लकडाउन रियलाइजेसन
बेनिशा भन्छिन्– जीवनमा टाइम म्यानेजमेन्ट र अनुशासन धेरै महत्वपूर्ण रहेछन्

गत शनिबार सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोले ठूलो ज्यानधनको क्षति गर्यो । पहिरोमा पुरिएका १५ जनाको शव फेला परेको छ भने १६ जनाको शव अझै बेपत्ता छ । पहिरोबाट उद्धार गरिएको र ज्यान जोगिएकाहरुको अवस्था पनि नाजुक छ । उनीहरुसँग खानका लागि अन्नसमेत छैन । उनीहरुले सर्वस्व गुमाएका छन् । उनीहरु सर्वहारा भएका छन् । 

तिनै पहिरोपीडितका लागि राहत वितरण गर्न जाँदै थिइन् अभिनेत्री बेनिशा हमाल, हामीले मंगलबार उनलाई सम्पर्क गर्दा । उनी ‘रोयल​ कोलाब्रेटिभ्स’ संस्थासँग मिलेर राहत वितरण कार्यक्रममा सहभागी भएकी थिइन् ।

सरकारले दोस्रोपटकको लकडाउन खुकुलो बनाएपछि केही दिनयता यस्तै सामाजिक कार्यमा व्यस्त छिन्, बेनिशा । 

000

बेनिशा हमाल नेपालमा कोरोना लकडाउन सुरु हुनुअघि मुम्बईमा थिइन् । लकडाउनको दुई दिनअघि अर्थात् चैत्र ९ गते मात्रै उनी मुम्बईबाट काठमाडौं आएकी हुन् । विगत ६ महिनादेखि मुम्बईमा बसेर ‘फिल्म मेकिङ’ पढ्दै थिइन्, बेनिशा । उनी नेपाल आउँदा मुम्बईमा कोरोनाको संक्रमण देखिन थालिसकेको थियो । आफू प्रभावित क्षेत्रबाट आएका हुनाले १४ दिनको सेल्फ आइसोलेसनमा बसिन्, बेनिशा । 



कुनै लक्षण नदेखिएपछि सँगै बस्दै आएकी फुपू, भाइ र बहिनीसँग समय बिताउन थालिन्, उनी । सुरु–सुरुका दिनमा उनलाई कोरोनाको डर लागेको थिएन । न त यो भाइरसको प्रकोप यति लामो समयसम्म फैलिएला र यसरी महिनौँ लकडाउनमै बिताउनुपर्ला भन्ने नै सोचेकी थिइन् । 

त्यसैले उनी नेपालमा १५ दिन मात्रै बस्ने र फर्किहाल्ने मानसिकता बनाएर मात्रै आएकी थिइन्, तयारी पनि त्यसैअनुरुप गरेकी थिइन् । तर, अवस्था सोचेजस्तो भएन । बरु झन्–झन् विषम बन्दै गयो । 



नेपालमा पनि एक–दुई गर्दै संक्रमित भेटिँदै गए । भारतको हालत त एकदमै भयाभह नै भइसकेको थियो । संक्रमितको संख्यासँगै उनको मन पनि त्रसित हुँदै जना थाल्यो, डरले सीमा पार गर्न थाल्यो ।
 
डर त तब झन् बढ्यो, जब वैशाख १ गते उनी बस्ने अपार्टमेन्टमै कोरोना देखिएको खबर बाहिर आयो । समाचारमा भनिएको थियो– भक्तपुरको पेप्सिकोलामा अवस्थित सनसिटी अपार्टमेन्टमा एक महिनाअघि बेलायतबाट फर्किएका तीनजनालाई र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल पठाइएको छ ।

यो खबरसँगै उनी ‘प्यानिक’ भइन्, उनी मात्र होइन, सो अपार्टमेन्टमा बस्ने सबैको हालत उनकै जस्तो थियो ।  

‘त्यो ब्लक आफूहरु बसिरहेको ब्लकभन्दा कति टाढा छ होला, अब के हुने होला भनेर चिन्तित हुन थाल्यौँ हामी,’ उनले त्योबेला आफूहरुले भोगेको मानसिक तनावबारे सम्झिन्, ‘पछि त्यो ब्लक हामीभन्दा ६ ब्लक पर भएको थाहा भएपछि चाहिँ अलिक सहज भयो ।’

सरकारले अपार्टमेन्टमा बस्ने अन्यको पनि स्वाब संकलन गरेर परीक्षण गर्यो । परीक्षणमा अन्य कसैमा पनि संक्रमण भेटिएन । त्यसपछि बल्ल चैनको सास लिन पाएको उनी बताउँछिन् । त्यसो त अवस्था अझै सामान्य भइसकेको थिएन । संक्रमणको सन्त्रास कायमै थियो । त्यसैले, एक किसिमको डर र बेचैनी मडारिई नै रहेको थियो उनको मनमा, जसले उनलाई आलश्य बनाउँदै थिए । उनी केही पनि गर्ने भेउ नै पाइरहेकी थिइनन् । केही गर्नै सकिरहेकी थिइनन् । धेरै दिन यस्तै बिते । 

एक दिन भने उनलाई लाग्यो– सधैँ यस्तो खराब मानसिकतामा बसेर हुँदैन, अब केही ‘प्रोडक्टिभ वर्क’ गर्नुपर्छ । त्यसपछि उनले पुस्तक पढ्ने, खानाका विभिन्न परिकार बनाउने, पेन्टिङ, शारीरिक व्यायाम आदि गर्न थालिन् । जसले उनलाई दिन काट्न मात्रै होइन, आफैँलाई  बुझ्न र चिन्नसमेत मद्दत गर्यो । 

लकडाउनलाई कसरी सदुपयोग गरिन् त उनले ? लकडाउनका वेला पकाउन सिकेका परिकार र पढेका पुस्तकबारे बताइदिन हामीले अनुरोध गर्यौँ । 

‘मैले युट्युबबाट विभिन्न खानाका प्रकार बनाउन सिकेँ,’ उनले सुरुमा आफूले बनाउन सिकेका परिकारबारे सुनाइन्, ‘इटालियन आइटम्स, चिकेनका विभिन्न आइटम, पास्ता, पिज्जा बानाउन सिकेँ ।’

यस बीचमा केही नेपाली र अंग्रेजी किताब पढिन्, उनले । नेपाली पुस्तक पढ्न थालेपछि एउटो गहिरो रुपमा महसुस भएको छ, उनलाई । त्यो हो, नेपाली पुस्तक पढ्ने बानी बसाल्नुपर्छ । 

‘नेपाली पुस्तकहरु साह्रै रमाइला हुने रहेछन्,’ उनी उत्साहित हुँदै भन्छिन्, ‘मैले नयनराज पाण्डेका पुस्तक ‘लु’ र ‘सल्लिपिर’ पढेँ, कस्तो राम्रो लाग्यो ।’

अब उनले नेपाली पुस्तकलाई प्राथमिकतामा राखेर पढ्ने योजना मात्रै बनाएकी छैनन्, सुरु पनि गरिसकेकी छन् । अहिले उनको हातमा भएको महेशविक्रम शाहको ‘ज्याक्सन हाइट’ यसैको प्रमाण हो । 

यति मात्रै होइन, उनले पछिल्ला दिनमा आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा आफ्ना शुभचिन्तकसँग मन परेको पुस्तक सुझाउन पनि भन्छिन् । शुभचिन्तकले उनलाई केही पुस्तक सुझाएका पनि छन्, जुन उनले आफ्नो पढ्ने लिस्टमा राखेकी छन् । ज्याक्सन हाइट सकिसकेपछि बुद्धिसागरको ‘कर्णाली ब्लुज’ र सुशीला कार्कीको ‘न्याय’ पढ्ने योजना छ, उनको । 

यो लकडाउनमा उनले अरु थुप्रै कुरा गहिरो रुपमा आभाष गरेकी छन् । तीमध्ये पनि उनलाई महत्वपूर्ण लाग्ने दुई कुरा हुन्, टाइम म्यानेजमेन्ट र अनुशासन । 

‘लकडाउनअघि हामी सबैलाई लाग्थ्यो, हामीसँग समय नै छैन । तर, लकडाउनमा त हामीसँग वालछ्याल समय थियो नि त !’ बेनिशा आफ्नो अनुभव साट्छिन्, ‘तर, समय भएर मात्र पनि हुँदैन रहेछ । समयलाई ठीक तरिकाले सदुयोग गर्न पनि जान्नुपर्ने रहेछ, जसका लागि धेरै अनुसाशित हुन आवश्यक रहेछ ।’

समयको महत्व अझ प्रगाढ रुपमा बुझेपछि बेनिशाले आफ्नो समय सकेसम्म राम्रो काममा खर्चिने प्रयास गरिन् । 

लकडाउनमै उनले एउटा नयाँ काम पनि सुरु गरेकी छन्, त्यो हो, पेन्टिङ ।  

‘मलाई पेन्टिङमा पहिल्यैबाट रुचि थियो, तर यस्तो समय पाएको थिइनँ,’ उनी भन्छिन्, ‘योपालि पेन्टिङ पनि गरेँ ।’

उनी लकडाउनले आफूलाई आफैँले राम्रोसँग चिन्न र बुझ्न अझै मद्दत गरेको बताउँछिन् । भन्छिन्, ‘आफू र आफ्ना इच्छा, आकांक्षा, कमजोरी, सबलता इत्यादिलाई चिन्न पाएँ ।’

पेन्टिङमा आफ्नो गहिरो रुचि भएको कुरा उनले यही समयमा थाहा पाएकी हुन् । 

बेनिशा अहिले आफ्नो समय लेखपढ, सिनेमा, पेन्टिङसँगै समाजसेवामा पनि खर्चिरहेकी छन् । 

तस्बिरहरु: बेनिशाको फेसबुकबाट

 

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १९:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया