बाढीपहिरोका कारण क्षतिग्रस्त देशभरका सडक र पुल पुनर्निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान
फरकधार / ३१ भदौ, २०७७
पहिराेका कारणा क्षतिग्रस्त अरनिकाे राजमार्ग

बाढीपहिरोका कारण क्षतिग्रस्त भएका देशभरका  सडक र पुल पुनर्निर्माण गर्न ३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान छ । मनसुन सुरु भएदेखि हालसम्म देशभर २२६ स्थानमा क्षतिग्रस्त भएका सडक र पुल बनाउन उक्त लगानी गर्नुपर्ने सडक विभागले जनाएको छ ।



सबैभन्दा बढी अरनिको राजमार्गका विभिन्न स्थानमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माण तथा मर्मत सम्भारका लागि मात्र डेढ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको सडक विभागको भनाइ छ ।

बाढीपहिरोका कारण वर्षेनि जनधनको क्षति हुनुका साथै ठूलो लगानीमा निर्माण भएका सडक र पुलमा समेत अर्बाैंको क्षति हुँदै आएको छ । यसले गर्दा राज्यलाई वार्षिक ३ अर्बभन्दा बढीको अतिरिक्त दायित्व सृजना हुने विभागको भनाइ छ ।

अरनिको राजमार्गमा अहिले कुनै खण्ड अवरुद्ध नभए पनि पहिरो, खोलाले क्षति पुगेका पुल र सडक भने आंशिक र एकतर्फी रूपमा मात्रै सञ्चालन भएका छन् । उक्त राजमार्गमा पहिरो जाँदा, जमीन भासिँदा र खोलाले पुल बगाउँदा विभिन्न १५ स्थानमा यातायात असहज भएको छ । २०७२ को भूकम्पपछि बाह्रबिसेदेखि तातोपानी नाकासम्म नै उच्च जोखिम रहँदै आएको पूर्वाधारविद्को भनाइ छ ।

विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग बजेट माग गरेको र त्यसपछि कार्यालयहरूमा अख्तियारी दिने बताएको छ । बाढीपहिरोका कारण वार्षिक अर्बौंको क्षति हुने भए पनि बजेट तथा योजना भने बनाएको पाइँदैन ।

मुलुकभर अहिले विभिन्न ११ स्थानका सडक अवरुद्ध रहेको विभागको तथ्यांक छ । तीमध्ये साँफेबगर–मार्तडी सडक बूढीगंगा नदीको बहावले ५०० मिटर सडक क्षतिग्रस्त बनेको छ भने यो सडक असार २५ गतेदेखि अवरुद्ध छ ।

सोही सडकको बल्दे खण्ड र अम्कोटद्वारी खण्डमा ठूलो पहिरो गएका कारण साउन ४ गतेदेखि अवरुद्ध छ । साँफेबगर–मार्तडी सडककै बार्जुगाड–बाम्का बजार क्षेत्र र ताप्रिसेरा, बलेना–जडंगाको बेलिब्रिज र बूढीगंगाको आरसीसी पुलमा बाढीको उच्च बहावका कारण क्षति पुगेको छ । हालसम्म अवरुद्ध भएकामध्ये १०० भन्दा बढी स्थानमा एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालनमा आएका छन् 
 

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १३:५६:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया