नेकपाको बैठक सकियो, पार्टी सञ्चालनको कार्यकारी अधिकार दाहाललाई, ओली सरकार सञ्चालनमा केन्द्रित
नेता कार्यकर्तालाई कडा निर्देशन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । अध्यक्षद्वयको प्रतिवेदन पारित भएसँगै दुई अध्यक्षको कार्यविभाजन पनि भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले नेकपाको आन्तरिक विवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको हो । 

बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने र अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारले दैनिक कामकारबाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्त्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेछ । पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ । बैठकले एमसिसिका बारेमा भने अझै निर्णय गर्न सकेन । बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिएर प्रतिक्रियावादीलाई जवाफ दिइएको बताएका थिए ।

पारित प्रस्तावअनुसार नेकपाका नेतादेखि साधरण सदस्यसम्मलाई कडा अनुशासनमा बाँधिन निर्देशन जारी गरेको छ । जसअनुसार अब नेकपाका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा आफ्ना कुरा लेख्दा समेत सोच्नुपर्नेछ । सामाजिक सञ्जाललाई आफ्नो कुण्ठा पोख्ने थलोका रूपमा विकास हुन लागेपछि त्यस्तो निर्देशन ल्याइएको अध्यक्षद्वयले बताएका छन् । पछिल्लो समय नेकपाका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टी, पार्टी नेता, सरकारविरुद्ध जथाभावी कुण्ठा पोख्दै आएका थिए । 

गएको असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठकको सुरुआतमै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएपछि विवाद उत्कर्षमा पुगेको थियो । विवाद बढ्दै जाँदा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।



पछिल्लो पटक गत साउन १३ गते तय गरिएको बैठक अध्यक्ष ओलीले एकलौटी ढंगले स्थगित गरेपछि विवादले उग्र रुप लिएको थियो । सोही दिन अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको २९ सदस्य सहभागी बैठकले ओलीसँग छलफल गरेर पार्टीको विवाद समाधान गर्न भन्दै अध्यक्ष प्रचण्डलाई जिम्मा दिएपछि नेकपाको स्थायी कमिटी अनिश्चित कालका लागि स्थगित गरिएको थियो । 

यसबीचमा पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गरेका थिए । उक्त कार्यदलमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका थिए ।



कार्यदलले एक साता गृहकार्य गरेर प्रतिवेदन बुझाएपछि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रूप दिएका थिए । उक्त प्रस्तावलाई शुक्रबार बसेको बैठकले सर्वसम्मत रूपमा पारित गर्दै बैठक सम्पन्न भएको हो । अध्यक्षद्वयको प्रस्ताव पारित भएसँगै झन्डै झन्डै विभाजनको तहसम्म पुगेको नेकपाको आन्तरिक कलह हालका लागि साम्य भएको छ । 

  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १७:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया