प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् । बुधबार जंगीअड्डामा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा सो छलफल आयोजना गरेका थिए । केही दिनअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले संसदीय समितिसँगको छलफलमा राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने माग राखेका थिए ।
अन्तरक्रियामा बोल्दै प्रधानसेनापति थापाले भने, ‘यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरु अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो ।’
सरकारको आदेश पालना गर्नु सेनाको दायित्व भएको उल्लेख गर्दै थापाले भने, ‘नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको छ ।’
प्रधानसेनापति थापाले आफूले दुई वर्षमा गरेका कामहरुको फेहरिस्थ प्रस्तुत गर्दै तीनवर्षे कार्यकाल पूरा भएपछि थप अवधि पदमा बस्ने कुनै इच्छा नरहेको बताएका थिए ।
प्रधानसेनापति थापाले युद्धका लागि सेना सधैँ तयारी अवस्थामा रहनुपर्ने बताए । नेपाली सेनाले अंग्रेजसँग लडेको स्मरण गर्दै उनले भने, ‘सानो हुँदैमा राष्ट्रको रक्षा गर्न सक्दैनौँ भन्ने होइन, अंग्रेजसँग पनि हामी लडेकै हौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।