सामाजिक सञ्जालमा सकारात्मकभन्दा नकारात्मक कुराले किन बढी चर्चा पाउँछ ?
फरकधार / २४ भदौ, २०७७

नेपालमा सोसल मिडिया प्रयोकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ । सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रुपमै आएको यो लहरलाई पक्रिएर नेपालमा सामाजिक सञ्जालकर्ताहरु झ्नझ्न सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जालले दुनियाँलाई कति साँघुरो बनाइदिएको छ भने केही सेकेन्डमै हामी संसारबारे बुझ्न सक्छौं, मोबाइलको स्क्रिन सँगै औँलाकै सहाराले हामी विश्व परिक्रमा गर्न सक्छौं, घरको एक कुनामा बसेर ।

सात समुन्द्र पारी रहेका खबर मात्र होइन, आफन्त तथा साथीभाइसँग पनि मज्जाले कुराकानी गर्न सम्भव बनाइदिएको छ, सामाजिक सञ्जालले । त्यो पनि अनुहार देखिने गरी । सामाजिक सञ्जालकै सहाराले हामीले धेरै कुरा सिक्न पाएका छौं ।

तर, हामीले सामाजिक सञ्जालबाट सकारात्मक कुरामात्र लिइरहेका छैनौं, नकारात्मक कुरा फैलाउनेसमेत सहयोग गरिरहेका छौं ।

पछिल्लो समय फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा नकारात्मक कुराले धेरै स्थान पाइरहेका छन् । हत्या, हिंसा, बलात्कार, अपराध, मानहानि जस्ता कुरा छिट्टै सम्प्रेषण भइरहेका छन्, सामाजिक सञ्जालमा । यही कुरालाई मध्यनजर गर्दै केही वर्षअघि युट्युव, फेसबुक जस्ता सामाजिक सञ्जालमा ‘सेन्सेटिभ कन्टेन्ट’ हरु पठाउन, पोस्ट गर्न र सेयर गर्नमा बन्देज नै लगायो । यसले दृश्यचित्रमा केही हदसम्म काम गरे पनि शब्दचित्रमा ? 

युट्युबरहरुले ‘भ्यजु’ बढाएर पैसा कमाउने होडमा जस्ता सामग्री पनि पोस्ट गरिरहेको हामी देख्छौँ । बग्रेल्ती देखिएका युट्युबरहरुको प्रतिस्पर्धा नै चलेको छ, आफ्नो कन्टेन्ट बिकाउने । सञ्चारकर्मीले पालना पर्ने आधारभूत आचार संहित पनि उनीहरुले पालना गरेको देखिँदैन ।

केही युट्युब च्यानलहरूले बलात्कृत महिलालाई पर्दामा ल्याएर कसरी बलात्कार भयो भनेर समेत सोधिरहेका छन् । मानौं उनीहरु नै न्यायिक निकाय हुन् । यति मात्र होइन, कसैको घरका आन्तरिक कुराहरु बाहिर ल्याएर दर्शक वा पाठकसँग मोलमोलाई गरिरहेका छन् । अरुको चरित्र हत्या हुने गरी भिडियोहरू बनाइरहेका छन् ।

त्यसैले अब युट्युबलाई मोनिटर गर्नु पर्ने कुरा उठिरहेको छ । युट्युबलाई एउटा प्रभावकारी ढंगले मनिटरिङ गर्न सक्ने निकाय स्थापना हुनुपर्छ भनेर बहस सुरु भएको छ ।

यहाँनेर बुझुपर्ने अर्को कुरा पनि के हो भने ती कन्टेन्टहरु नै सबैभन्दा धेरै हेरिन्छन् । भन्नुको अर्थ दोष युट्युबरहरुको मात्रै होइन, त्यस्ता कुरा खोजिखोजी हेर्ने हामी अझ धेरै दोषी छौं समीक्षा गर्नै पर्ने भएको छ । नकारात्मक विषय फैलाउने कुनै भिडियो अपलोड हुनुपर्छ त्यो केही मिनेटमै भाइरल बनिहाल्छ, केही घण्टामै त्यस्ता भिडियोले लाखौँ भ्युज पाइहाल्छन् ।

आखिर किन, सामाजिक सञ्जाल प्रयोगकर्ताहरु नकारात्मक कुराप्रति उत्सुक छन् ?

समाजशास्त्री डा. टीकाराम गौतम यसो हुनुको प्रमुख कारण होम्रो चेत र स्कुलिङलाई मान्छन् । ‘हामी अधिकांशको स्कुलिङ समालोचनाभन्दा ओलोचनामा बढी भएको छ,’ गौतमले फरकधारसँग भने, ‘हाम्रो समाजमा सकारात्मकभन्दा नकारात्मक कुराले बढी स्थान पाउँछ, आफ्नो नकारात्मक कुराभन्दा अरुको गल्तीलाई बढी ध्यान दिइन्छ ।’

मानवशास्त्री तथा अनुसन्धानकर्ता सुनील पौडेल पनि सहमत छन्, गौतमसँग । ‘हामी कुन पृष्ठभूमिबाट आएका हौं वा हाम्रो सामाजिकीकरण कसरी भएको छ भन्ने कुराले नै हामी के हेर्न, सुन्न, पढ्न, मन पराउँछौँ भन्ने निर्धारण गर्छ । हाम्रो समाजमा मुलभूत रुपमा आशावादीभन्दा निराशावादी, सकारात्मकभन्दा नकारात्मक कुराहरु बढी छन्,’ पौडेलले भने । यही कुरा हामीले सामाजिक सञ्जालमा हेर्ने सन्दर्भमा ठ्याक्कै लागु भएको उनको तर्क छ । यसलाई अझ प्रष्ट पार्न पौडेलले सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेका दुई घटनालाई उदाहरणका रुपमा लिए ।

‘केही दिन यता सुर्खेतमा आफ्नै छोरासँगको यौनसम्पर्कबाट बच्चा जन्माएकी एक आमा र छोराको घटना, रत्नपार्कमा भोकाहरुलाई निःशुल्क खाना खुवाइरहेका विभिन्न संघसंस्थाका कुराभन्दा धेरै चर्चामा छ, पौडेल उदाहरण दिन्छन्, ‘सुर्खेतको घटनालाई लिएर मान्छेहरु धेरै सिरियस छन्, आमाछोरालाई सबैले गाली गरिरहेका छन्, तर भोकाहरुलाई खाना खुवाउने कुरामा धेरैको मतलव छैन ।’

परपीडामा रमाउने केही मान्छेहरु अरुलाई गाली गरेर, नकारात्मक कुरा हेरेर, त्यसमा प्रतिक्रिया जनाएर, त्यसलाई सेयर गरेर पनि खुसी हुन्छन् । उनीहरु त्यस्ता कन्टेन्ट खोजी खोजी हेर्ने तर्फ केन्द्रित हुने पौडेल बताउँछन् ।

हाम्रो घर, समाज, परिवेश त छँदै छ हाम्रा स्कुल र विश्वविद्यालयले समेत समालोचनाभन्दा आलोचना गर्न बढी सिकाएको डा. गौतमको निष्कर्ष छ । ‘हामीलाई सकारात्मक र आशावादी दृष्टिबाट हेर्न सिकाइएको भए सायद यति निराशावाद र नकारात्मक विषयले स्थान पाउने थिएन ।’

नेपालमा सामाजिक सञ्जाललाई नियमन गर्ने प्रभावकारी निकाय नहुनाले पनि सञ्जालमा नकारात्मक कुरा बढी प्रसारित भइरहेको पौडेल मान्छन् । ‘घरभित्र बसेर मान्छेले बेफिक्री गाली गर्न पाइरहेका छन्,’ उनी भन्छन्, ‘उनीहरुलाई गाली नगर भन्ने पनि कोही छैन ।’

  • प्रकाशित मिति : भदौ २४, २०७७ बिहीबार १:३९:७,   अन्तिम अपडेट : भदौ २५, २०७७ बिहीबार १६:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
विश्वम्भर प्याकुरेल, अर्थशास्त्री
 |  २ कात्तिक, २०७७
मल्टिमिडिया