बागलुङमा एउटा कुखुराको चल्लाको मूल्य २५ सय !

बागलुङमा एउटा कुखुराको चल्लाको मूल्य २५ सय तोकिएको छ । महिना दिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार मूल्य तोकिएको हो । 

बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार उनको फार्ममा स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन् । आयातीत प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन् ।

दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित । सबै गर्दा सङ्ख्या सात सय बढी छ ।

यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ । कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उनी बताउँछन् । ‘बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ,’ उनले भने । सापकोटाकाले व्यावसायिक रुपमा चल्ला उत्पादन गरेर बेच्ने ध्येयले विदेशी प्रजातिका कुखुरा पालेका हुन् । फार्ममा चल्ला निकाल्ने ह्याचरी पनि छ । ‘मासुका लागिभन्दा पनि चल्ला बेच्ने उद्देश्य हो,’ उनले भने, ‘काठमाडौँ, पोखरालगायतका ठाउँमा यी कुखुराको बढी माग छ ।’

महिना दिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार पर्ने उनको भनाइ छ । यस्तै दुई महिनाका जापानिज बेन्टम कुखुराको जोडीलाई चार हजार पर्छ । ‘यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्,’ उनले भने । स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाई र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ ।

भारतीय जातको कडकनाथ प्रतिकिलो दुई हजारसम्म बेचेको सापकोटाले सुनाए । कडकनाथको अण्डासमेत महँगोमा बिक्री हुन्छ । यो कुखुरा स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ ।



पछिल्लो समय बट्टाई पनि मासु र अण्डाका लागि व्यावसायिक रुपमा पाल्न थालिएको छ । यसको मासु र अण्डालाई शक्तिबर्द्धक मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विश्वास गरिन्छ । ‘बट्टाइ तीन सय, चल्ला ५० र अण्डा १० मा बिक्री भइरहेको छ,’ सापकोटाले भने, ‘एकदिने टर्कीको चल्लालाई भने तीन सय ५० पर्न जान्छ, मासुका लागि बेच्दा पनि महँगो छ ।’ 

बट्टाई पाँच हप्तापछि मासुका लागि प्रयोग गर्न योग्य हुन्छ । दुई वर्षसम्म बाँच्ने बट्टाइले झण्डै तीन सयसम्म अण्डा दिने गर्छ । त्यसपछि भने पोथी बट्टाईलाई पनि मासुका रुपमा बेच्न सकिने उनले बताए । उनले सुरुमा काठमाडौँ र पोखराबाट चल्ला ल्याएर पन्छी पालन थालेका हुन् ।



  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १९:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया