बैंक अफ काठमाडौं (बिओके)मा ४ वर्ष यताको कर्मचारी विवाद अहिले पनि कायमै छ । चार वर्षअघि लुम्बिनी बैंकसँग मर्जर भएपछि सुरु भएको कर्मचारी व्यवस्थापन विवाद अब झन् बढी उग्र रुप लिँदै गएको छ ।
फरकधारलाई प्राप्त विभिन्न डकुमेन्टहरुको आधारमा बैंक अफ काठमाडौंमा केही समय यता मात्र उच्च पदमा रहेका १३ भन्दा बढी कर्मचारी बर्खास्तगीमा परेको पुष्टि हुन्छ । यसरी बर्खास्तगीमा पर्ने कर्मचारीहरुको एउटै आरोप छ– बैंकका सिइओ शोभनदेव पन्तले देखाएको विभेदका कारण बैंक अफ काठमाडौंमा कर्मचारी व्यवस्थापन विवाद झन् चर्किँदै गएको हो ।
लुम्बिनी बैंक र बैंक अफ काठमाडौं मर्जर भएपछि सिइओ बनेका अजय श्रेष्ठले तत्कालीन सन्चालकसँगको विवादपछि ५ महिनामा राजीनामा दिएका थिए । त्यसपछि सिइओ बनेका शोभनदेव पन्तले कर्मचारीहरुमाथि निकै विभेद गरेको आरोप पीडित कर्मचारीहरुले लगाउँदै आएका छन् ।
पन्तलाई मन नपरेकाले वा पन्तले गर्न खोजेका कामबारे प्रश्न सोधेकै कारणले मात्र उनले बैंकबाट कम्तिमा पनि १० जना कर्मचारीलाई राजीनामा दिन बाध्य पारेका छन् । राजीनामा माग्न नसकिएका केही कर्मचारीलाई उनले दुर्गम सरुवा गर्ने हतियार प्रयोग गर्न थालेका छन् ।
याे पनि पढ्नुहाेस्:
कानुनतः कर्मचारीले गरेको काम मन नपरेको खण्डमा सुरुमा स्पष्टिकरण सोध्ने गरिन्छ । तर, बैंक अफ काठमाडौंमा सिइओ पन्तले सोझै कर्मचारीलाई सरुवा गर्ने गरेका छन् ।
‘उहाँले आफूलाई मन नपरेका कर्मचारीलाई बर्खास्त गर्न हिटलर शैली अपनाउनु भएको छ,’ केही समयअघि मात्र बर्खास्तगीमा परेका बिओकाका पूर्वकर्मचारीले भने, ‘अहिले उहाँविरुद्ध राष्ट्र बैंकदेखि श्रम अदालतमा केही उजुरी परिसकेका छन्, बैंकको नियमविना उहाँहरुले यस्तो काम गरिरहनु भएको छ ।’
बैंकका सिइओ शोभनदेव पन्तले अहिले बैंकको व्यवस्थापनलाई पनि आफ्नो ‘हात’मा लिएको धेरैको बुझाइ छ । उनीहरुसँग मिलेर नै यसअघिका सिइओ अजय श्रेष्ठलाई फर्जी धितोमा ऋण दिएको मुद्दा लगाउनुमा पनि पन्तकै हात रहेको बिओकेमा कार्यरत एक कर्मचारी बताउँछन् ।
पछिल्लो समय अनाहक र बारम्बार कर्मचारीहरुलाई निकाल्न थालेपछि चैतको पहिलो साता बैंकविरुद्ध श्रम अदालतमा समेत उजुरी परेको थियो । आफूलाई अनाहकमा निकालिएको भन्दै उजुरी दिन पुगेका कर्मचारीले त्यहाँ यो मुद्दा जितिसकेका छन् । तर, बैंकमा कार्यरत कर्मचारीलाई निकाल्न खोजेका पन्तले यो मुद्दालाई सर्वोच्चमा लैजान व्यवस्थापनलाई समेत बाध्य पारेका छन् ।
देश अहिले कोरोनाभाइरस महामारीका कारण आक्रान्त छ । यहीबीच देशमा आर्थिक संकट देखिन थालेको छ । अन्य संस्थाहरुले कर्मचारी कटौती सुरु गरे पनि तुलनात्मक रुपमा बलियो मानिएको बैंकहरुमा कर्मचारी सुरक्षित महसुस गरिरहेका छन् ।
तर, बैंक अफ काठमाडौंमा यहीबीचमा केही कर्मचारी निकालिएको छ । र, यो पनि बैंकका सिइओ शोभनदेव पन्तको मनपरीका कारण ।
बैंकबाट निकालिएका एक कर्मचारीले आफूहरुले सिइओविरुद्ध विभिन्न संस्थामा उजुरी दिएको समेत बताएका छन् । ‘पछिल्लो समय बैंकले गरेको मनपरीका कारण हामीले सिइओविरुद्ध उजुरी दिएका छौँ,’ बैंकबाट बर्खास्तगीमा परेका एक कर्मचारीले भने, ‘जो अहिले बैंकमा छन् र पहिले बैंक अफ काठमाडौंबाट आएका हुन्, उनीहरु निकै प्रताडित छन् ।’
बैंकका पीडित कर्मचारीले नेपाल राष्ट्र बैंकमा समेत आफूहरुमाथि भएको अन्यायविरुद्ध उजुरी दिएका छन् । तर, पन्तले राष्ट्र बैंकका कर्मचारीसँग पनि ‘सेटिङ’ मिलाउन प्रयास गरेको एक बैंकका कर्मचारीले बताए ।
उता, राष्ट्र बैंकले १२ साउनमा बैंक अफ काठमाडौंबाट बर्खास्तगीमा परेका कर्मचारीको उजुरी आएको स्वीकार गरेको छ ।
राष्ट्र बैंकका सुपरिवेक्षण विभागमा कार्यरत एक अधिकारीले फरकधारलाई बताएका छन्, ‘यो विषयमा मूलतः बैंककै जिम्मेवारी हुन्छ । तर, हामीकहाँ उजुरी आइसके पछि हामीले पनि यस विषयमा छानबिन गर्न थालेका छौँ ।’
बैंक अफ काठमाडौं पन्त सिइओ भएपछि उनले बैंकको मर्जरअघि बैंक अफ काठमाडौंको विभिन्न पदमा रहेका कर्मचारीहरुलाई निकालेका छन् । यीमध्ये नेपालगन्जका शाखा प्रबन्धक हरिश बडु, खैरेनीटारकी शाखा प्रबन्धक दीपा केसी, खैरेनीटारकै प्रकाश न्यौपाने, कानुन विभागका प्रबन्धक सुदिप पौडेल, सहायक महाप्रबन्धक पुष्पराज भण्डारीलगायत छन् । उच्च पदमा पुगेका यी कर्मचारी निकाल्नका लागि पन्तले उनीहरुलाई सरुवा गर्नेदेखि लिएर आफ्नै कार्यकक्षमा बोलाएर राजीनामा दिन बाध्य पारेको समेत गुनासो उनीहरुले गरेका छन् ।
त्यस्तै, डिजिएम प्रवीन प्रकाश क्षेत्री, चेतन बरसिं थापा, सिनियर म्यानेजर आनन्द पाण्डे, म्यानेजरहरु विज्ञान घिमिरे, गणेश लम्साल, आराधना मल्ल, विष्णु चालिसेलाई पनि सिइओ पन्तले अनावश्यक दुःख दिएर बैंकबाट राजीनामा दिन बाध्य पारेका छन् ।
‘हिजो बैंक अफ काठमाडौं हुँदा र त्यसलाई थप बलियो बनाउनका लागि हामीले दिनरात मेहनेत गरेका थियौँ,’ बर्खास्तगीमा परेका एक कर्मचारीले भने, ‘आज कुनै कारणविना बैंकका सिइओ पन्तले हामीलाई राजीनामा दिन बाध्य बनाएका छन्, जागिरबाट निकालेर बैंकमा एकलौटी गर्न खोजेका छन् । उनीविरुद्ध हामी अब कानुनी लडाइँमा गइसकेका छौँ । एउटा बैंकको सिइओले हिटलरशैली अपनाउन पाउँदैन ।’
बैंक अफ काठमाडौंमा कर्मचारी बर्खास्तगीका लागि पछिल्लो समय केही नियमावलीहरुमा पनि हेरफेर गरिएको प्रमाण फरकधारले पाएको छ । यस विषयमा फरकधारमा थप फलोअप समाचार प्रकाशन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।