३२ साउन । आजभन्दा ठ्याक्कै एक महिना अगाडि । नेपाली सेनाले गरेको एउटा निर्णयले पछिल्लो समय नेपाली सेना भ्रष्टाचार र अन्य विषयमा कति कडा हुँदै गएको छ भन्ने देखाउँछ ।
त्यो दिन नेपाली सेनाका सहायक रथी प्रयोग जबरासहित तीन जना बर्खास्तगीमा परेका थिए । सेनाको समरी जनरल सैनिक अदालतले प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई सेनाबाट बर्खास्त गरेको थियो । नेपाली सेनाका अनुसार उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सेवाबाट बर्खास्त गर्ने फैसला सुनाइएको हो ।
उनीहरुमाथि पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हुँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोग लागेको थियो ।
योसँगै सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाइ दिने फैसला पनि गरेको थियो ।
पछिल्लो केही महिना यता सैनिक अदालत अझ कडा रुपमा प्रस्तुत हुँदै आएको छ । यसको अर्को उदाहरण हो, जेठमा नेपाली सेनाका महासेनानी भूपालमान अधिकारी आर्थिक अनियमितता गरेको आरोपमा दोषी ठहरिनु । नेपाली सेनाको समरी जनरल अदालतले कर्नेल अधिकारीले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको थियो ।
दोषी ठहर भएसँगै दुई महिना कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट उनलाई हटाउने निर्णय भयो । यसको साथै सैनिक अदालतले गरेको फैसलाअनुसार अधिकारीबाट एक करोड ८५ लाख ४० हजार एक सय ८ रुपैयाँ एघार पैसा असुल गरिने आदेश भयो ।
सहायक रथी प्रयोग जबरा र महासेनानी भूपालमान अधिकारी आर्थिक अनियमितताको आरोपमा कारबाहीमा पर्नु सेनामा पछिल्लो समय भ्रष्टाचार तथा बेथिति मौलाउँदै गएको छ भन्ने संकेत हो । योसँगै सेनाले आफ्नो कारवाहीलाई पनि अझ कडा बनाउँदै लगेको छ ।
सेनाकै तथ्यांकमा पनि यो कुरा पुष्टि हुन्छ । सेनाको तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा २ हजार ६ सय ४२ जना विभिन्न पदका सैनिक कारवाहीमा परिसकेका छन् ।
सेनाभित्र रहेको सैनिक अदालतले पछिल्लो दुई वर्षमा अकिृतमा सहायक सेनानीदेखि उपरथीसम्म कारबाही गरेको छ । नेपाली सेनाको तथ्याङ्क अनुसार पछिल्लो दुई वर्षमा अधिकृत तहमै १ सय ६१ जना कारबाहीमा परेका छन् ।
यसैगरी बितेको दुई वर्षमा पदिक, विल्लादार, तथा अन्य दर्जाको मात्र गरी २ हजार ४ सय ८१ जना कारवाहीमा परेका छन् । नेपाली सेनाको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५ मा अधिकृत तथा उच्च अधिकृत तहमा ९५ र ०७६ मा ६६ जनामाथि कारवाही भएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७५ मा पदिक, विल्लादार तथा अन्य दर्जामा गरी १०६७ र ०७६ मा १४१४ जनालाई कारबाही गरिएको सैनिक प्रवक्ता एवम् सहायक रथी सन्तोष बल्लभ पौडेलले फरकधारलाई जानकारी दिएका छन् ।
उनका अनुसार अधिकृत भन्दा माथिको दर्जामा भ्रष्टाचार, मनोपरी तथा पदको दुरुपयोग पाइएकोले बढी कारबाही यो समयमा भएको छ । प्रमुख सेनापतिले सैनिक अनुशासन भन्दा बाहिर गएर कसैलाई पनि छुट नदिएका कारणले कारबाहीको संख्या बढेको प्रवक्ता पौडेलले बताए । ‘अब पहिला जस्तो सेनामा अहिले छुट छैन, त्यसैले कारबाहीमा पर्नेमा तल्लो दर्जाका देखि लिएर उच्च तहका अधिकृतसम्मका छन्,’ उनले भने, ‘यस्तो कारवाही थप कडा हुँदै जाने देख्न सकिन्छ ।’
आर्थिक वर्ष ०७५÷७६ भन्दा ०७६÷७७ मा सेनामा अधिकृतदेखि अन्य बढी कारवाहीमा परेको तथ्यांक सेनासँग छ । यी दुई वर्षमा प्रत्येक दिनको अनुपात हेर्ने हो भने प्रत्येक दिन ४ जना कारवाहीमा पर्न थालेका छन् ।
सेनाको कारबाहीमा पर्नेहरूलाई बर्खास्तगी, कैद, बढुवा रोक्का, दर्जा घटुवा, तलब भत्ता वृद्धि रोक्का, राजश्व दाखिला, सेवा अवधि गणना नहुने, नसिहतलगायतका सजाय दिइएको छ । कसुर अनुसार यसमा नसिहत सबै भन्दा कम कारबाही मानिन्छ भने बर्खास्तीलाई सबै भन्दा ठूलो कारबाही मानिन्छ । कसुर हेरी सैनिक अदालतले कारबाही गर्ने गरेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका स्रोत अनुसार भर्ना छनोटमा अनियमितता गरेको आरोपमा ठूलो संख्यामा कारबाहीमा परेका थिए । अर्थात भर्ना छनोटमा अनियमितता गरेको पुष्टि भएपछि १ सय ८७ जना कारबाहीमा परेका थिए । जसमा अधिकृत र अधिकृत भन्दा माथिका २३ जना थिए ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल पनि अहिले दुई वर्षभन्दा बढी भएको छ । २०७५ भदौमा नेतृत्व पाएका थापाले कार्यभार सम्हाल्दा नै सेनाभित्र भएका सबै खाले अनियमितताको आफ्नो कार्यकालमा अन्त्य हुने प्रतिबद्धता जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।