भरतपुरमा कोरोना संक्रमितका लागि खुल्यो प्लाज्मा बैंक

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना संक्रमितका लागि प्लाज्मा बैंक स्थापना गर्ने तयारी गरेको छ । केन्द्रले हाल चार जना निको भएका संक्रमितको रगत संकलन गरी प्लाज्मा बनाएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ । बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्तसमूहको दुई प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ । यसअघि दिइएको दुई युनिट प्लाज्मा ‘बी’ समूहको थियो । मानिसको शरीरमा ‘ए’, ‘बी’, ‘ओ’ र ‘एबी’ समूहको रगत चढाइन्छ ।

चारवटै रक्तसमूहको कम्तीमा पाँच युनिटका दरले प्लाज्मा तयार गरी बैंकको रूपमा राख्न लागिएको पौडेलले जानकारी दिए । यसका लागि केन्द्रले प्रक्रिया अघि बढाइसकेको छ । चितवन र आसपासका जिल्लामा निको भएका सङ्क्रमित खोजी गरी केन्द्रले नै सवारी साधनको व्यवस्था गरेर रक्तसञ्चार केन्द्र ल्याउने भएको छ । उनीहरुलाई केही समस्या भएमा यहीँ उपचार गर्न सकिने भएकाले केन्द्रमै रगत सङ्कलन गर्न लागिएको हो ।

सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनदेखि ४५ दिनभित्र रगत संकलन​ गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जली अस्पतालमा गम्भीर अवस्थाका संक्रमितको उपचार हुँदै आएको छ ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड र प्लाज्मा थेरापी निर्देशिकामा गरिएको व्यवस्था एक आपसमा बाझिँदा प्लाज्मा तयार गर्ने रक्तदाताको पहिचान कठिन भएको छ । प्लाज्मा थेरापीमा स्पष्ट नीति नहुँदा प्लाज्माका लागि रगत संकलन​मै समस्या भएको पौडेलको भनाइ  छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १३:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया