प्रधानमन्त्रीकै कारण देशमा संवैधानिक रिक्तता : नेपाली कांग्रेस
फरकधार / ३१ भदौ, २०७७

प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायको रिक्त पदमा नियुक्ति हुन नसकेको कांग्रेसको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामलाई प्राथमिकता नदिएर आफू अनुकूलका काममा मात्र क्रियाशील रहेकाले संवैधानिक रिक्तता आउने खतरा बढेको नेपाल न्युज एजेन्सीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।



लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पद पूर्तिमा ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने प्रवक्ता शर्माको भनाइ थियो । ‘कामको जस सरकारले लिन खोज्नु स्वाभाविक भए पनि काममा ढिलासुस्ती, गर्न नसकेका र नगरेका काममा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको देखिन्छ,’ प्रवक्ता शर्माले भने ।

प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिला भइरहेको भन्दै प्रचार भइरहेका बेला शर्माले लामो समयसम्म प्रदेशको समेत नामकरण गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षीका कारण पदपूर्ति गर्न नसकिएको भनेर प्रचार गर्न नहुने बताए । 

कुनै पनि नियुक्ति गर्दा ‘हामीलाई यो पद दिनुपर्छ’ भनेर बार्गेनिङ नगरेको प्रवक्ता शर्माले बताए । संवैधानिक परिषद्को व्यवस्थाअनुसार राज्यका महत्त्वपूर्ण अंगमा नेतृत्व चयन गर्दा सबैको साझा स्वामित्व हुनुपर्छ भन्ने धारणा कांग्रेसका भए पनि आफूहरुले पदका लागि कुनै बार्गेनिङ नगरेको उनले प्रस्ट पारे । व्यक्तिको योग्यता, क्षमता र मर्यादा कस्तो हुनुपर्छ भन्ने कुरामा कांग्रेसले प्रस्ट धारणा राख्ने भए पनि ‘यो पद दिनैपर्छ नभए निर्णय गर्न दिँदैनौँ’ भनेर आफूहरुले नभनेको शर्माले बताए ।

१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त छन् । अहिलेसम्म मधेसी, दलित र आदिवासी जनजाति आयोगले अध्यक्ष पाएका छैनन् । यी आयोगमा अध्यक्षसहित ४ जना अन्य पदाधिकारी रहने व्यवस्था रहेको छ ।

विभिन्न आयोगमा नियुक्त भएका पदाधिकारीले समेत राजीनामा दिएर गएको अवस्था छ । कतिपय आयोगहरूमा कार्यकाल सकिएर पद खाली छ । समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि कोही पनि नियुक्त भएका छैनन् । प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल अध्यक्ष नियुक्त भए पनि चार सदस्य रिक्त रहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त छैनन् । त्यहाँ प्रमुख आयुक्त पद पनि खाली छ । आइतबार नवीन घिमिरेको कार्यकाल सकिएपछि पद खाली रहेको हो । आयुक्त राजनारायण पाठक घुस काण्डमा मुछिएपछि राजीनामा दिएका थिए । निर्वाचन आयोगमा इला शर्मा र सुधीर शाहको कार्यकाल सकिएपछि कोही पनि नियुक्ति भएका छैनन् ।

प्रवक्ता शर्माले यति धेरै आयोग पदाधिकारी विहीन हुँदा पनि ध्यान पुर्याउन नसकेको सरकारले अहिलेको महामारीसँग पनि जुध्न नसकेको बताए ।

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १४:१६:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया