विवाद अन्त्यको घोषणा गर्दै ओली–प्रचण्डले जारी गरे १६ बुँदे अन्तर पार्टी निर्देशन
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले १६ बुँदे अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेका छन् । अब पार्टीभित्र कुनै विवाद नगर्ने भन्दै अध्यक्षद्वयले स्थायी कमिटी बैठकको निर्णय पार्टी कमिटीमा सर्कुलर गरेका छन् ।

अध्यक्षद्वय ओली–प्रचण्डले स्थायी कमिटीको पाँचौं बैठकलाई समाधानको विन्दु मानेर विवादमा नफर्कने अठोट समेत गरेका छन् । ‘पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौं बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यस प्रकारको अन्तर्विरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने,’ अध्यक्षद्वयले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ । 

उनीहरूले नेताहरूलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न समेत निर्देशन दिएका छन् । आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न परिपत्र गरिएको छ । गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन दिए, अनेकता, अराजकता, अनुशासनहीन र गुटबन्दीपूर्ण कार्य गरे अनुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधानबमोजिम कारबाही गर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

सबै कमिटीमा ३३ प्रतिशत अनिवार्य महिला

संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको छ । तर, संसदमा सबैभन्दा ठूलो दल तथा सत्तासञ्चालन दल नेकपाले भने आफ्नो पार्टी कमिटीमै त्यो कुरा लागु नगरेको भन्दै त्यसको पार्टीभित्रबाटै विरोध भइरहेको छ । नेकपाले निर्माण गरेको शक्तिशाली संरचना सचिवालय कमिटीमा ९ सदस्यमध्ये एक जना पनि महिला पर्न नसकेपछि त्यसको विरोध हुँदै आएको छ ।  

तर, नेकपाले सबै तहका कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ । पाँचौं स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्षद्वय ओली र प्रचण्डले तहगत कमिटीहरूमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुन परिपालना गर्ने उद्घोष गरेका छन् । पार्टीका महाधिवेशन, अधिवेशनहरूमा ३३ प्रतिशत महिला सहभागितालाई अनिवार्य गर्ने उल्लेख गरिएको छ । अपानिमा भनिएको छ, ‘सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागिता लगायतका राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनका मञ्चहरू मार्फत कार्यान्वयन गर्ने ।’



गुटबन्दी अन्त्य गर्न प्रतिष्ठानको नियमन

पछिल्लो समय नेकपाभित्र दिवंगत पार्टी नेताहरूका नाममा प्रतिष्ठान स्थापना गरेर पार्टी गुट चलाउने प्रचलन संस्थागत रूपमै मौलाएको छ । तर, अब नेकपाले उक्त कार्यलाई नियन्त्रण गर्ने भएको छ । प्रतिष्ठान खोलेर पार्टी नेतृत्वविरुद्ध बदख्याइँ गर्ने चलन बढेको भन्दै नेकपाले नियमन गर्ने भएको हो ।



ओली प्रचण्डले पठाएको अपानिमा पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा परिचालित संघ÷संस्थाहरूमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएको निष्कर्ष निकालिएको छ । निर्देशनले भनेको छ, ‘त्यस्ता संस्थाहरूमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरूप निश्चित गर्ने । सचिवालयले प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने ।

कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनै पनि प्रष्ठिानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने ।’

नेताविरुद्ध भ्रम फैलाए कारबाही

नेकपाले सामाजिक सञ्जाल वा अनलाइनमा रूपमा जथाभावी समाचार सम्प्रेषण गरेमा समेत कारबाही गर्ने भएको छ । अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्न नेकपा निर्देशन दिएको छ ।

अन्तरपार्टी निर्देशन–५ जारी गर्दै अध्यक्ष ओली–प्रचण्डले सञ्चारमाध्यमहरूमा पार्टी हीतविपरीतका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउन निर्देशन दिइएको छ । ‘वेभसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखापरेका पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने,’ निर्देशनमा भनिएको छ । 

चैत्रमा एकता महाधिवेशन

नेकपाले पार्टीको एकता महाधिवेशन आगामी चैत्रमा गर्ने सहमति गरेको छ । यो महाधिवेशन सहमतिमा गर्ने निचोड समेत निकालिएको छ । पार्टी एकताको भावना एवं मर्मअनुरूप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने नेकपाले निर्देशन दिएको छ ।

जारी अपानिमा भनिएको छ, ‘महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधानबमोजिम अवलम्बन गर्ने । महाधिवेशनबाट पार्टीका विचार, नीति, विधि, पद्धति एवं नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने ।

विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्त्वपूर्ण विषयका रूपमा ग्रहण गर्ने र तदनुरूप मस्यौदा दस्तावेजहरू तयार गर्ने । मस्यौदा दस्तावेजहरू तयार भएसँगै वैचारिक, नीतिगत तथा विधिगत विषयमा पार्टीव्यापी बहस, छलफल सञ्चालन गर्ने’, निर्देशनमा उल्लेख गरिएको छ ।

महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न नेकपाले आगामी कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने बताइएको छ । केन्द्रीय कमिटीको उक्त तेस्रो बैठकमा केन्द्रीय सचिवालयबाट महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने, बैठकमा उक्त प्रस्तावमा छलफल गरी आवश्यक निर्णय गर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

अपानिको पूर्ण पाठ
 

  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार ११:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया