हाललाई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प छैन

सरकारले दोस्रोपटकको निषेधाज्ञा केही दिनअघि हटाएको छ । निषेधाज्ञा हटेसँगै आममानिस आफ्नो दैनिकीमा फर्कन थालेका छन् । व्यापार–व्यावसाय र कार्यालयतिर फर्किन थालेका छन् । योसँगै कोभिड–१९को संक्रमण रफ्तारमा बढ्ने सम्भावना देखिएको छ । 

विश्वका केही देशले भ्याक्सिन बनाउने प्रयास गरिरहेको भएता पनि अझसम्म कसैले पनि शतप्रतिशत प्रभावकारी भ्याक्सिन बनाउन सकेको छैन । यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर, हामी कोभिड–१९ विरुद्ध लड्न निरुपाय नै भइसकेका भने छैनौँ । भ्याक्सिन नै नबने पनि हामीसँग कोरोनाविरुद्ध लड्ने थुप्रै उपाय छन् । तीमध्ये सबैभन्दा उपयुक्त उपाय हो, जनस्वास्थ्यका मापदण्डको सही र प्रभावकारी रुपमा पालना गर्नु । 

घरैबाट काम गर्दा होस् या अफिस गएर, सेवाग्राहीलाई सेवा मात्रै दिने होस् वा व्यापार–व्यवसाय गर्ने होस्, एउटा मान्छे प्रत्यक्ष–परोक्ष रुपमा अन्य धेरै मान्छेसँग सम्पर्कमा आउँछ । अब यस्तो अवस्थामा हामी कसरी सुरक्षित रहन सक्छौँ भन्ने कुरातर्फ हाम्रो ध्यान जान आवश्यक छ । 

त्यसो त हामी कोही पनि जनस्वास्थ्यका मापदण्डबारे अनभिज्ञ छैनौँ । तर, ती उपाय व्यवहारमा लागू गर्ने कुरामा भने हामी चुकिरहेका हुन्छौँ । तर, जानेर मात्रै हुँदैन, व्यवहारमा पनि सही तवरले लागू गर्नुपर्छ । त्यो पनि अझ धेरै सावधानी र सजगतासाथ । 

घर, सडक, व्यावसाय र अफिसमा हुँदा कसरी हामी सुरक्षित रहन सक्छौँ त ? यसबारे थोरै चर्चा गरौँ । 

सकेसम्म किनमेलका लागि भिडभाडमा नजाने प्रयास गरौँ । जानैपर्यो भने पनि सही तरिकाले मास्क लगाएर र सामाजिक दूरी कायम गरेर मात्रै जाऔँ । कम्तीमा पनि दुई मिटरको दूरी कायम गर्नुपर्यो । हातलाई मुख, नाक, आँखालगायत शरीरका अरु अंगमा पुर्याउनुभएन ।



किनमेल गर्दा आवश्यकबाहेक अन्य सरसामान चलाएर हेर्नुभएन । किनेमल गरेर फर्केर आइसकेपछि हामीले सही तरिकाले मास्क फुकालेर व्यवस्थापन गर्ने र साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने उपाय अवलम्बन गर्नुपर्छ । यो त भयो किनमेल गर्न जाँदा र घर फर्किसकेपछि घर आएर गर्नुपर्ने काम । अब काम गर्न अफिसमै जानुपर्नेले के गर्ने त भन्ने कुरा बुझौँ । 

हामी काम गर्ने अफिस सानो छ भने त्यसको इन्टेरियर डिजाइन परिवर्तन गरेर त्यसलाई ठीक तरिकाले व्यवस्थापन गर्नुपर्छ । हरेक स्टाफबीच दुई मिटरको दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाउनुपर्छ ।



स्टाफबीच काम गर्ने कम्युटर, प्रिन्टरजस्ता मेसिन सेयरिङ हुन्छ भने ती उपकरणलाई एउटा स्टाफले प्रयोग गरिसकेपछि सफा गर्ने, स्यानिटाइज गर्ने गर्नुपर्छ । सहकर्मीसँग कुराकानी गर्दा सकेसम्म दूरी कायम गरेर र मास्क लगाएर गर्ने गर्नुपर्छ । अफिसमा खाजा खाँदा पनि सावधानी अपनाउनुपर्छ । सबैजना एकैपटक खाजा खाना नजाऔँ, दूरी कायम हुने गरी थोरै–थोरै जाने गरौँ । 

त्यसैगरी, ग्राहकलाई सेवा दिनुपर्ने खालको अफिस हो भने सेवाग्राही र प्रदायक​ दुवै पक्षले मास्क लगाएर र दूरी कायम गरेर काम गर्नुपर्छ । सेवा दिने अफिसले सेवाग्राहीलाई अनिवार्य रुपमा मास्क लगाएर र स्यानिटाइजर प्रयोग गरिसकेपछि मात्र भित्र छिराउनुपर्छ । सकिन्छ भने एकजना स्टाफ सेवाग्राहीले मास्क लगाए–नलगाको, स्यानिटाइजर प्रयोग गरे–नगरेको, दूरी कायम गरे–नगरेको, शरीरको तापक्रम ठीक भए–नभएको हेर्न–जाँच्नका लागि राखौँ । सेवा लिन जानेले पनि आफैँ विशेष सावधानी अपनाएर जानुपर्छ ।

मैले फेरि पनि भने अहिलेसम्म कोरोनाभाइरस विरुद्धको प्रभावकारी भ्याक्सिन बनिसकेको छैन । त्यसैले, हामीसँग जनस्वास्थ्यले तोकेका मापदण्ड एकदमै प्रभाकारी रुपमा अपनाउनुको विकल्प छैन । 

अब त हामी सबैले विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने देखिएको छ । नेपालमा समुदाय स्तरमा संक्रमण धेरै हदसम्म फैलिसकेको अवस्था छ । यो जोखिम थप बढ्दै छ र अझै बढ्ने सम्भावना देखिएको छ । सरकारले भाद्र ४ गते दोस्रो चरणको लकडाउन लगाउनुपूर्व सर्वसाधारणले निकै हेलचेक्र्याइँ गरे । त्यो बेला मानिसहरु सजग नभएकै कारण अहिले संक्रमणले यस्तो विकराल रुप लिएको हो । 

अहिले फेरि लकडाउन खुकुलो गरिएको छ । यसले संक्रमण फैलाउनेमा दुई मत छैन । साथै, अब नेपालीको ठूलो चाड दशैँ र तिहार आउँदै छन् । त्योबेला मान्छेहरु आफ्नो गाउँ जान्छन्, सार्वजनिक यातायात प्रयोग गरेर । त्यो पनि भिडभाड र लामो समय सँगै बसेर । यसो हुँदा संक्रमण फैलिन सक्ने सम्भावना धेरै हुन्छ । 

तसर्थ, हामी सबैले सकेसम्म सावधानी अपनाएर सुरक्षित रहनुपर्छ । हामीसँग जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प छैन । 

                           ( डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्) 

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १८:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया