महासंघले देउवालाई भन्यो– ‘उद्योग व्यवसाय सञ्‍चालनका लागि पहल गरिदिनुहोस्’

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्थाका लागि सरकारसँग पहल गरिदिन आग्रह गरेको छ ।

सभापति देउवालाई आइतबार ज्ञापनपत्र बुझाउँदै महासंघले कोरोना भाइरसबाट जोगिने आवश्यक सुरक्षा सतर्कता अपनाएर उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्थाका लागि सरकारसँग पहल गरिदिन आग्रह गरेको हो ।

अध्यक्ष नरेश कटुवालको नेतृत्वमा बूढानीलकण्ठ पुगेर महासंघको टोलीले ज्ञापन पत्र बुझाएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

उनकाअनुसार ज्ञापनपत्रमा लकडाउन तथा निषेधाज्ञा अवधि भरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने, उक्त अवधिको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनुपर्ने पनि व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

महासंघले मासिक भ्याट तथा अन्य कर तिर्ने समयावधि थप गरी विलम्ब शुल्क तथा जरिवाना छुट हुनुपर्ने, उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो पाँच प्रतिशत ब्याजदरमा ऋणको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको देउवाले जानकारी दिए ।

महासंघले केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल–सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कूटनीतिक पहल गर्दै नाकामा आवात–जावतका लागि व्यवसायी र चालकलाई सहज पासको व्यवस्था मिलाइदिन र नाकाहरुमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारसँग पहल गरिदिन पनि आग्रह गरेको छ । 



मौद्रिक नीतिमा भएको पुनर्कर्जा उद्योगीहरुले मात्रै पाउने व्यवस्थालाई सहज बनाएर व्यापार–व्यवसायहरुलाई पनि दिनुपर्ने र कोरोनाका कारण शिथिल भएको उद्योग–व्यवसायहरुको समस्या समाधानका गर्न निजी क्षेत्र र सरकार स्तरको समन्वय समिति बनाउनुपर्ने पनि माग महासंघले गरेको छ ।

 



 

 

 

  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १७:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया