आइपिएल २०२० : बल चम्काउन थुक लगाए विपक्षीलाई ५ रन

विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) तेह्रौं सँस्करण सेप्टेम्बर १९ देखि  नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स (युएई) का तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुँदैछ।

आइपिएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स तथा चेन्नाई सुपर किंग्सले एक अर्काको सामना गर्नेछ। खेल अबुधाबीमा नेपाली समयअनुसार बेलुका ७ः४५ मा हुनेछ। 

कोरोना माहामारीका कारण भारतमा सम्भव नभएपछि यो पटकको आइपिएल विदेशी भूमिमा हुन लागेको हो। पूरै सिजन विदेशी भूमिमा आइपिएल आयोजना गरिन लागेको यो दोस्रोपटक हो। यसअघि सन् २००९ को पूरै सिजन दक्षिण अफ्रिकामा भएको थियो।

युएईका लागि पनि आइपिएल आयोजना गर्नु कुनै नौलो कुरा होइन। यसअघि पनि सन् २०१५ मा आइपिएलका समूह चरणका केही खेलहरू यहाँ भएका थिए। 

यसपटकको आइपिएलमा पनि अन्य संस्करणहरूको जस्तै विश्वका चर्चित खेलाडीहरूको उपस्थिति रहनेछ तर आइपिएलको रौनक अघिल्ला संस्करणहरूको जस्तो छैन। यो संस्करण अन्य संस्करणहरूभन्दा कोही भिन्न हुनेछ। 



सबै खेल दर्शकबिना खेलाइने

आइपिएलको क्रेज यतिसम्म छ कि यसका समर्थकहरू खेल हेर्नका लागि विश्वको जुन सुकै स्थानमा पनि पुग्न तयार हुन्छन्। त्यसैले सन् २००९ मा दक्षिण अफ्रिकामा आइपिएल आयोजना हुँदा पनि दर्शकहरुको उपस्थितिमा कुनै कमी आएको थिएन।



यसपटकको आइपिएलमा भने कुनै दर्शकको उपस्थिति हुनेछैन। आइपिएलको इतिहासमा बिना दर्शक खेलाइन लागिएको यो पहिलोपटक हो। विश्वभर फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो। 

दर्शकहरूले भरिएको मैदान, उनीहरूको हल्ला, समर्थकबीचको प्रतिस्पर्धा, चौका छक्का प्रहार गर्दा रमाउने चेयर्स लिडर्स जस्ता कुराहरूले आइपिएललाई विश्व माझ चिनाएको छ तर यसपटक आइपिएलको मैदानमा यो सबै देखिनेछैन। तर, आयोजकले स्क्रिनमा खेलाडीहरुको आवाज तथा चयर्स लिडरर्सहरुको भिडियो देखाउने तयारी गरिरहेको छ। 

कडा स्वास्थ्य नियम

यसपटकको आइपिएलका टिमहरूले कडा स्वास्थ्य नियम पालना गर्नुपर्नेछ। आइपिएलमा प्रत्यक्ष संलग्न हुने सबैको कोरोना परीक्षण गरिएको छ। 

ढिला गरी युएई पुग्ने खेलाडीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। यो समयमा उनीहरूको विभिन्न चरणमा परीक्षण गरिनेछ र सबैको रिपोर्ट नेगेटिभ आएमा मात्र आइपिएल खेल्न अनुमति दिइनेछ। 

प्रत्येक टिमलाई अलग–अलग होटलको व्यवस्था गरिएको छ। खेलाडी तथा स्टाफहरूले बाहिरी मानिसलाई भेट्न पाउने छैनन्। यदि कसैले नियमको पालना नगरेको पाइएमा उनीहरूलाई सजाय पनि दिइनेछ।

खेलाडीहरूलाई बढी मिहिनेत गर्नुपर्ने 

खेलाडीहरूलाई यस पटकको आइपिएलमा मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि मिहिनेत गर्नुपर्ने हुन्छ। अघिल्ला संस्करणहरूमा चौका छक्का प्रहार गर्दा दर्शक वा सहयोगीले बललाई मैदानमा पठाउँथे तर यो संस्करण आइपिएलमा खेलाडीले नै चौका छक्का प्रहार गरेको बल मैदानमा ल्याउनु पर्नेछ। 

बल चम्काउन थुक तथा लारको प्रयोग गर्न नपाइने

हालसम्म बलरहरूले बललाई चम्काउन लार तथा थुकको प्रयोग गर्दै आएका थिए तर आइसिसीले कोरोना भाइरसका कारण यसमा प्रतिबन्ध लगाएको छ। 

आइसिसीको यो नियमलाई आइपिएलमा पनि लागु गरिनेछ। यदि कुनै खेलाडीले यस्तो गरेको भेटिएमा विपक्षीलाई ५ रन दिइनेछ। 

पहिलो पटक बलरको फ्रन्ट फुट नो बल थर्ड अम्पायरले दिनेछन् 

यसअघि सबै नो बल फिल्ड अम्पायरले दिने गर्दथे तर यसपटकको आइपिएलमा बलरको फ्रन्ट फुट नो बल भने थर्ड अम्पायरले दिनेछन्। 

खेलाडी परिवर्तन गर्न पाउने 

आइपिएलमा पहिलो पटक कुनै खेलाडीलाई गम्भीर चोट लागेको खण्डमा उसको स्थानमा अर्को खेलाडी परिवर्तन गर्न पाउने नियम लागु गरिएको छ। यो नियम सबैभन्दा पहिले सन् २०१९ को एसेज सिरिजमा लागु गरिएको थियो तर खेलाडी परिवर्तन गर्दा ब्याट्सम्यानको स्थानमा ब्याट्म्यान तथा बलरको स्थानमा बलर नै परिवर्तन गर्नुपर्ने हुन्छ। 

यदि आइपिएलकै दौरानमा कुनै खेलाडीलाई कोरोना पोजेटिभ देखिएमा उसको स्थानमा पनि अर्को खेलाडी ल्याउन पाइनेछ यसमा पनि ब्याट्सम्यानको स्थानमा ब्याट्म्यान तथा बलरको स्थानमा बलर नै ल्याउनुपर्ने हुन्छ। 

टसका बेलामा कप्तानहरूले एक अर्कासँग हात मिलाउन नपाउने 

यसअघिका आइपिएलमा टस अगाडि तथा पछाडि कप्तानहरूले एक अर्कासँग हात मिलाउने गर्दथे तर यसपटकको आइपिएलमा कप्तानहरूले एक अर्कासँग हात मिलाउन पाउने छैनन्। 

होम तथा अवे खेल हुनेछैन 

यसअघिका आइपिएलमा होम तथा अवे खेलहरू हुने गर्थे तर यो सिजनको आइपिएल युएईका तीनवटा मैदानमा हुने भएकाले होम अवे खेल हुने छैन।

  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १८:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया