अमेरिकी राष्ट्रपतिले भने- ‘टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन’
फरकधार / २६ भदौ, २०७७

अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेसनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त एप्समाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी दिएका हुन् । 

उनले ती एप्सहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको बिहीबार जानकारी दिएका हुन् । अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन, राष्ट्रपति ट्रम्पले भने । 

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको सूचीमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय बनेको छ । अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले अमेरिकाले ती एप्लिकेसनमा प्रतिबन्ध लगाउने भनी तोकेको तारिख पछि नसारिने जानकारी दिएका हुन् ।

टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ ।  यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् । 

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छ । यसअघि चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।

  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १३:२७:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया