बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री
फरकधार / ३० भदौ, २०७७

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् ।

उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा यस्तो धारणा राखेका हुन् । 

उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।

उनले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।

पाकिस्तानमा गत साता एक महिला उनकै बच्चाको अगाडि लाहोरको सडकमा सामूहिक बलात्कृत भएकी थिइन् ।

त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरू आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् ।

गत साता पञ्जाव प्रान्तको लाहोर सहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबरजस्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो ।

त्यसपछि उनका गरगहना पनि लुटिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न सहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शन भएका छन् ।

महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शन भएका हुन् । त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १५:३५:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया