को हुन् विद्युत प्राधिकरणका निमित्त कार्यकारी प्रमुख कोइराला ?

सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । 

विद्युत् प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको ऊर्जा मन्त्री वर्षमान पुन अनन्तका निजी सचिव कमान थापा मगरले जानकारी दिए । 

को हुन् कोइराला ?

विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा नियुक्त भएका लेखनाथ कोइराला प्राधिकरणका १२औँ तहमा कार्यरत कर्मचारी हुन् । हाल प्राधिकरणमा कार्यरत कर्मचारीमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुन् ।​

हितेन्द्रदेव शाक्य कोइरालाभन्दा वरिष्ठ कर्मचारी हुन । तर, अहिले शाक्यको दरबन्दी कम्पनीमा रहेकाले कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री पुनका निजी सचिव थापामगरले भने, ‘वरिष्ठ हितेन्द्रदेव शाक्य बाहिर रहेकाले दोस्रो वरिष्ठतम कोइरालालाई अर्को व्यवस्था नहुँदासम्मका लागि निमित्त दिइएको हो ।’

२०४५ सालमा प्राधिकरणमा सेवा शुभारम्भ गरेका कोइराला चार्टर्ड एकाउन्टेन्ट हुन् । उदयपुर निवासी कोइरालाले दिल्लीबाट पढाइ पूरा गरेका हुन् । निमित्त नियुक्त भएपछि फरकधारसँग कुरा गर्दै कोइरालाले निवर्तमान प्रमुखले अघि बढाएका कामलाई निरन्तरता दिने बताए । कोइरालाले भने, ‘यो अर्को व्यवस्था नहुँदासम्मका लागि गरिएको व्यवस्था हो । भोलि अर्को प्रमुख आउँछन् । अहिले खाली नराख्ने हिसाबले गरिएको व्यवस्था हो । र, पनि म निमित्त भइसकेपछि सुरु भएका काम पूरा गर्ने, त्यसलाई निरन्तरता दिने नै हो ।’



खुला प्रतिस्पर्धा गराउने सरकारको तयारी

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ चारवर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका छन् । घिसिङ बिदा भएसँगै खाली रहेको नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक छनोटका लागि खुला प्रतिस्पर्धा गराउने सरकारको तयारी छ । 



सरकारले कानुनअनुसार नयाँ कार्यकारी निर्देशक छनोट खुला प्रतिस्पर्धाबाटै गराउन लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्राधिकरणको कार्यविधिमा खुला प्रतिस्पर्धाबाट प्रमुख नियुक्त गर्ने व्यवस्था छ । तर, प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा नियुक्त गरेर सीधै प्रमुख नियुक्त पनि गर्न सक्छन् । प्रधानमन्त्री केपी शर्मा ओली खुला प्रतिस्पर्धाबाटै प्रमुख नियुक्त गर्ने पक्षमा रहेको स्रोतको भनाइ छ । 

  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार २१:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया