कोरोना महामारीमा परिवारसँग गुणस्तरीय समय बिताएँ : शिवहरि

नेपाली हास्यकला क्षेत्रका चर्चित हस्ती हुन्, शिवहरि पौडेल । उनी जति सजिलोसँग अभिनय गर्छन् त्यति नै गम्भीर लेखन र निर्देशन पनि गर्छन् । उनको निर्देशन तथा कथामा बनेको चलचित्र ‘लक्का जवान’ प्रदर्शन हुनै लाग्दा कोरोनाको चपेटामा थलियो । चैत्र २१  प्रदर्शन मिति तोकिएको चलचित्र रोकियो ।

लकडाउनले शिवहरिलाई पारेको सबैभन्दा ठूलो प्रभाव यही नै हो । सुरुका दिनमा उनलाई यो कोरोना माहामारी कहिले सकिएला भन्ने चिन्ताले सताइरहन्थ्यो । बिस्तारै अभ्यस्त हुने प्रयासमा लागे । यही प्रभावबाट उत्पन्न तनावलाई व्यवस्थापन गर्न लक डाउन अवधिभर उनी घरमा केही न केही काममा लागि रहे । 

जागिर र कला क्षेत्रमा एकै साथ हिँड्दा २५ वर्षयता घर र परिवारलाई समय दिनै नपाएका उनलाई लकडाउनले राम्रो अवसर जुटाइदियो । उनले घर बनाएकै पनि १९ वर्ष बितेछ, बल्ल धितमर्ने घरसँगको सामीप्य अनुभव गर्न पाएँ, उनी भन्छन् । कोठाचोटा र भान्साले लकडाउनको समय बितेको उनलाई पत्तै भएन । उनले यो समय भान्सा कोठाको भरपुर उपयोग गर्न भ्याए । जीवनका भागदौडबीच लकडाउने परिवारसँग गुणस्तरीय समय बिताउँने अवसर दिएको उनको अनुभव छ ।

उनले सुनाएँ, ‘लकडाउनमा मलाई मनपर्ने पकौडा, चटपटे, आलुचप, पुरी तरकारी बनाएर खुब खाएँ र परिवारलाई पनि खुवाएँ ।’ त्यसो त शिवहरिलाई परिवारसँग किचेन सेयर गर्न खुब मनपर्छ । उनले लकडाउनमा मात्र भान्सामा काम गरेका होइनन् । शिवहरिलाई घिरौ‌ला र फर्सीको तरकारी मिठो पकाउँन आउँछ । उनी गुन्द्रुक र भटमासको अचार धेरै मिठो बनाउँने सुनाउँछन् । उनले लकडाउनमा खसीको मासुलाई ग्रेभी बनाएर नजिकैका साथीहरूलाई समेत खुवाएका थिए ।

फर्सदको समय उनी सामाजिक सञ्जालमा पनि अल्मलिए । उनले हलमा गएर हेर्न नभ्याएका र युट्युवमा भएका धेरै नेपाली चलचित्र हेरे लकडाउनको यो अवधिमा हेर्न भ्याए । उनी भन्छन्, ‘धेरै समय फेसबुकमा बिताउँदा नयाँ र राम्रा प्रतिभा भएका मानिसहरू देखें । कति धेरै प्रतिभा त यत्तिकै लुकेर बसेका हुँदा रहेछन् भन्ने पनि लाग्यो । मान्छेहरूले फेसबुकमा सेयर गरेको मिमलाई हेरेर पनि रमाइलो लाग्यो । कस्तो हसाउँने जोक्सहरू पनि बनाउँदा रहेछन् भन्ने पनि यही समयमा थाहा पाएँ । उनले टिकटक बनाउन पनि लकडाउनमा नै सिकेका हुन् । शिवहरिलाई पहिला यी मान्छेहरूले के टिकटक बनाइरहेका होलान् जस्तै लाग्थ्यो । तर, लकडाउनमा मनोरञ्जनको एक साधन टिकटक पनि हो रहेछ है भन्ने निष्कर्ष निकालेका छन् । उनले सायलीन श्रेष्ठको आवाजमा बनाएको टिकटक भाइरल भएको छ । उक्त टिकटक लगभग ५ लाखले लाइक गरेका छन् । 

शिवहरिले आफ्नो जीवनको २० वर्ष नेपाल राष्ट्र बैङ्कको डेपुटी म्यानेजरका रूपमा बिताए । उनले राष्ट्र बैङ्कको जागिर छोडेको अहिले ५ वर्ष भइसकेको छ । तर, कोरोना माहामारीको समयमा घरमा बस्दा उनलाई बैङ्कमा जागिरे हुँदाको सम्झना आइरहन्थ्यो । उनी सम्झिन्छन्, ‘कति व्यस्त थियो त्यो जागिरे जीवन । आफैंलाई दिने समय पनि हुँदैनथ्यो । जीवन एउटा बन्धनमा बाँधिएको जस्तै थियो । दश पाँचको जागिर अनि बिहान बेलुका चलचित्र र टेलिचलचित्रको सुटिङ हुन्थ्यो । अहिले जागिर छोडेपछि हलुका महसुस गर्छु । तर, अझ पनि नेपाल राष्ट्र बैङ्क भनेको सुन्दा, टिभीमा समाचार हेर्दा त्यो त आफ्नै संस्था हो नि जस्तो लाग्छ । राष्ट्र बैङ्कको जागिर मेरो जीवनको एकदम महत्त्वपूर्ण पाटो थियो ।’



उनले रमाइलो प्रसङ्ग सम्झिए, ‘बैङ्कमा जागिरे हुँदा शनिबार हो भन्ने समेत ख्याल हुँदैन थियो । कति पटक शनिबार अफिस जान तयार हुँदा श्रीमतीले आज बिदा हो नि भनेर सम्झाउँथिन् ।’

अब दोस्रो चरणको लकडाउन भइसक्दा शिवहरिलाई कोरोना भाइरसलाई गलत तरिकाले व्याख्या गर्दै त्रास फैलाउने काम भइरहेको झै लाग्न थालेको छ । उनी भन्छन्, ‘कोरोना भाइरस त्यति भयानक छैन जस्तो लाग्छ, जति आम मानिसहरूले सोचेका छन् । डरले हामी यो भाइरससँग लड्न सक्दैनौं । शरीरको प्रतीरक्षा प्रणालीलाई बलियो बनाउँदै नियमित काम सञ्चालन गर्नुको कुनै विकल्प देख्दिन । नत्र कोरोनाले मर्लान् नमर्लान् भोकमरीले जनता अवश्य मर्नेछन् । जनता आफैँ पनि सचेत हुने हो भने महामारी केही हदसम्म नियन्त्रण हुने देख्छु म । सरकारलाई मात्र दोष लगाउनु पनि मूर्खता हो ।’



  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १६:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया