अमेरिकाले खारेज गर्यो एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा

आफ्नो देशप्रति खतराको कारण देखाउँदै अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द गरेको छ । अनुसन्धानकर्ताहरूले ती विद्यार्थीबाट अमेरिकाका लागि खतरा रहेको औँल्याउँदै प्रतिवेदन दिएका थिए । 

सन् २०१८–१९ मा झन्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए । तीमध्ये एकहजारहाराहारी को भिसा रद्द गरिएको हो । 

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुरूप यस्तो निर्णय आएको हो । 

मे २९ को घोषणामा उनले अमेरिकाबाट संवेदनशील प्रविधि र बौद्धिक सम्पत्ति हात पार्न चीनले एउटा अभियान नै सञ्चालन गरेको आरोप लगाएका थिए । त्यसका लागि चिनियाँ विद्यार्थीहरू प्रयोग गरिएको अमेरिकाको दाबी छ। 

ट्रम्पले चिनियाँ नागरिकले अमेरिकाको डेटा र बौद्धिक सम्पत्ति चोरेको दाबी गर्दै उनीहरुमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए । अमेरिकी सरकारको यस निर्णयका विषयमा चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, अमेरिकामा अध्ययनरत केही चिनियाँ विद्यार्थीले विश्वविद्यालयमा आफूहरूलाई शंकाको भावले हेर्ने गरिएको बताएका छन् ।

यद्यपि, अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताले चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य प्रभुत्वको लक्ष्यलाई समर्थन नगर्ने वैधानिक विद्यार्थी र विद्वान्‌हरूलाई चीनबाट आउन दिइरहेको बताएकी छिन् । 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार २०:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया