कर्मचारी व्यवस्थापनमा निकै कमजोर सावित भइसकेको बैंक अफ काठमाण्डूका सिइओ शोभनदेव पन्त अनाधिकृत रुपमा बैंकका नियम र नियमावली परिवर्तन गर्न उद्दत् भएको प्रमाणित भएको छ । पछिल्लो पटक केही कर्मचारीहरुलाई सरुवा गरेर व्यवस्थापन गर्ने नाममा पन्तले बैंकको विनियमावली नै एक वर्षअघिको मिति राखेर परिवर्तन गर्दै आएको खुलासा भएको छ ।
रातारात उनले यस्तो गर्नुको कारण हो– आफूलाई मन नपरेका कर्मचारीलाई थप दुःख दिनु ।
‘बैंकको नियममा अहिले पन्तले निकै खेल्न थालेका छन्,’ बैंक अफ काठमाण्डूमा उच्च तहमा कार्यरत एक कर्मचारीले भने, ‘उनले जे भन्यो, त्यही हुन थालेको छ । कतिसम्म भने उनले बैंक सञ्चालक समितिलाई पनि आफ्नो चालमा फसाएका छन् र आफूले गरेका निर्णय उनीहरुबाट पारित गर्न बाध्य बनाउन थालेका छन् ।’
यसको एउटा उदाहरण हो, पछिल्लो समय बैंक अफ काठमाण्डूका एसिस्टेन्ट जनरल म्यानेजर पुष्पराज भण्डारीको सरुवा । बैंकको कर्मचारी सेवा सुविधासम्बन्धी विनियमावली २०७३ मा स्पष्ट उल्लेख गरिएको छ– म्यानेजरभन्दा माथिका तहका कर्मचारीलाई काठमाडौं बाहिर सरुवा गर्न पाइँदैन ।
तर, गत चैतको पहिलो साता शोभनदेव पन्तले भण्डारीलाई आफ्नो कार्यकक्षमा बोलाए र सुर्खेत सरुवाको कागज थमाए ।
यसअघि पनि बारम्बार भण्डारीसँग पन्त रुष्ट बनेका थिए । ‘भण्डारी क्रेडिट शाखामा हुनुहुन्थ्यो तर उहाँले आफ्नो पदमा बसेर कुरा गर्न पर्ने काम नै गर्न पाउनु भएन,’ बैंक अफ काठमाण्डूमा कार्यरत ती कर्मचारीले फरकधारलाई बताए, ‘तलबाट आएको फाइल सोझै माथिबाट प्रेसर आएर अगाडि बढ्ने गरेको थियो । पछिल्लो समय त उहाँलाई सरुवा नै गरियो, यसबारे उहाँ अदालत र राष्ट्र बैंक जानु भएको छ ।’
हामीले यसबारे बुझ्न भण्डारीलाई सम्पर्क गर्यौँ । भण्डारीले भने, ‘हो, मेरो सरुवा यसअघि बैंकमा भएको विधि र विधान, नियमावली अनुरुप भएको थिएन ।’ यही कारण आफू श्रम अदालत गएको पनि भण्डारीले बताए । उनी आफ्नो सरुवा नियतवश गरिएको र न्याय पाउनु पर्छ भनेर राष्ट्र बैंकमा पनि पुगेका छन् ।
भण्डारीले श्रम अदालतमा उजुरी दिएपछि श्रम अदालतले बैंकसँग जवाफ माग्यो । जवाफ दिने समयमा बैंकका सिइओ पन्तले आफैंले एक वर्षअघिको मिति राखेर चलाखीपूर्ण तरिकाले विनियामवली परिवर्तन गरे ।
बैंक स्रोतका अनुसार यसरी विनियामवली परिवर्तन गर्न बैंकको सन्चालक समितिको बैठकसमेत बस्नु पर्ने हुन्छ । तर, पन्तले त अन्य सन्चालक समिति बैठकमा समेत बैंक सन्चालक समितिका सदस्यहरुलाई बोलाउने गरेका छैनन् । यसरी यस्ता बैठकबाट वन्चित बैंक सन्चालक समितिका एक सदस्य हुन्, प्राडा हेमराज सुवेदी । सुवेदीले यसको विरोध गर्दै बैंक अफ काठमाण्डूविरुद्ध उच्च अदालतमा उजुरीसमेत दिएका छन् । (यसबारे थप फलोअप फरकधारको बैंकिङ वाच ४ मा प्रकाशित हुनेछ ।)
उता, भण्डारीलाई कर्णाली प्रदेश सुर्खेतमा सरुवा गर्दा त्यहाँ उनका लागि दरबन्दी नभएको अवस्था थियो । तर, पन्तले दरबन्दी पछि सिर्जना गर्दै गरौँला, अहिलेलाई सरुवा पत्र लिनु भन्दै भण्डारीलाई दिएका थिए ।
श्रम विभागमा कारखाना निरीक्षक सुदिन भुजु श्रेष्ठसँग हामीले यस विषयमा बुझेका छौँ । उनले बैंक अफ काठमाण्डूका पुष्पराज भण्डारीले आफूलाई गैरकानुनी रुपमा सरुवा गरिएको भन्दै श्रम अदालतमा उजुरी दिएको स्वीकार गरे । ‘उहाँले उजुरी दिनुभएको हो, उहाँले जे विषयमा आफ्नो असन्तुष्टि छ, हामीले त्यस विषयमा बैंकसँग बुझेका छौँ ।’
श्रेष्ठले अदालतले बैंकसँग विनियमावली माग गर्दा ढिलाई गरिएको पनि स्वीकार गरे ।
‘अदालतले डकुमेन्ट माग्दा समयमा नदिनु पन्तकै चलाखी हो,’ बैंकका एक कर्मचारीले भने, ‘सरुवा पछि भण्डारी अदालत र राष्ट्र बैंक जान थालेपछि पन्तले गैरकानुनी रुपमा अवैधानिक तरिकाले बैंकको विनियमावली परिवर्तन गरे ।’
पन्तले विनियमावली नै परिवर्तन गरिदिएपछि न्यायको गुहार गर्दै राष्ट्र बैंक पनि पुगेका छन् ।
‘१२ साउनमा मैले राष्ट्र बैंकमा उजुरी दिएँ,’ भण्डारीले भने ।
यता राष्ट्र बैंकले पनि विओकेको व्यवस्थापनले कर्मचारीमाथि रिसराग राखेको ठहर गरेको छ । दरबन्दी नभएको ठाउँमा दरबन्दी सृजना गरेर उच्चस्तरका कर्मचारीलाई मर्यादाको ख्याल नगरी यस्तो बन्दाबन्दीको अवधिमा जबरजस्ती सरुवा गरिनु भनेको नियतवस गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले फरकधारलाई बताए ।
सरुवा गरेको ठाउँमा नगएको भनेर बर्खास्त पत्र दिएको भन्नेबारे पत्र विओकेले केन्द्रीय बैंकलाई समेत पठाएको थियो । यसपछि पीडित कर्मचारीहरुले आआफ्ना कारण खुलाएर राष्ट्र बैंकमा उजुरी हालेका थिए ।
‘यस्तो अवस्थामा मिलेर जान भनिएको हो । सकेसम्म केन्द्रीय बैंकले बैंकहरुको आन्तरिक काममा हस्तक्षेप किन गर्नु भनेर मिलेर जानुस् भनेका हौँ, तर यस्ता मुद्दा बढ्दै जाँदा सोच्नु पर्ने हुन्छ,’ शिवाकोटीले भने, ‘हामीले बैंक अफ काठमाण्डूमा निरीक्षण गर्न टोली पठाएका पनि थियौँ ।’
श्रम विभागबाट पत्र आएपछि राष्ट्र बैंकले सुपरिवेक्षणका लागि टोली बैंक अफ काठमाण्डूमा पठाएको थियो । शिवाकोटीले यो सुपरिवेक्षणमा पनि बैंकले नियतवश कर्मचारीहरुमाथि विभेद गरेको पाइएको बताएको छ । यही अनुसार श्रममा जवाफ पठाउने तयारी राष्ट्र बैंकले गरेको छ ।
पछिल्लो समय बैंकमा कार्यरत सिनियर कर्मचारीमाथि विभेद हुन थालेपछि बैंक अफ काठमाण्डूका कर्मचारी रुष्ट भएका छन् ।
फरकधारले यसअघि बैंक अफ काठमाण्डूमा भएको विभेदबारे लेखेको थियो–
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।