैले यसो भन्दा कतिपय पार्टीमा मलाई मन पराएनन् । उनीहरुलाई हामीलाई राजनीति गर्न सिकाउने भन्दै उल्टै ममाथि खनिए ।’

पार्टीमा हुँदा आचार्यले जुन असहमति देखाएका थिए, त्यसले पनि त्यति बेला पार्टी एकता लामो समय नटिकेको मान्नेहरु नभएका होइनन् । 

अब फेरि यी दुई दल एक हुन खोज्दैछन् । 

 

कहाँ पुगेको छ पार्टी एकता प्रक्रिया ?

देश कोरोनाभाइरस महामारीका कारण आक्रान्त छ । यो महामारीले नेपालमा विकराल रुप लिनुभन्दा अगाडि नै यी दुई दलले अनौपचारिक रुपमा पार्टी एकताको प्रक्रिया सुरु गरेका थिए ।

अब यी दुई दलले पार्टी एकता प्रक्रिया तीव्र रुपमा अगाडि बढाइरहेका छन् । यसका लागि दुवै दलले तीन–तीन जनाको संवाद समिति बनाएका छन् । संवाद समितिमा विवेकशील नेपालीबाट रमेश पौड्याल, निर्देश सिलवाल र रन्जु दर्शना छन् । त्यस्तै, साझाबाट किरणकृष्ण श्रेष्ठ, समीक्षा बाँस्कोटा र केशव दाहाल रहेका छन् । यी दुई दलले निर्देश सिलवाल​ र समीक्षा बाँस्कोटालाई संयोजक तोकेका छन् ।

यो संवाद समितिबीच पछिल्लो समय पाँच पटक भेटघाट भइसकेको छ । ‘अहिले त कोरोनाभाइरस रोकथामका लागि निषेधाज्ञा लगाइएको छ,’ विवेकशीलका एक नेताले जानकारी दिए, ‘यसले हाम्रो यो प्रयास पनि अहिलेलाई रोकिएको छ ।’

विवेकशील नेपाली दलबाट संवाद समितिमा रहेका निर्देश सिलवाल चाहिँ अहिलेसम्म भइरहेका वार्ताहरु सकारात्मक भएको दाबी गर्छन् । ‘कार्ययोजना र पद बाँडफाँडबारे छलफल हुन बाँकी छ,’ उनले फरकधारलाई बताए ।

साझा पार्टीबाट संवाद समितिकी संयोजक बाँस्कोटा पनि आफूहरु सही दिशातर्फ अगाडि बढेको र अहिले धेरै विषयमा यी दुई दलको सहमति जुटिसकेको बताउँछिन् ।

‘अब एकताका लागि धेरै संवादको आवश्यकता नै पर्दैन होला जस्तो लाग्छ,’ उनले भनिन्, ‘धेरै विषयमा हाम्रो मत समान भइसकेको छ ।’
 

विवेकशीलका सिलवाल पनि यसअघि आफूहरुले गरेका गल्ती र कमीकमजोरी सच्याएर अगाडि बढ्दै मिलेर अगाडि बढ्नुको विकल्प नभएको आफ्ना वार्ताहरुले निष्कर्ष निकालेको बताउँछन् ।

पार्टी भित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु, आफुले मात्रै राजनीति बुझेको छु भन्ने भ्रम केही नेताहरुमा हुनु, दुवैको सोच्ने र काम गर्ने तरिका फरक हुनु, व्यक्तिगत टकराव, नेतृत्व–नेतृत्वबीच कन्फ्लिक्ट हुनु, एउटा पक्षको पेलान र अर्को पक्ष कमजोर हुनु, छुट्टिने बेलामा तिक्तता मिलाउन इमान्दार प्रयास नहुनुले यसअघि यी दुई दलबीच विभाजन आएको सिलवालले निष्कर्ष निकालेका छन् ।

‘अहिले दुवै पार्टीमा आएका नयाँ नेतृत्व खुलेर कुराकानी गर्न सक्छ, दुवैमा कम्प्याटिबल नेतृत्व छ,’ सिलवालले भने, ‘त्यसैले अब हामी दुई मिल्न सहज वातावरण पनि बनेको छ ।’

 

कसरी बाँडफाँड गर्दैछन् यी दुई दलले पद ?

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७४ साल जेठ ५ गते भएको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीले दल एकतामा नयाँ अवधारणा ल्यायो– दुई अध्यक्ष भएर पार्टी चलाउने । त्यसपछि एकता भएको राप्रपामा पनि यही देखिएको छ ।

के विवेकशील र साझाले पनि यही अवधारणालाई अगाडि बढाउने हो ? यसअघि पनि २०७४ साल साउनमा भएको एकतामा यी दुई दलले नयाँ दलको नेतृत्वमा दुई संयोजक राखेको थियो– रवीन्द्र मिश्र र उज्जवल थापा । 

अब विवेकशीलमा थापाले नेतृत्व छोडिसकेका छन् । विवेकशीलको नेतृत्वमा आएका छन्, मिलन पाण्डे । साझामा अझै पनि नेतृत्व गरिरहेका छन्, रवीन्द्र मिश्र ।

तर, अब कस्तो मोडालिटीमा यी दुई दलको एकता गर्ने भन्ने विषय टुङ्गिसकेको छैन । ‘यसअघि भएका कमीकमजोरीको विषयमा हामीले चर्चा गरेका छौँ,’ यी दुई दल एकता गर्न बनेको संवाद समितिका एक सदस्यले भने, ‘पदको बाँडफाँड कसरी गर्ने भन्ने अहिलेसम्म टुङ्गिएको छैन, यस विषयमा छलफल नै भएको छैन ।’

 

कहिलेसम्म भइसक्ला एकता ?

दुवै तर्फका संवाद समिति सदस्यका अनुसार यी दुई दलबीच कहिलेसम्म एकता भइसक्ला भन्ने पनि ठोस निष्कर्ष निस्किएको छैन । तर, कोरोनाभाइरसको यो महामारीपछि अलिक सहज परिस्थिति बनेपछि यी दुई दलबीच एकता हुनसक्ने सम्भावना बढेको छ ।

‘हामीलाई पनि दशैं अगाडि नै एकता भइसक्छ भन्ने लागेको थियो,’ विवेकशीलका निर्देश सिलवालले भने, ‘तर, वर्तमान अवस्थालाई हेर्दा त्यो सम्भव नहुन पनि सक्छ । जे होस्, के चाहिँ भन्न सकिन्छ भने केही महिनाभित्रै सहमति जुट्छ ।’

यो एकता सँगसँगै साझा र विवेकशीलमा नयाँ अनुहार पनि देखिन सक्ने चर्चा हुन थालेको छ । पूर्वडिआइजी रमेश खरेल, आफूलाई सामाजिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीलगायतलाई पनि एकीकृत दलमा ल्याउने प्रयास भएको चर्चा हुन थालेको छ ।

तर, अहिले तत्काल यस्तो विषयमा कुनै छलफल नभएको बताउँछन्, सिलवाल । 

‘यो विषयमा हामीबीच कुनै औपचारिक छलफल भएकै छैन,’ सिलवालले बताए ।

 

विवेकशीलका केही सदस्य छन् थप रुष्ट

साझासँग छिटोभन्दा छिटो एकता गरेर अगाडि बढ्ने प्रयासहरु भइरहँदा विवेकशील नेपालीकै केही सदस्यहरुले चाहिँ असन्तुष्टि देखाउन थालेका छन् । 

‘हो, केही साथीहरुलाई साझासँग फेरि सहकार्य गरेर अगाडि बढ्ने कुरा मन परेकै छैन, जुन स्वभाविक पनि हो,’ सिलवाल भन्छन्, ‘‘उहाँहरु हाम्रो र साझाको राजनीति गर्ने शैली फरक भएकाले अहिले मिल्नुको औचित्य नभएको बताइरहनु भएको छ ।’ तर, केकस्तो अवस्थामा मिल्ने भन्ने प्रष्ट भएकाले अधिकांश सदस्यले यो एकतालाई सकारात्मक रुपमा नै हेरेको पनि उनले बताए ।

  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १४:४१:५३,   अन्तिम अपडेट : भदौ २४, २०७७ बुधबार १५:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया