आज चार बजे गौतमको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको सपथ गराउने भएकी छन् । 

राष्ट्रपति भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन् । यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गरिएको थियो । उक्त सिफारिस बुधबार राष्ट्रपतिको कार्यालयमा दर्ता भएको थियो । 

राष्ट्रपति कार्यालयले मनोनयनको सूचना संसद सचिवालयलाई पठाएपछि आजै ४ बजे गौतमलाई सपथ खुवाउने तयारी गरिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले फरकधारलाई जानकारी दिए । 

नेकपाको भदौ १८ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । गत फागुनमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेको भए पनि पार्टीभित्र गौतमलाई पठाउने पूर्व निर्णय चर्को भएपछि ओलीले गौतमलाई सिफारिस गरेका थिए । 

नेकपाको गत फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरिसकेको थियो । २०७४ सालको निर्वाचनमा बर्दियाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा पराजित भएका नेता गौतम राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट संसद भवन प्रवेश गर्न लागेका हुन् । उनले राष्ट्रियसभा हुँदै सिंहदरबार प्रवेशको चाहना राखेको उनी निकट स्रोत बताउँछ ।





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १५:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया