नेकपा फुटाउन देशीविदेशी प्रतिक्रियावादी लागेः प्रधानमन्त्री ओली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन देशीविदेशी प्रतिक्रियावादी शक्ति लागेपनि अन्नतः असफल भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् । 

उनले नेकपालाई एक ढिक्का राख्दै स्थायी कमिटी बैठक समापन गर्नु नै फुटाउन खोज्ने विदेशीलाई सटिक जवाफ भएको प्रतिक्रिया दिए । नेकपालाई कमजोर बनाएर मुलुक नै बर्वाद पार्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिको अनेकन प्रयासलाई सबै नेता कार्यकर्ता मिलेर असफल बनाएको ओलीको निश्कर्ष थियो ।

बालुवाटारमा शुक्रबार भएको स्थायी कमिटी बैठकको सुरुमै आफ्नो धारणा राख्नेक्रममा प्रधानमन्त्री ओलीले सबैको भावनाअनुसार सहमति बनेको र यही भावनाअनुसार अघि बढने बताएको बैठकपछि पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा ओलीले स्थायी कमिटी बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको बताए ।

‘यो बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको छ । नयाँ उचाइको एकता र संकल्पसहित सकारात्मक ढंगले निकाश निकाल्ने विश्वास छ’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिले पार्टीलाई कमजोर बनाउन र तोडफोड गर्ने जो चाहाना राखेका थिए, त्यो असफल बनाउन बैठक सफल भएको छ । बैठक सम्पन्न हुनु नै उनीहरुलाई सटिक जवाफ हो ।,’ 

बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको १५ बुँदे प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यस्तै एमसीसी नेपालको हितमा अधिकतम परिमार्जन गर्दै अनुमोदन गर्ने निर्णय समेत बैठकले गरेको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार २०:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया