पहिरोका कारण पोखरा–बागलुङ सडक अवरुद्ध

शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ । 

सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भिर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत पर्ने सहस्रधारामा अवरुद्ध भएको हो ।

आइतबार पनि पहिरोले अवरुद्ध सडक साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो । आज सहस्रधारामा सडकमाथिबाट भेलसहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ । यातायात अवरुद्ध भएपछि आज बिहानैदेखि सवारी र यात्रु सडकमा नै अलपत्र परेका छन् ।

पहिरो खसिरहेका कारण सर्वसाधारण हिँडेरसमेत वारपार गर्न पाएका छैनन् । सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरण प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेकाले तत्काल काम सुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताए ।

चुवा, दोविल्लालगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उनले जानकारी दिए । कोरोना महामारीका कारण अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ ।  





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १९:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया