पदीय भागवण्डाले गराएको नेकपा ‘युद्धविराम’ अहिलेलाई टर्‍यो कि सर्‍यो ?
तस्वीर: प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले झन्डै ६ महिनापछि एउटै मन्चबाट एउटै भाषा बोलेका छन् । यी दुवै नेताले शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै यसपटक पनि आफ्नो पार्टी फुटाउन भएका प्रयास असफल भएको बताएका हुन् । अनि दुवैले यही सम्बोधनमा दाबी गरेका छन्– प्रतिक्रियावादीहरुले पार्टी फुटाउने प्रयास गरेका थिए, असफल भयो ।

ओली र प्रचण्डबीच लामो समय यता नै लभ एन्ड हेटको रिलेसन रहेको छ । कुनै समय यी दुईले एकअर्कालाई विभिन्न मन्चहरुमा चर्को र तिखो आलोचना गर्ने गरेका थिए । तर, जब यी दुईले नेतृत्व गरेका दुई पार्टीको एकता भयो, उनीहरुबीचको कटुता क्षणिकजस्तो महसुस नेकपाकै अन्य नेता तथा कार्यकर्ताले गर्न थालेका छन् ।

हुन पनि ८ वैशाखमा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि चर्किएको नेकपा विवाद यसपटक पनि युद्धविरामको अवस्थामा पुगेको छ । र, यो युद्धविरामका लागि नेकपाका यी दुई अध्यक्षबीच पदीय भागवण्डा भएको छ, जिम्मेवारीको विषयमा हेरफेर गरेपछि दुवै जना समझदारीमा पुगेका छन् ।

८ वैशाखमा आफ्नै जोडबलमा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याएर राष्ट्रपतिबाट पारित गर्न लगाएपछि नेकपा सचिवालयमा उनी एक्लिएका थिए । ९ सदस्यीय सचिवालयमा उनको पक्षमा ३ जना मात्र देखिएका थिए । त्यति बेला ओलीले आत्मोलचना मात्र गरेनन्, अध्यादेश फिर्ता समेत लिएर आफूसँग रिसाएका नेकपा नेताहरुलाई एउटा थान्कोमा राखे । यसअघि यस्तै विवाद बढ्दै जाँदा ओलीले प्रचण्डलाई ‘कार्यकारी अध्यक्ष’ भनेर विवाद थामथुम पारेका थिए ।

त्यति बेलादेखि सुरु भएको नेकपा विवादको जड थियो, प्रचण्ड र माधव नेपाल समूहले ओलीले पार्टीमा विधि र विधान मिचेको, पार्टीसँग सरसल्लाह नगरि मनपरी ढंगमा सरकार चलाएको आरोप । 

तर, अहिले आएर यी आरोपमाथि केही पनि छलफल भएन । पार्टीमा पदीय भागवण्डा लगाएर अहिले यी दुई अध्यक्षले पार्टीको विवाद मिलेको र पार्टी एक भएको सन्देश कार्यकर्तालाई दिएका छन् । असारमा सुरु भएको नेकपा स्थायी कमिटीको बैठक यही म्यान्डेट लिएर अन्त्य पनि भएको छ । विवादको बीचमा यो बैठक ७९ दिन लगाएर सकिएको छ ।



बैठकमा माधव नेपाल समूहले आफ्ना रिजर्भेसन राखेकै छ । तर, अहिले तत्काललाई पार्टीमा देखिएको विवाद अन्त्य भएको प्रतिक्रिया नेताहरुले दिन थालेका छन् । 

एकातिर नेकपाका नेताहरुले पार्टी विवाद अब समाधान भएको प्रतिक्रिया दिएका छन् भने अर्कोतिर प्रश्न पनि जन्मिएको छ– के यो विवाद नेकपामा टरेको हो कि अहिलेलाई सरेको मात्र हो ? 



यो विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्षले अगाडि सारेको अस्त्र हो– महाधिवेशन । नेकपामा ओली र प्रचण्डनिकट केही नेताहरु महाधिवेशन चैतमा गरिने सहमति भए पनि यो असम्भव भएको र फेरि यस्तै विवादले नेकपालाई घेर्ने विश्वास गर्छन् । 

त्यसो त स्थायी कमिटी बैठकमा नै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि चैतमा महाधिवेशन हुनसक्ने सम्भावना आफूले नदेखेको बताएका थिए । त्यसैले महाधिवेशन हुन नसक्ने माहोल बढ्दै जाँदा फेरि एकपटक नेकपामा विवाद देखिने सम्भावना बढ्ने विश्वास केही नेकपा नेताहरुको रहेको छ ।

‘हामीले जुन तरिकाले पार्टीलाई चलाएका छौँ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारसँग भनेका छन्, ‘यसले हेर्दा लाग्छ, नेकपामा विवाद अब कहिल्यै समाधान हुँदैन । कम्तिमा पनि महाधिवेशनले नयाँ नेतृत्व नल्याएसम्म नेकपामा विवाद समाधान हुने सम्भावना कम देखिन्छ । यस्तो हुनुमा नेताहरुबीच शक्ति भागवण्डा नै प्रमुख कारण रहेको छ ।’

  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार ७:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया